काठमाडौं । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा सामाजिक सञ्जालमा विभिन्न दल र नेताहरूसँग सम्बन्धित भिडियो तथा तस्बिरहरू भाइरल भइरहेका छन्। हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जनकपुर र झापाको भ्रमण गरेका थिए। सो क्रममा देखिएको जनसहभागिताको चर्चा सेलाउन नपाउँदै, सामाजिक सञ्जालमा ‘बालेनको क्रेज’ भन्दै एउटा विशाल जनसागरको भिडियो भाइरल भइरहेको छ।
तर, हाम्रो तथ्यजाँचले उक्त भिडियो नेपालको नभई बङ्गलादेशको भएको पुष्टि गरेको छ।
सामाजिक सञ्जालमा दाबी
फेसबुक प्रयोगकर्ता ‘रमन मण्डल’ले २० जनवरी २०२६ को आसपास एउटा रिल भिडियो पोस्ट गरेका छन्। भिडियोमा विशाल भीड, स्टेज र झण्डाहरु देखिन्छ। [ओरिजिनल लिङ्क] [अर्काइभ लिङ्क]
उक्त भिडियोको क्याप्सनमा #balenmela ह्यासट्याग प्रयोग गरिएको छ भने भिडियोभित्र पनि सोही टेक्स्ट राखिएको छ। यो भिडियोलाई बालेन शाहको हालैको मधेश भ्रमणसँग जोडेर व्यापक सेयर गरिँदैछ। कमेन्ट बक्समा धेरै प्रयोगकर्ताहरूले यसलाई जनकपुर वा झापाको दृश्य ठानेर बालेनको समर्थनमा प्रतिक्रिया जनाइरहेका छन्।
तथ्यजाँच
भाइरल भिडियोलाई सुक्ष्म रूपमा नियाल्दा त्यहाँ देखिएका झण्डाहरू नेपालका कुनै पनि राजनीतिक दल वा नेपालको राष्ट्रिय झन्डासँग मेल खाँदैनन्। साथै, वरिपरि देखिएका भवनहरूको संरचना जनकपुर वा झापाको सहरी वास्तुकलासँग मिल्दोजुल्दो देखिँदैन। यसले हामीलाई भिडियो शंकास्पद लाग्यो।
भिडियोको वास्तविक स्रोत पत्ता लगाउन हामीले InVid WeVerify टुलको प्रयोग गर्यौं। यसको मद्दतले भिडियोका मुख्य ‘कि-फ्रेम’हरू निकालियो।
ती कि-फ्रेमहरूलाई गुगल र यानडेक्समा ‘रिभर्स इमेज सर्च’ गर्दा हामी एउटा पुरानो फेसबुक पोस्टमा पुग्यौं। फेसबुकमा ‘Mohmmad Nasir’ नामक प्रयोगकर्ताले ९ फेब्रुअरी २०२५ मा सोही भिडियो पोस्ट गरेको भेटियो। उक्त भिडियोको क्याप्सनमा लेखिएको थियो: "Barishal program time #champion #barishal #BPL #t20"। [ओरिजिनल लिङ्क] [अर्काइभ लिङ्क]
प्राप्त ‘कि-वर्ड’ र मितिका आधारमा हामीले थप खोज गर्यौं। यस क्रममा बङ्गलादेशी अनलाइन न्युज पोर्टल ‘lakhokantho.com’ मा ९ फेब्रुअरी २०२५ मा बंगाली भाषामा प्रकाशित एक समाचार फेला पर्यो। [ओरिजिनल लिङ्क]

उक्त बंगाली समाचारलाई अनुवाद गर्दा बङ्गलादेश प्रिमियर लिग (BPL) को उपाधि जितेपछि ‘फर्च्युन बरिशाल’ टिमलाई स्वागत गर्न बरिशाल सहरको ‘बेल्स पार्क’ मा हजारौं समर्थकहरू जम्मा भएका थिए। भाइरल भिडियोमा देखिएको भीड त्यही खुसीयाली मनाउन जम्मा भएका क्रिकेट समर्थकहरूको हो।
निष्कर्ष
सामाजिक सञ्जालमा बालेन शाहको जनकपुर वा झापा भ्रमण भन्दै फैलाइएको उक्त भिडियो भ्रामक छ। यो भिडियो नेपालको नभई बङ्गलादेशको बरिशाल सहरको हो। यो भिडियो सन् २०२५ को फेब्रुअरीमा बङ्गलादेश प्रिमियर लिग (BPL) जितेको खुसीयालीमा निकालिएको र्यालीको हो।
सम्पादकीय नोट: निर्वाचनको समयमा यस किसिमका भ्रामक सामग्रीले मतदाताको धारणामा असर पार्न सक्छ। बालेन शाहको सामाजिक सञ्जालमा बलियो उपस्थितिका कारण उनका समर्थकहरूले सत्यता जाँच नगरी यस्ता भिडियोहरू सेयर गर्ने प्रवृत्ति देखिन्छ । यस्ता भिडियोले उम्मेदवारको लोकप्रियतालाई अस्वाभाविक रूपमा प्रस्तुत गर्ने र मतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहन्छ। तसर्थ, सामाजिक सञ्जालमा देखिने कुनै पनि ‘असाधारण’ दाबीलाई सेयर गर्नुअघि सत्यता जाँच गर्न RUJU FactCheck आग्रह गर्दछ।