सामाजिक सञ्जाल टिकटकमा ग्रीन कार्ड भएकालाई ट्रम्पले धमाधम निष्कासन गर्ने र नागरिकता पाउन ५० लाख डलर बुझाउनुपर्ने नियम लागु भएको दाबी जोडिएको भिडियो भाइरल भइरहेको छ । तर, दाबी र भिडियोलाई रुजू गर्दा भ्रामक रहेको देखियो ।
दाबी समीक्षा
उक्त भिडियो spain.nepal नामक टिकटक युजरनेमबाट २०२५ जुन २ मा पोस्ट गरिएको थियो । भिडियोमा एउटा टेक्स्ट ओभरले जोडिएको छ । जसमा लेखिएको छ, “Green Card भएकालाई पनि ट्रम्पले अब धमाधम निश्कासन गर्ने भएका छन्। ग्रीन कार्ड हुँदैमा अमेरिकी नागरिक नहुने कुरा त्यहाँका उपराष्ट्रपि बताएका छन्। अमेरिकी नागरिकता पाउनको लागि राष्ट्रपति ट्रम्पले भनेबमोजिमको रकम (५० लाख डलर) बुझाउनुपर्ने नियम लागु भएको छ। यो सँगै त्यहाँ रहेका नेपालीहरुको मनमा ढ्याङ्ग्रो बज्न थालेको छ।”

भाइरल भिडियोमा यो भिडियो तयार पार्दा सम्म १ लाख ४० हजार भन्दा बढी भ्युज आइसकेको छ भने ४ हजार बढी लाइक आएको छ। त्यस्तै भाइरल भिडियोलाई १ बढी पटक शेयर गरिएको छ।
अमेरिकी राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले 'गोल्ड कार्ड' भिसाको योजना घोषणा गरेका थिए। यस अन्तर्गत, धनी विदेशी नागरिकले ५० लाख डलर (लगभग ७० करोड नेपाली रुपैयाँ) लगानी गरेर अमेरिकामा स्थायी बसोबास (ग्रीन कार्डजस्तै) प्राप्त गर्न सक्नेछन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासनमा अझै कडाइ गर्ने नीति लिएका छन्। उनले अवैध आप्रवासीहरूलाई 'देश निकाला' गर्ने र सीमामा कडाइ गरिरहेका छन्। यही सन्दर्भमा पछिल्लो समय ३७ नेपालीहरूलाई अमेरिकाले "अवैध आप्रवासी"का रूपमा निष्कासन गरेको थियो। यही सन्दर्भमा यो भिडियो पोस्ट गरेको देखियो।

तर साँच्चै अमेरिकाको नागरिकता पाउनका लागि ट्रम्पले भने बमोजिम ५० लाख डलर तिर्नु पर्ने भन्ने दाबी सत्य हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ।
तथ्यजाँच
हामीले दाबीकर्ताले उल्लेख गरेका दाबीहरूलाई दुई भागमा विभाजन गरी तथ्यजाँच गरेका छौँ।
पहिलो दाबी: ग्रीन कार्ड भएकालाई पनि ट्रम्पले अब धमाधम निष्कासन गर्ने भएका छन्। ग्रीन कार्ड हुँदैमा अमेरिकी नागरिक नहुने कुरा त्यहाँका उपराष्ट्रति बताएका छन्।
ग्रीन कार्ड हुँदैमा अमेरिकी नागरिक नहुने: यो कुरा सत्य हो। ग्रीन कार्डले तपाईंलाई अमेरिकामा स्थायी रूपमा बस्ने र काम गर्ने अधिकार दिन्छ, तर यसले तपाईंलाई अमेरिकी नागरिकता दिँदैन। अमेरिकी नागरिकताका लागि छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ। अमेरिकी उपराष्ट्रपति हाल जे.डी. भान्सले ग्रीन कार्ड होल्डर अमेरिकामा सधैंभरि बस्ने अधिकार नभएको र यो राष्ट्रिय सुरक्षाको विषय भएको बताएका छन्।

ग्रीन कार्ड भएका सबैलाई धमाधम निष्कासन गर्ने भन्ने कुरा: यो दाबी पुष्टि भएको छैन। ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई निष्कासन गर्नेमा जोड दिएको छ। तर, ग्रीन कार्ड होल्डरले कानुन तोडेमा वा राष्ट्रिय सुरक्षामा खतरा पुर्याएमा उनीहरूको ग्रीन कार्ड रद्द हुन सक्छ र त्यसपछि निष्कासनको प्रक्रिया अगाडि बढ्न सक्छ। यो कुनै नयाँ नियम भने होइन, पहिले पनि यस्ता प्रावधानहरू थिए।
दोस्रो दाबी: अमेरिकी नागरिकता पाउनको लागि राष्ट्रपति ट्रम्पले भनेबमोजिमको रकम (५० लाख डलर) बुझाउनुपर्ने नियम लागु भएको छ।
अमेरिकी नागरिकता पाउन ५० लाख डलर बुझाउनुपर्ने नियम लागु भएको: यो दाबी सत्य होइन। डोनाल्ड ट्रम्पले 'गोल्ड कार्ड' नामक एउटा नयाँ योजनाको प्रस्ताव गरेका छन्, जसअनुसार धनी विदेशी नागरिकले ५० लाख डलर तिरेर स्थायी बसोबास (ग्रीन कार्डजस्तै) प्राप्त गर्न सक्नेछन् र यसले भविष्यमा नागरिकताको बाटो खोल्न सक्ने बताएका छन्।

तर, यो हालसम्म पूर्ण रूपमा लागू भएको छैन र यो नागरिकताका लागि सीधा ५० लाख डलर तिर्नुपर्ने नियम होइन। यो ग्रीन कार्डको एक प्रकारको "प्रिमियम" विकल्पको रूपमा प्रस्ताव गरिएको हो, जुन EB-5 लगानीकर्ता भिसाको विकल्प हुन सक्छ। नागरिकता पाउनका लागि भने निश्चित समयसम्म स्थायी बसोबास गरेको, अंग्रेजी भाषाको ज्ञान, अमेरिकी इतिहास र सरकारबारेको जानकारी तथा असल नैतिक चरित्रजस्ता अन्य थुप्रै मापदण्डहरू पूरा गर्नुपर्छ।
निष्कर्ष:
ग्रीन कार्ड भएकालाई ट्रम्पले धमाधम निष्कासन गर्ने र नागरिकता पाउन ५० लाख डलर बुझाउनुपर्ने नियम लागु भएको भन्ने खबर भ्रामक छ । ग्रीन कार्ड भएकाले अमेरिकी नागरिकता स्वतः पाउँदैनन् र नागरिकताका लागि नयाँ ५० लाख डलरको नियम लागु भइसकेको छैन, यो ट्रम्पले प्रस्ताव गरेको एउटा योजना मात्र हो। यद्यपि, ट्रम्प प्रशासनले अध्यागमन नीतिमा कडाइ गरिरहेको र ग्रीन कार्ड धारकहरूका लागि पनि नियमहरू कडा भइरहेका छन्। त्यहाँ रहेका नेपालीहरूले अमेरिकी अध्यागमन कानुन र नीतिहरूमा भइरहेका परिवर्तनबारे सचेत रहनु आवश्यक छ।