Logo

Oct 28 2026

Fact Check: के भाइरल भिडियोमा गाई काटेर खाने र झण्डा जलाउने धम्की दिने व्यक्ति हर्क साम्पाङ हुन्? भाइरल भिडियोको सत्यता

Fact Check: के भाइरल भिडियोमा गाई काटेर खाने र झण्डा जलाउने धम्की दिने व्यक्ति हर्क साम्पाङ हुन्? भाइरल भिडियोको सत्यता

  • अहिले सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा भाइरल भइरहेको छ, जसमा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राई बोलिरहेको भन्ने दाबी गरिएको छ । फेसबुकका विभिन्न ग्रुपहरूमा सेयर भइरहेको उक्त भिडियो 'रोजिन महर्जन' नामक फेसबुक प्रयोगकर्ताको नामबाट “Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप” बाट जुन ९, २०२६ मा पोस्ट गरिएको देखिन्छ । पोस्टको क्याप्सनमा "Desh bhakt harka ji" लेखिएको छ भने भिडियोको टेक्स्ट ओभरलेमा "अबको प्रधानमन्त्री, बच्चै देखि कति माया देश प्रति हर्क साम्पाङको" लेखिएको छ । भिडियो हालसम्म ९३१ लाइक्स २९३ कमेन्ट र ६५१ भन्दा बढि पटक शेयर भइसकेको छ । [अर्काइभ]

    1.png

    त्यसैगरि फेसबुकमा “छबिराज टमट्टा” नामक प्रयोगकर्ताले समेत सोहि भिडियोलाई शेयर गरेका छन् । उक्त भिडियोमा हालसम्म ७५ हजार पटक हरिएको छ भने २२५ कमेन्ट र ५२५ पटक शेयर भइसकेको छ । [अर्काइभ]

    2.png

    साथै टिकटकमा पनि ‘sabinrai235’ नामक प्रयोगकर्ताले समेत पोस्ट गरेको पाइएको छ । यो भिडियोले हालसम्म ४ हजार भन्दा बढि पटक हरिएको छ भने ८६ लाइक्स र १३ कमेन्ट आइसकेको छ । [अर्काइभ]


    ३.png


    भिडियोमा एक व्यक्तिको अनुहारको आंशिक भाग मात्र देखिन्छ, जसले भनिरहेका छन्: "देशै भरि जलाउने हो । हाम्रो तयारी छ। हाम्रो तयारी छ, देशै भरि देश... झण्डा जलाउन चाहिँ तयार छौँ । झण्डा मात्र होइन, देशको चोक-चोकमा, सडक-सडकमा हामी चाहिँ गाई काटेर खान्छौँ । के लाग्छ कसले के गर्छ? हामी गाई काटेर खान्छौँ देशै भरि, हामी झण्डा जलाउँछौँ ।"

    तर के साँच्चै भिडियोमा बोलिरहेका व्यक्ति हर्क साम्पाङ नै हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच

    दाबीसहितको सामग्रीलाई रुजू गर्दा हामीले सबैभन्दा पहिले भिडियोका केही दृश्यहरूको स्क्रिनसट निकाल्यौँ र हामीले उक्त तस्बिरलाई 'रिभर्स इमेज सर्च' गरी खोज गर्यौँ । तर केहि नतिजा ननिस्केपछि InVid WeVerify टुल र भिडियोमा बोलिएको संवादका आधारमा 'किवर्ड सर्च' (Keyword Search) को प्रयोग गरी सर्च अगाडि बढायौँ ।

    नतिजास्वरूप, युट्युबमा करिब ५ वर्ष अगाडि अर्थात् २०२० सेप्टेम्बर २३ मा पोस्ट भएको एउटा भिडियो फेला पर्यो। "sudhamrit Tv" नामक युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियोको शीर्षक "#गाई देशभरी काटेर खाने तथा देशभरी झण्डा जलाउछु भन्ने mno लाई देशमा प्रतिबन्ध गरिनुपर्दछ-Amrit_Arya" रहेको छ । [अर्काइभ]

    भाइरल भिडियो र युट्युबमा प्राप्त मूल भिडियोसँग तुलना गर्दा, युट्युब भिडियोको १८ सेकेन्डदेखि ४२ सेकेन्डसम्मको क्लिप र अहिले भ्रामक दाबीसहित पोस्ट गरिएको भिडियो बिच समानता देखिन्छ । उक्त पोस्टमा बोलिरहेका व्यक्ति हर्क साम्पाङ नभई मंगोल नेशनल अर्गनाइजेसन (MNO) का नेता दाबी गर्ने जीवन मंगोल हुन् ।

    ruju-youtube-thumbnail (1080 x 720 px) (1).png

    जीवन मंगोल र MNO को पृष्ठभूमि:

    जीवन मंगोल मंगोल नेशनल अर्गनाइजेसन (MNO) का एक नेता हुन् । MNO ले लामो समयदेखि नेपालमा हिन्दू राष्ट्र र वर्तमान राष्ट्रिय झण्डालाई अस्वीकार गर्दै आएको छ । जीवन मंगोलले विगतमा पनि राष्ट्रिय प्रतीकहरू र बहुसंख्यक समुदायको आस्थामाथि प्रहार गर्ने प्रकृतिका उत्तेजक अभिव्यक्तिहरू दिँदै आएको देखिन्छ । भाइरल भिडियो तिनै विवादास्पद अभिव्यक्तिहरूमध्ये एक पुरानो अंश हो ।

    हाम्रो तथ्यजाँचबाट यो प्रमाणित हुन्छ कि फरक सन्दर्भको पुरानो भिडियोलाई भ्रामक दाबीसहित फैलाइएको पाइयो ।

    निष्कर्ष (Conclusion)

    अनुसन्धानबाट प्राप्त तथ्य अनुसार, गाई काटेर खाने र राष्ट्रिय झण्डा जलाउने धम्की दिइएको उक्त भाइरल भिडियो करिब ५ वर्ष पुरानो हो । भिडियोमा बोलिरहेका व्यक्ति MNO का नेता जीवन मंगोल हुन्, प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ होइनन् । तसर्थ, अर्कै व्यक्तिको पुरानो भिडियोलाई हर्क साम्पाङको नाम जोडेर गरिएको दाबी पूर्ण रूपमा असत्य छ ।

    नतिजा: असत्य (False)

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend