Logo

Oct 28 2026

Fact Check: चीनमा प्रधानमन्त्रीविरुद्ध नेपालीले नारा-जुलुस गरेका होइनन्, के हो वास्तविकता ?

Fact Check: चीनमा प्रधानमन्त्रीविरुद्ध नेपालीले नारा-जुलुस गरेका होइनन्, के हो वास्तविकता ?

  • चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चीनमै रहेका नेपालीले नारा-जुलुस गरेको भन्दै एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । तर, उक्त भिडियोलाई रुजू गर्दा प्रधानमन्त्रीविरुद्ध चीनमा नारा-जुलुस भएको जानकारी गलत देखियो ।   

    दाबी समीक्षा

    It's News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा तस्बिर जोडिएको छ । साथै केही मानिसहरुबीच असहज परिस्थिति सृजना भएको दृश्य पनि भिडियोमा देख्न सकिन्छ । 

    यही भिडियोको क्याप्सन र अडियोमा ‘चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चीनमै रहेका रहेका नेपालीले नारा-जुलुस गरेको’ दाबी गरिएको छ ।

     

    Screen Shot 2024-12-08 at 8.25.47 AM.png
    टिकटकमा पोस्ट गरिएको दाबीसहितको भिडियोको स्क्रिनसट । 

     

    २०२४ डिसेम्बर ५ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यो भिडियो सामाजिक संजाल प्रयोगकर्ताहरु माझ अझै द्रुत गतिमा फैलिरहेको छ । 

    के चीनमा प्रधानमन्त्रीविरुद्ध नेपालीहरुबाट नारा-जुलुस भएको साँचो हो त ?  भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गर्‍यौँ ।

    तथ्यजाँच: हङकङ पुरानो भिडियोसँग जोडियो गलत दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मंसिर १७-२० सम्म चीनको औपचारिक भ्रमण गरे । प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन पुगेका प्रधानमन्त्री ओलीको चारदिने भ्रमण बेइजिङ केद्रीत थियो । यही सन्दर्भमा प्रधानमन्त्री ओलीविरुद्ध चीनमै रहेका नेपालीले नारा-जुलुस गरेको भन्दै एउटा भिडियो फैलाइएको छ । 

    भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोबाट केही स्क्रिनसट तस्बिरहरु निकाल्यौँ । ती तस्बिरहरुलाई गुगल लेन्समा जाँच गर्दा The Telegraph एक्स ह्यान्डल मा पोस्ट गरिएको पुरानो भिडियो भेटियो । 

    २०२० सेप्टेम्बर ७ मा पोस्ट गरिएको उक्त भिडियो र प्रधानमन्त्रीविरुद्ध चीनमा नारा-जुलुस भएको दाबीसहित पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । 

     

     

    PM Nara.png
    The Telegraph एक्स ह्यान्डल मा पोस्ट गरिएको पुरानो भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्य ।

     

    हङकङ प्रहरीले १२ वर्षीया बालिकालाई निर्मम तवरले जमिनमा लडाएर र पक्राउ गरेको जानकारी टेलिग्राफ संचार माध्यम telegraph.co.uk प्रकाशित समाचारमा उल्लेख छ ।

    उक्त समाचार अनुसार हङकङस्थित संसदीय निर्वाचनको विरोधमा भएको प्रदर्शनमा सहभागि भएकी ती बालिकालाई ‘कोरोना भाइरस कालको सामाजिक दूरी नियमहरू’ उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

    भिडियोको थप जाँचका क्रममा हामीले ‘Hong Kong Police Tackled 12-year Old Girl Arrested’ वाक्यांशलाई सर्च गर्‍यौँ । जाँचको नतिजास्वरु South China Morning Post को युट्युब च्यानल SCMP Clips उक्त भिडियो फेला पर्‍यो ।

    २०२० सेप्टेम्बर ८ मा पोस्ट गरिएको भिडियोमा पनि सरकार विरोधी र्‍यालीमा १२ वर्षीया बालिकालाई हङकङ प्रहरीले पक्राउ परेको जानकारी दिइएको छ ।

     

    Screen Shot 2024-12-08 at 8.31.10 AM.png
    outh China Morning Post को युट्युब च्यानल SCMP Clips मा पोस्ट गरिएको भिडियोको स्क्रिनसट

     

    हङकङ घटनाको सोही भिडियोमा द गार्डियन Guardian News लगायतका थुप्रै संचार माध्यममा पोस्ट गरिएको छ । तर, यो भिडियो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँग सम्बन्धित छैन ।

    फेला परेको भिडियो प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभन्दा चार वर्षअघि नै इन्टरनेटमा पोस्ट गरिएको देखिन्छ । 

    अर्कोतर्फ सामाजिक संजालमा फैलाइएको दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य-प्रमाण फेला परेनन् । पुरानो र अर्कै सन्दर्भको दृश्यलाई प्रधानमन्त्रीको चीन भ्रमणसँग जोडेर गलत जानकारी पोस्ट गरिएको देखियो ।

    निष्कर्ष

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चीनमै रहेका नेपालीले नारा-जुलुस गरेको दाबी गलत छ । २०२० सेप्टेम्बरमा हङकङ प्रहरीले सरकार विरोधी र्‍यालीमा सहभागि भएको आरोपमा १२ वर्षीया बालिकालाई पक्राउ परेको थियो । सोही पुरानो र फरक भिडियोलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग जोडेर सामाजिक संजालमा फैलाइएको छ । 

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend