चिनको तिब्बतमा भूकम्पसँग जोड्दै केही भिडियोहरु सामाजिक संजालमा फैलाइएको छ । नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ भाइरल भिडियोहरुमा भूकम्प क्षति र मानिसहरु आतंकित भएको दृश्य देख्न सकिन्छ । तर भिडियोहरुलाई रुजू गर्दा जापान र नेपालका पुराना भिडियोहरुलाई तिब्बत भूकम्पसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।
दाबी समीक्षा
नेपाल समाचारपत्र (Nepal Samacharpatra) को फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्ति सडकमा देखिएका छन् । यतिकैमा भूकम्प झड्का आउँछ र वरिपरिका घरमा क्षति पुर्याउँछ ।
७ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प’ ।
प्रस्तुत भिडियोलाई छोटो समयमै लाखौँ फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । सामाजिक संजाल प्रयोगकर्तामाझ व्यापक फैलिएको भिडियोको फैलावट आगामी दिनमा झनै बढ्ने देखिन्छ ।
सोही भिडियोलाई Ramailo Nepal नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । तिब्बत भूकम्पसँग जोडिएको यो भिडियो पनि सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
त्यसैगरी चिनको तिब्बत भूकम्पसँग जोड्दै अर्को भिडियो पनि सामाजिक संजालमा फैलाइएको छ । mr.abhishekhadhykari, gopal_timalsina1 लगायतका टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भूकम्पले घरहरुलाई क्षति गरेको र मानिसहरु त्रसित भएको दृश्य देख्न सकिन्छ ।
चिनको तिब्बतमा भूकम्प गएकै दिन अर्थात् ७ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा लेखिएको छ- ‘Today Kathmandu Earthquake’, ‘Kathmandu Faced Earthquake’ ।
पोस्ट भएको केही घण्टामै दाबीसहितको भिडियोहरुलाई हजारौँले हेरिसकेका छन् । यी भिडियोहरुमा हजारौँ टिकटक प्रयोगकर्ताले रियाक्टसमेत गरिसकेका छन् ।
के नेपालमा फैलाइएका भिडियोहरु तिब्बत भूकम्पसँग सम्बन्धित छन् त? भिडियोको वास्तविकता पत्ता लागाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच: नेपाल र जापानका पुराना भिडियो तिब्बतमा भूकम्पसँग जोडियो
७ जनवरी २०२५ मा चीनको तिब्बतमा शक्तिशाली भूकम्पमा गयो । यूएस जियोलोजिकल सर्भेका अनुसार डिङ्ग्री काउन्टी नामक क्षेत्रमा गएको उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको थियो ।
त्यस्तै भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले भने ६.८ म्याग्निच्युडको भूकम्प बिहान ९:०५ बजे स्थानीय समयमा गएको जानकारी दिएको छ । त्यस्तै भूकम्पमा करिब एक सष जनाले ज्यान गुमाएका छन् भने १३० भन्दा बढी घाइते भएका छन् ।
तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पलाई नेपालसँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको जानकारीहरु संचार माध्यमले सार्वजनिक गरेका छन् । यही सन्दर्भमा नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले केही भिडियो सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले भिडियोबाट केही स्क्रिनसट लियौँ । सक्रिनस्ट तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेल सर्च गर्दा केही समाचार भिडियोहरु फेला परे । जसमध्ये cbc_chant एक्स ह्वान्डलमा पोस्ट गरिएको भिडियो हाम्रो नजरमा पर्यो ।
२७ डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोको एउटा दृश्य र दाबीसहितको भिडियोबीच समानता देखिन्छ । फेला परेको भिडियोको क्याप्सनमा जापानी भाषामा केही लेखिएको छ ।
ती वाक्यांशहरुलाई अंग्रेजी भाषामा अनुवाद गर्दा २०२४ को सम्झना रिपोर्ट तयार पारिएको देखियो । उक्त रिपोर्टमा भूकम्पको भिडियोदेखि भ्याक्सिन समस्याको बारेमा उल्लेख गरिएको छ ।
फेला परेको नतिजाका आधारमा हामीले ‘Earthquake Footage Japan’ वाक्यांशलाई युट्युबमा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप 11Alive युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो भेटियो । ५ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियो न तिब्बतको भूकम्पसँग सम्बन्धित छ, न तिब्बत चिनसँग ।
२०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यो समय भूकम्पसँगै जापानमा सुनामीको प्रभाव देखिएको थियो । सोही क्रममा खिचिएको भिडियोलाई तिब्बतको भूकम्पसँग जोडेर फैलाइएको देखिन्छ ।
अर्कोतर्फ हामीले दोस्रो भिडियो जाँच सुरु गर्यौँ । तिब्बत भूकम्प भएको केही समयपछि पोस्ट गरिएको भिडियोमा Today Kathmandu Earthquake’ लेखिएको देखिन्छ । यही जानकारीका आधारमा हामीले ‘Earthquake House Collapse Nepal’ वाक्यांश जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप Sadish Manandhar नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ९ वर्षअघि अर्थात् ८ मे २०१५ मा पोस्ट गरिएको यो भिडियोको शिर्षकमा लेखिएको छ- Nepal Earthquake 2015 Building Collapsed in Ramkot.
फेला परेको भिडियो र माथि उल्लेखित हालसालै पोस्ट गरिएको दाबीसहितको भिडियोबीच समानता देखिन्छ । खासमा २०१५ को महाभूकम्पका बेला यो भिडियो खिचिएको पाइयो । काठमाडौँस्थित रामकोटमा खिचिएको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको देखियो ।
निष्कर्ष
नेपालका सामाजिक संजाल प्रयोगकर्तामाझ फैलाइएका भिडियोहरु चिनको तिब्बतमा भूकम्पसँग सम्बन्धित छैनन् । २०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा खिचिएको भिडियोलाई तिब्बतको भूकम्प विपद्सँग जोडिएको छ।
त्यस्तै २०१५ मा नेपालस्थित रामकोटमा खिचिएको भिडियोलाई पनि भ्रामक तरिकाले तिब्बत भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ ।