Logo

Oct 28 2026

Explainer: एमाले र दुर्गा प्रसाईंबीच ‘सोसल-मिडिया वार’

Explainer: एमाले र दुर्गा प्रसाईंबीच ‘सोसल-मिडिया वार’

  • केपी शर्मा ओलीसँग सम्बन्धित दुर्गा प्रसाईंको अभिव्यक्तिले सामाजिक संजाल तातिएको छ । जसमा एकातिर छन्, एमालेका नेता-कार्यकर्ता । अर्कोतिर दुर्गा प्रसाईं, उनका कार्यकर्ता र अन्य सामाजिक संजाल प्रयोगकर्ता छन् । 


    काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उत्तेजक अभिव्यक्ति दिनेक्रम जारी छ । यही क्रममा प्रसाईंले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबारे विवादित अभिव्यक्ति सार्वजनिक गरेका छन् । ओलीसँग सम्बन्धित प्रसाईंको उक्त दाबीले सामाजिक संजालमा चर्चा-परिचर्चा बटुलिरहेको छ । 

    एमाले महासचिव शंकर पोखरेलले फेसबुकमा स्ट्याटस लेख्दै केपी शर्मा ओलीविरुद्ध भ्राम फैलाउने काम भएको र यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर हुन आह्वान गरेका छन् ।  महासचिव पोखरेलले लेखेका छन्- ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे ।

    अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर बनौं ।’

    एमालेका महासचिव मात्र होइन, एमालेका नेता-कार्यकर्ताले सामाजिक संजालमा दुर्गा प्रसाईंको अभिव्यक्ति र सामाजिक संजालमा फैलाइएका अन्य रिपोर्टहरुको प्रतिवाद गरिरहेका छन् । अर्कोतर्फ दुर्गा प्रसाईंको अभिव्यक्तिलाई समर्थन गर्ने मानिसहरु पनि सामाजिक संजालमा देखा परेका छन्, उनीहरुले पूराना मिडिया रिपोर्टहरुलाई सामाजिक संजालमा फैलाइरहेका छन् । 

    'सोसल-मिडिया वार'को कारक

    केही दिनअघि दुर्गा प्रसाईं झापा पुगेका थिए । झापामा ‘निर्माणाधीन’ रहेको होटल देखाउन उनले क्यामेरा बोकेका थुप्रै मानिसहरुलाई आमन्त्रित गरेका थिए ।  क्यामेरा बोकेका मानिसहरुका अगाडि उभिएर प्रसाईंले भने- ‘केपी ओलीको कम्बोडियामा टेलिकममा लगानी छ, कम्तिमा पनि २७ सयदेखि ३ हजार करोड रुपैयाँ लगानी छ…यही कुरा बाहिर ल्यायो, अब ल्याइदिन्छ भनेर त यिनिहरुले मसी छर्केको…त्यही हैन !’ 

    https://www.youtube.com/watch?v=J1hu-d5REh4  

    दुर्गा प्रसाईंको अभिव्यक्तिसहित सामाजिक संजालमा फैलिएको भिडियो क्लिपमा दुईवटा सन्दर्भ जोडिएका छन् ।

    पहिलो- ‘केपी ओलीको कम्बोडियामा टेलिकममा कम्तिमा पनि २७ सयदेखि ३ हजार करोड रुपैयाँ लगानी छ ।

    दोस्रो- ‘यही कुरा बाहिर ल्यायो, अब ल्याइदिन्छ भनेर त यिनिहरुले मसी छर्केको ।’ 

    एमाले-दुर्गा प्रसाईं सम्बन्ध

    प्रस्तुत दुईवटै विषयको सन्दर्भबारे हामी यहाँ चर्चा गर्न गइरहेका छौँ । सबैभन्दा पहिले सुरु गरौँ, दुर्गा प्रसाईं र नेकपा एमालेको सम्बन्धबारे । फागुन, २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित बाम गठनबन्धनको गृहकार्य जारी थियो । यही बेला तत्कालीन माओवादी निकट मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भक्तपुरस्थित आफ्नै घरको टेबलमा राखेर ‘मार्सी चामलको भात’ खुवाएको तस्बिर सार्वजनिक भयो ।   

    प्रस्तुत तस्बिर सार्वजनिक भएपछि दुर्गा प्रसाईं नेपाली मिडियाको केन्द्रमा रहे । मिडिया र राजनीतिक वृत्तमा उनी ‘मार्सी’ उपनामले चिनिन थाले । एमाले र माओवादी पार्टी बाम गठबन्धनले २०७४ को निर्वाचनमा बहुमत प्राप्त गर्‍यो र केपी शर्मा ओली प्रधानमन्त्री भए । एमाले र माओवादी पार्टीबीच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी गठन भयो । तर, पार्टी एकता धेरै लामो समय टिकेन । 

    नेकपा एमाले र माओवादी केन्द्र पूरानै अवस्थामा फर्किएपछि दुर्गा प्रसाईंले माओवादी रोजेनन्, उनी एमालेतिर लागे । चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा कुनै पद नपाएका प्रसाईंलाई एमालको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनित गरेको थियो ।  केही समयअघिसम्म नेकपा (एमाले)का केन्द्रीय सदस्य थिए, दुर्गा प्रसाईं । उनी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुरबुवा’ भनेर सम्बोधन गर्ने गर्थे । तर, उनले अचानक फागुन, २०७९ मा उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन’ भन्दै नयाँ अभियान सुरू गरे । 

    झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्वयुवराज पारस शाहलाई अथिति बनाएर उक्त अभियान सुरु गरिएको थियो । अहिले दुर्गा प्रसाईं ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बँचाउ माहाअभियानको नेतृत्वकर्ता’ बनेका छन् । साथै उनी हिन्दूराष्ट्र र राजसंस्था फिर्ता ल्याउने मिशनमा जुटेका छन् ।  अभियान सुरु गरेपछि दुर्गा प्रसाईंले नेपालका निजी बैंकहरुलाई क्रमश: प्रहार गरिरहेका छन् । आफ्नो टाउँको अर्बौँ ऋण रहेको घोषणा गर्ने प्रसाईंले चैत २०७९ देखि ऋणको साँवा-ब्याज तिर्न छाडेको समाचार केही समयअघि सार्वजनिक भएको थियो ।  

    यही सन्दर्भमा दुर्गा प्रसाईंले आफ्नो पूर्व पार्टी नेकपा (एमाले) र नेताहरुविरुद्ध अभिव्यक्ति दिन थालेका थिए । यही कारण राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले प्रसाईंलाई कालोमोसो दलेका थिए ।  २२ असोज (२०८०)मा काठमाडौंको जमलस्थित एल्लो प्यागोडा होटलमा प्रसाईंले पत्रकार सम्मेलन आयोजना गरेका थिए,  सोही पत्रकार सम्मेलनमा उनीमाथि कालो पोतिएको थियो । 

    https://www.youtube.com/watch?v=i5zqIMywBbw

    कालो पोतिएको घटनापछि एमाले र दुर्गा प्रसाईंबीच मुडभेडको अवस्था सृजना भएको छ । राष्ट्रिय युवा संघका कार्यक्रमहरु दुर्गा प्रसाईंका कार्यकर्ताले बिथोल्ने र दुर्गा प्रसाईंलाई एमालेका कार्यकर्ताले निषेध गर्ने जस्ता गतिविधिहरु भइरहेका थिए ।

    दुर्गा प्रसाईंको बोलीसँगै फैलिएको ‘पूरानो रिपोर्ट’

    प्रस्तुत घटनाक्रमको सन्दर्भमा दुर्गा प्रसाईंले केपी शर्मा ओलीको लगानी कम्बोडियाको टेलिकममा रहेको आरोप लगाए । दशैँको मुखमा प्रसाईंले दिएको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भइरहेको छ । यतिमात्र होइन, दुर्गा प्रसाईंको अभिव्यक्ति पुष्टि भएको भन्दै उनका समर्थकले केही भिडियो रिपोर्ट पनि सामाजिक संजालमा फैलाइरहेका छन् ।

     जसमध्ये सबैभन्दा बढी फैलिएको एउटा रिपोर्टमा ‘oli In a corruption Scandal’ शिर्षक राखिएको छ । उक्त रिपोर्टको मूल सन्दर्भको जाँच गर्न हामीले युट्युबमा सोहि शिर्षकलाई सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप WION नामक युट्युब च्यानलमा पोस्ट गरिएको पूरानो रिपोर्ट फेला पर्‍यो । तीन वर्षअघि अर्थात् १५ जुलाई २०२० मा पोस्ट गरिएको भिडियो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बखतको हो । 

    https://www.youtube.com/watch?v=ok_JqeGcleE

      भारतीय टेलिभिजन च्यानल जी न्यूजको भगिनी संस्था डब्लूआईओएनले ग्लोबल वाच रिपोर्ट नामक संस्थालाई स्रोत बनाउँदै कम्बोडियाको टेलिकम कम्पनीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको दाबी गरेको थियो । त्यो बेला ‘जी न्यूज’ र ‘डब्लूआईओएन’ले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्णरूपमा चीनले चलाइरहेको अपुष्ट आरोप लगाइरहेको थियो ।

    दुर्गा प्रसाईंको आरोपपछि उनका समर्थक र सामाजिक संजाल प्रयोगकर्ताले उक्त पूरानो रिपोर्टको अंशलाई पुन: सामाजिक संजालमा पोस्ट गर्न थालेका छन् । तर, उक्त रिपोर्टमा आरोप पुष्टि गर्ने कुनै आधार प्रस्तुत गरिएको छैन । 

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend