२५ मे २०२६ मा बिहान ११:५२ बजे फेसबुकमा ‘Maya Bhomjan’ नामक युजरनेमबाट पोस्ट भएको भिडियोमा एक जना महिलाले एउटा भिडियो क्लिप देखाउँदै भिडियोमा देखिएका व्यक्तिहरू भारतबाट लखेटिएका र बंगलादेशले समेत प्रवेश गर्न नदिएका रोहिङ्ग्याहरू भएको बताउँदै, उनीहरूले नेपाल छिर्ने सक्दो प्रयास गर्ने दाबी गरेकी छिन् ।
भिडियोमा भनिएको छ:
“सावधान बालेन सरकार, योभिडियो हेर्नुहोस्। यो भिडियो इन्डियाबाट लखेटेको रोहिङ्ग्याहरूको हो। र इनीहरूलाई आफ्नो देश बङ्गलादेश पनि छिर्न दिएको छैन। इनीहरू सक्दो नेपाल छिर्न प्रयास गर्नेछन्। बोर्डर टाइट गर्नुहोला र आर्मीहरूलाई अलर्टमा राख्नुहोला। हाम्रो सुरक्षा निकायलाई कमजोर नबनाउनुहोला भनी अनुरोध गर्दछु। अनि यो समयमा हाम्रो नेपाल बोर्डर छेउमा बस्नुहुने जतिपनि नेपाली जनताहरू हुनुहुन्छ, तपाइँहरूलाई पनि जागृत हुन जरुरी छ।”
भिडियोको तल्लो देब्रे कुनामा सैनिक पोसाक (Camouflage uniform) र हतियार बोकेका सुरक्षाकर्मीहरू देख्न सकिन्छ । लगत्तै दृश्य परिवर्तन हुन्छ, जहाँ सर्वसाधारणको एउटा ठुलो भिड हातमा लौरो, बाँस र घरेलु हतियार बोकेर चिच्याउँदै, दौडिरहेको देखिन्छ ।
तर के यो भिडियोमा दाबी गरिएजस्तै भारतबाट लखेटिएका रोहिंग्याहरू नेपाल छिर्न खोज्दै छन् त?
वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छाैँ ।
तथ्यजाँच
सबै भन्दा पहिले हामीले यस भिडियोको मुख्य दृश्य (भिडियोको तल्लो देब्रे कुनामा राखिएको भिडियो ) को किफ्रेमलाई ब्रेकडाउन गरी Reverse Image Search गर्याैँ ।
खोज्ने क्रममा हामीले फेसबुक र इन्स्टाग्रामका विभिन्न पेजहरूमा मे २५ आसपास दाबी भिडियो क्लिपसँग मेल खाने खालका भिडियोहरू पोस्ट भएको देखिन्छ ।
'Hinditree' नामक भारतीय युट्युब च्यानलमा मे २५ २०३६ मा पोस्ट भएको एउटा भिडियोमा यो घटना पश्चिम बंगालको फाँसीदेवा र कोचबिहारस्थित भारत-बंगलादेश सीमाको भएको दाबी गरिएको थियो, जहाँ तारबार (Fencing) को काम भइरहेका बेला बंगलादेशी नागरिकहरूले भारतीय सीमा सुरक्षा बल (BSF) माथि ढुङ्गामुढा गरेको भन्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै फेसबुकमा “India Defence Now” नामक पेजले समेत यस्तै दाबी गर्दै पोस्ट गरेको छ ।
(यस्तै अन्य दाबीहरूको लिङ्क तल श्रोतमा राखिएको छ । )
माथिका सोसल मिडिया पेजहरूले दाबी गरेका सूचनालाई पुष्टि गर्न हामीले भारतिय तथा बङ्गलादेशका सञ्चारमाध्यमहरूका समाचारहरू नियाल्याैँ ।
नतिजा स्वरुप टाईम्स अफ इन्डियामा मे २५, २०२६ मा प्रकाशित समाचार फेला पर्यो । उक्त समाचार अनुसार भारतको कोचबिहार जिल्लास्थित तीन बिघा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (BSF) ले काँडेतार लगाउनका लागि जग्गा नापजाँच गर्न सुरु गरेपछि विवाद उत्पन्न भएको थियो । कोचबिहारको मेखलिगन्ज ब्लकमा सीमा क्षेत्रमा तारबार लगाउने विषयमा विवाद हुँदा भारतिय सुरक्षा बल (BSF) र बोर्डर गार्ड बंगलादेश (BGB) बीच कमाण्डर-स्तरको 'फ्ल्याग मिटिङ' भएको समाचारमा उल्लेख गरिएको छ । उक्त स्थानीयहरू सीमामा जम्मा भएको उल्लेख गरे पनि ढुङ्गामुढाको स्पष्ट पुष्टि भने गरेको देखिएन ।
साथै, बंगलादेशको इन्डिपेन्डेन्ट टेलिभिजनमा लालमोनिरहाटको पाटग्राम सिमानाको १५० गज भित्र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै BSF ले तारबार लगाउन खोज्दा BGB र स्थानीय बासिन्दाले प्रतिवाद गरेपछि भारतीय पक्ष BSF पछि हटेको रिपोर्ट प्रसारण गरेको देखिन्छ ।
युटुबमा NewsX Live नामक भारतिय मिडियाले भने सोही भाइरल भिडियो क्लिपलाई हालैको क्लिप भन्दै सिलिगुढीको फाँसीदेवा क्षेत्रमा जग्गा नापीका क्रममा बंगलादेशीहरूले BSF माथि ढुङ्गामुढा गरेको भनी समाचार प्रसारण गरेको देखिन्छ । तर, चाखलाग्दो कुरा के छ भने, स्टुडियोका एङ्करले स्थिति तनावपूर्ण भनिरहँदा सोही च्यानलका ग्राउन्ड रिपोर्टरले भने अन-एयर नै स्थिति पूर्ण रूपमा शान्त र सामान्य रहेको तथा शान्ति-सुरक्षाको कुनै समस्या नदेखिएको स्पष्ट पारेका छन् ।
तर महत्वपूर्ण के छ भने यी आधिकारिक सञ्चारमाध्यमका रिपोर्टहरूमा भाइरल भिडियोमा देखिएको विशिष्ट दृश्य (हातमा लौरो बोकेर मानिसहरू दौडिरहेको क्लिप) ले हालको अवस्थालाई पुष्टि गरेको पाइँदैन (NewsX Live बाहेक) ।
वास्तविकता
मिडियाका दाबीहरू र भिडियोको दृश्यबीच पूर्ण मेल नखाएपछि हामीले थप खोजी गर्यौँ । खोजीका क्रममा यो भिडियो हालसालैको नभई १ वर्ष पुरानो भएको प्रमाणित भयो ।
यो भिडियो जनवरी १८, २०२५ (शनिबार) मा बंगलादेशको राष्ट्रिय दैनिक पत्रिका 'भोरर कगोज' (Bhorer Kagoj) को आधिकारिक युट्युब च्यानलमा पोस्ट भइसकेको फेला पर्यो । भाइरल भिडियो र यस पत्रिकाको ग्राउन्ड रिपोर्टको दृश्य हुबहु मिल्छ ।
यो भिडियो बंगलादेशको चाँपाइनवावगन्ज (Chapainawabganj) जिल्लाको शिबगन्ज गाउँपालिका अन्तर्गत पर्ने चौका र किरणगन्ज सीमा क्षेत्र (पिलर नम्बर १७७) को हो । रिपोर्ट अनुसार १८ जनवरी २०२५ को दिउँसो भारतीय नागरिकहरूले सीमा पार गरेर बंगलादेशी भूभागमा पसी ३० वटा आँपका रूख र सयौँ बयरका रूखहरू काटिदिएपछि दुई देशका स्थानीयबीच झडप भएको थियो ।
झडपका क्रममा भारतीय सीमा सुरक्षा बल (BSF) ले भारतीय नागरिकहरूको पक्ष लिँदै बंगलादेशी भूमिमा इँटा र अश्रु ग्याँस प्रहार गरेपछि, बंगलादेशका स्थानीय बासिन्दाहरू आफ्नो भूमिको रक्षा गर्न र आफ्नो सुरक्षा बल (BGB) लाई सहयोग गर्न हातमा लौरो, बाँस र घरेलु हतियार बोकेर प्रतिकारमा उत्रिएका थिए । भिडियोमा दौडिरहेको भिड तिनै बंगलादेशी स्थानीयहरूको हो ।
नेपालमा रोहिंग्या शरणार्थी सम्बन्धी सन्दर्भ
नेपालमा रहेका रोहिंग्याहरूको सङ्ख्या तुलनात्मक रूपमा निकै न्यून छ । समुदायका प्रतिनिधि र UNHCR को दर्ता विवरण अनुसार यो सङ्ख्या करिब ४४० को हाराहारीमा छ। यद्यपि, केही अनौपचारिक अनुमानहरूले यो सङ्ख्या अलिक बढी हुन सक्ने देखाए पनि, नेपालमा उनीहरूको ठूलो उपस्थिति छैन ।
नेपालमा रोहिंग्या शरणार्थी वा सीमा सुरक्षालाई लिएर सामाजिक सञ्जालमा यस्ता भ्रामक सूचनाहरू बेलाबेलामा भाइरल हुने गरेका छन् । हालै बीबीसी नेपालीले प्रकाशित गरेको एक विस्तृत रिपोर्टले पनि सामाजिक सञ्जालमा फैलिएका यस्ता दाबीहरूलाई पूर्ण रूपमा खण्डन गरेको छ ।
बीबीसीको रिपोर्ट अनुसार नेपालको पछिल्लो अवस्था अध्यागमन विभाग र पर्सा लगायतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका अनुसार हालसम्म कुनै पनि नयाँ रोहिंग्या वा बंगलादेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश गरेको आधिकारिक जानकारी वा रेकर्ड छैन ।
भारतको पश्चिम बंगालमा भएको राजनीतिक परिवर्तन र त्यहाँको नयाँ सरकारले गैरकानुनी आप्रवासीविरुद्ध लिएको कडा नीति ("डिटेक्ट, डिलिट र डिपोर्ट") का कारण, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालका सीमावर्ती जिल्लाहरू (विशेषगरी कोशी प्रदेश) मा सुरक्षा सतर्कता र निगरानी बढाइएको छ । र नाकाहरूमा परिचयपत्र पनि अनिवार्य गरिएको छ ।
यसले के स्पष्ट पार्छ भने, सुरक्षा सतर्कता अपनाइएको भए तापनि भाइरल दाबीमा भनिएजस्तो "ठुलो समूह बनाएर सीमा पार गर्न खोजेको" वा "नेपाल छिर्न सक्दो प्रयास गरिरहेको" कुनै पनि आधिकारिक वा विश्वसनीय सुरक्षा सूचना छैन ।
निष्कर्ष
हाम्रो तथ्यजाँचबाट यो प्रमाणित हुन्छ कि भाइरल भिडियोको रोहिंग्या शरणार्थी वा नेपालको सीमा सुरक्षासँग कुनै पनि सम्बन्ध छैन । यो सन् २०२५ जनवरीमा भारत-बंगलादेश सीमा (चाँपाइनवावगन्ज) मा रुख काट्ने र जमिनको विवादलाई लिएर स्थानीय बासिन्दा र सीमा सुरक्षा बलबीच भएको पुरानो हिंसक झडपको भिडियो हो । उक्त पुरानो भिडियोलाई हाल नेपालमा गलत दाबीसहित सेयर गरिएको हो ।
स्रोत
तपाईंको सहजता र सत्यता परीक्षणका लागि यस तथ्यजाँचमा प्रयोग गरिएका सबै डिजिटल प्रमाण तथा समाचारका लिंकहरू निम्नानुसार छन्:
- मूल भिडियो स्रोत: भोरर कागज - युट्युब रिपोर्ट (जनवरी २०२५)
- भारतीय सञ्चारमाध्यमका रिपोर्टहरू:
- बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टहरू:
- सामाजिक सञ्जालका अन्य दाबीहरू (क्रस-रेफरेन्स):