Logo

Oct 28 2026

Fact Check: दुबईमा नेपाली श्रमिकलाई सार्वजनिक फाँसी दिइएको भिडियोको सत्यता के हो?

Fact Check: दुबईमा नेपाली श्रमिकलाई सार्वजनिक फाँसी दिइएको भिडियोको सत्यता के हो?

  • पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा भाइरल भइरहेको छ, जसमा "दुबईमा एक नेपाली श्रमिकलाई फाँसीको सजाय" दिइएको दाबी गरिएको छ । उक्त पोस्ट अहिले फेसबुक, टिकटक लगायतका विभिन्न प्लेटफर्महरूमा थुप्रै एकाउन्टहरूबाट सेयर भइरहेको भेटिन्छ । [अर्काइभ]

    फेसबुकमा 'लुम्बिनी छड्के' नामक पेजबाट मे २९, २०२५ मा पोस्ट भएको भिडियो हालसम्म २२ लाखभन्दा बढी पटक हेरिएको छ । यस भिडियोमा २,००० भन्दा बढी लाइक्स र ३,६०० भन्दा बढी पटक सेयर भएको पाइएको छ ।  भिडियोको कमेन्ट बक्समा आम मानिसहरूले गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकारलाई तत्काल उद्धारको लागि आह्वान गरिरहेका छन् ।

    तर, के साँच्चै दुबईमा एक नेपाली श्रमिकलाई फाँसीको सजाय दिइएको हो र उक्त भिडियो सोही घटनासँग सम्बन्धित छ त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौं ।

    तथ्यजाँच

    सबैभन्दा पहिले हामीले भाइरल भिडियोका केही दृश्यहरूको स्क्रिनसट निकालेर गुगल 'रिभर्स इमेज सर्च' गर्यौँ । नतिजा स्वरूप युट्युबमा Sedular_Lawas नामक युजरनेमबाट १० मे २०२६ मा पोस्ट भएको एउटा भिडियो फेला पर्यो । युट्युबमा पोस्ट भएको उक्त 'सर्ट भिडियो' र सामाजिक सञ्जालमा दाबीसहित पोस्ट गरिएको भिडियोका दृश्यहरू हुबहु मिल्छन् ।

    त्यसपछि हामीले युट्युब भिडियोको डिस्क्रिप्सन (विवरण) हेर्यौँ । त्यहाँ राखिएको क्याप्सनमा “Kesurupan Endang Mayit” लेखिएको थियो । यो वाक्य इन्डोनेसियन भाषा हो । यसलाई नेपालीमा अनुवाद गर्दा 'भूतप्रेत वा मरेको मान्छेको आत्मा जीवित मानिसको शरीरमा चढेको अवस्था' (Spirit Possession) भन्ने बुझिन्छ । यो इन्डोनेसियाको स्थानीय संस्कृति वा परम्परागत जात्रासँग सम्बन्धित शब्दावली हो ।

    भिडियोमा सेतो कपडा (कफन) मा बेरिएको जुन डमी वा आकृति देखिन्छ, त्यसलाई इन्डोनेसियाको स्थानीय संस्कृतिमा 'पोकोङ' (Pocong) वा यस्तै आत्माको रूप मानिन्छ । इन्डोनेसियामा यस्तो भेष बनाएर सडक नाटक, जात्रा वा मनोरञ्जनात्मक कला प्रदर्शन गर्ने परम्परा रहेको छ ।

    ruju-youtube-thumbnail (8).jpg

    भिडियोमा खटिएका व्यक्तिहरूले लगाएको पोसाक (कालो कपडा र टाउकोमा बाँधेको विशेष रुमाल) दुबईको प्रहरी वा प्रशासनको नभई इन्डोनेसियाको परम्परागत पहिरन हो । भिडियोमा वरपर मानिसहरू अत्यन्त सामान्य रूपमा बसेर यो प्रदर्शन हेरिरहेका छन्, जुन कुनै फाँसी वा कानुनी कारबाहीको दृश्यसँग मेल खाँदैन ।

    दुबई (यूएई) को कानुन र न्याय प्रणालीमा यसरी चोक वा खुला सडकमा सर्वसाधारणको बीचमा फाँसी दिने अभ्यास छैन । यदि दुबईमा साँच्चै कुनै नेपाली श्रमिकलाई यस्तो गम्भीर सजाय भएको भए, त्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूलधारका सञ्चारमाध्यमहरूमा प्रमुख समाचार बन्ने थियो । साथै, परराष्ट्र मन्त्रालय वा यूएईस्थित नेपाली दूतावासले यसबारे आधिकारिक जानकारी वा प्रेस विज्ञप्ति जारी गर्ने थिए । तर हामीले खोजि गर्दा त्यस्तो कुनै पनि आधिकारिक सूचना फेला पारेनौं ।

    निष्कर्ष

    सामाजिक सञ्जालमा 'दुबईमा एक नेपाली श्रमिकलाई फाँसीको सजाय' भन्दै भाइरल भएको भिडियो पूर्ण रूपमा असत्य छ। यो भिडियो दुबईको घटना नभई इन्डोनेसियाको स्थानीय जात्रा वा सडक नाटकको दृश्य हो, जसमा आत्मा वा भूत (Kesurupan Endang Mayit) को अभिनय गरिएको छ ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend