Logo

Oct 29 2026

Fact Check: माओवादी नेता वन्यजन्तुको अंगसहित पक्राउ परेको दाबी भ्रामक, पुरानो तस्बिर प्रयोग गरी भ्रम फैलाइयो

Fact Check: माओवादी नेता वन्यजन्तुको अंगसहित पक्राउ परेको दाबी भ्रामक, पुरानो तस्बिर प्रयोग गरी भ्रम फैलाइयो

  • सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा आजभोलि एउटा तस्बिर निकै शेयर भइरहेको छ जसमा सुरक्षाकर्मीले तीन व्यक्तिलाई पक्राउ गरेको देखिन्छ। उक्त तस्बिरसँगै चितवनमा नेकपा (माओवादी केन्द्र)का उच्च तहका नेताहरू गैंडाको खाग, हात्तीको दारा र बाघको छालासहित पक्राउ परेको र उनीहरूले पार्टी अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आदेशमा चुनावी खर्च जुटाउन सो अपराध गरेको स्वीकारेको दाबी गरिएको छ।

    2.png

    3.png

    4.png

    तर यो दाबी पूर्ण रूपमा भ्रामक रहेको तथ्य फेला पर्यो। दाबीमा प्रयोग गरिएको तस्बिर एक वर्ष पुरानो र फरक घटनाको हो, जसलाई राजनीतिसँग जोडेर गलत सन्दर्भमा प्रयोग गरिएको देखियो ।

    दाबी

    सामाजिक सञ्जाल सेयर गरिएको दाबी यस्तो छ:

    "आज दिउँसो करिब ३ बजेतिर चितवनको माडीमा गैंडाको खाग, हात्तीको दारा र बाघको छाला सहित तिनजना माओवादी नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगर इन्चार्ज, जिल्ला सेक्रेटरी र अर्का प्रदेश इन्चार्ज रहेका छन्। उनीहरुको बयान अनुसार मेयर रेणु दाहाल, बर्समान पुन र प्रचन्डको आदेशमा निर्वाचन खर्च जुटाउन गरेको हौँ भनेर स्वीकार गरेका छन्। निजलाई छुटाउन गृहमन्त्रीको दबाब समेत आएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।"

    अर्काइभ पोस्ट:

    अर्काइभ लिङ्क १

    अर्काइभ लिङ्क २

    अर्काइभ लिङ्क ३

    तथ्यजाँच

    हामीले सबै भन्दा दाबीमा जोडिएको तस्बिरलाई रिभर्स इमेज सर्च गरी खोज्यौँ। यसरी तस्बिर इन्टरनेटमा कहिले र कुन सन्दर्भमा पोस्ट गरिएको थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । यो तस्बिर असार २०, २०८० (July 5, 2023) मा विभिन्न नेपाली अनलाइन समाचार माध्यमहरूले प्रकाशित गरेको पाइयो। यो तस्बिर हालको नभई एक वर्षभन्दा पुरानो भएको पुष्टि भयो। 

    रिभर्स इमेज सर्चबाट प्राप्त जानकारीका आधारमा हामीले उक्त मितिका समाचारहरूलाई अध्ययन गर्यौँ।

    सेतोपाटीमा २०८० असार २० गते प्रकाशित समाचार अनुसार २०७९ माघमा करेन्ट लगाएर गैडाका माउ मार्ने र खाद बिक्री गरेको आरोपमा २०८० जेठ १२ गते नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

    5.png

    सोही मितिमा कान्तिपुरमा प्रकाशित समाचार अनुसार उनीहरुले खाका लागि करेन्ट लगाएर गैंडा मारेका थिए।

    पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका १८ धरमपुर मन्दिर टोलका कृष्णबहादुर महत्व, शिखाराम थारु र होमबहादुर बिक रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।

    6.png

    ekantipur news

    उनीहरूको कुनै पनि राजनीतिक दलसँगको आबद्धता, विशेषगरी माओवादी नेता भएको कुरा कुनै पनि स्रोतबाट प्रमाणित हुँदैन ।

    साथै समाचारहरूमा चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सूचना अधिकारी गणेशप्रसाद तिवारीलाई कोट गरेको देख्न सकिन्छ । उनले दिएको जानकारी अनुसार उनीहरूलाई गैंडा मारेको र खाग तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। यो घटनाको भाइरल दाबीमा उल्लेख गरिएका माओवादी नेता, प्रचण्ड वा रेणु दाहालसँग कुनै सम्बन्ध छैन । 

    उनीहरूलाई असार २० गते नेपाल प्रहरीसहित चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको थियो। सोही सार्वजनिक गरेको तस्बिरलाई दाबीसँग जोडिएको देखियो ।

    भाइरल दाबीमा उल्लेख गरिएका विषयहरू जस्तै "माओवादी नेता पक्राउ", "चितवन बाघको छाला", "रेणु दाहाल चुनावी खर्च" जस्ता कीवर्डहरू प्रयोग गरी हामीले खोज्यौँ। तर कुनै पनि समाचार माध्यम वा आधिकारिक निकायले यस्तो कुनै घटना भएको रिपोर्ट गरेका छैनन्। यसले यो दाबी पूर्ण रूपमा असत्य रहेको पुष्टि हुन्छ ।

    निष्कर्ष

    हाम्रो तथ्यजाँचबाट यो प्रमाणित हुन्छ कि सामाजिक सञ्जालमा माओवादी नेताहरू वन्यजन्तुका अंगसहित पक्राउ परेको भनी गरिएको दाबी पूर्ण रूपमा भ्रामक  छ। दाबीसँगै प्रयोग गरिएको तस्बिर एक वर्ष पुरानो हो र गैंडा तस्करीको आरोपमा पक्राउ परेका तीन व्यक्तिको हो, जसमा कुनै पनि राजनीतिक नेता संलग्न थिएनन्।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend