प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक संजालमा अनेक भ्रामक सूचना फैलिरहेका छन् । यही क्रममा ओलीसँग सम्बन्धित ‘तुच्छ शैली’का गलत जानकारीहरु पनि पोस्ट गरिएको पाइयो ।
दाबी समीक्षा
रबि लामिछाने समर्थक नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा समाचार क्लिपको दृश्य देख्न सकिन्छ । २५ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भएको एउटा तस्बिरसमेत जोडिएको छ ।
साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको थियो, अझै स्वास्थ्यमा सुधार नभएपछि भारत लाने तयारी थियो, मृर्गौला प्रत्यारोप गरेर पनि नबाँच्ने डाक्टरले भनिसकेको खबर सामाजिक संजालमा भाइरल भइरहेको छ ।’
यतिमात्र होइन, Iam_aayush (आयुष कार्की) नामक टिकटक आइडीमा एक कदम अगाडि सरेर गलत जानकारी फैलाइएको छ । यो भिडियोमा पनि उही समाचार क्लिपलाई जोड्दै एक व्यक्ति बोलिरहेको देखियो ।
२५ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा भ्रामक सूचना फैलाउने व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत श्रद्धान्जली दिएका छन । प्रधानमन्त्रीसँग सम्बन्धित यस्ता जानकारीहरु टिकटकसँगै फेसबुक लगायतका अन्य सामाजिक संजालमा फैलिरहेका छन् ।
दाबीसहितको भिडियोसँग जोडेर फैलाइएको समाचार सत्य के हो? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत श्रद्धान्जली
केपी शर्मा ओली यस्ता प्रधानमन्त्री हुन्, जसले कयौँ स्वास्थ्य प्रतिकुलतालाई जितिकसकेका छन् । उनको शरीरमा दुई पटक मृर्गौला प्रत्यारोपण गरिएको छ । २०७६ फागुनमा काठमाडौँको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगाैला प्रत्यारोपण गरिएको थियो ।
दुईपटक मृर्गौला प्रत्यारोपण गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली सधैँ छरिता देखिन्छन् । यही सन्दर्भमा पछिल्लो केही दिनअघि प्रधानमन्त्रीको सामान्य स्वास्थ्य समस्या देखिएको समाचारहरु संचारमाध्यमले प्रकाशित गरेका थिए । ९ माध २०८१ मा सेतोपाटी संचार माध्यम (setopati.com)ले प्रधानमन्त्रीको सचिवालयलाई उदृत् गर्दै लेखेको छ- ‘चिसोले गर्दा स्वर भासिएर बोल्न असजिलो भएको छ, उहाँ आराम गरिरहनुभएको छ।’
यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कार्यक्रमहरुलाई भर्चुलन माध्यमबाटै सम्बोधन गरिरहेका छन् । ११ माघ २०८१ मा प्रधानमन्त्रीले सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु कार्यक्रमलाई भर्चुअल रूपमै काठमाडौंबाट उद्घाटन गरे । उनले भिडियो सम्बोधनसमेत गरेका थिए तर भिडियोमा प्रधानमन्त्री गम्भीर अवस्थ्य देखिन्थेनन् ।
अर्कोतर्फ सामाजिक संजालमा फैलाइएको अस्पतालको तस्बिर पुरानो रहेको पाइयो । तस्बिरको जाँच गर्दा english.onlinekhabar मा प्रकाशित समाचारसँगै फेला पर्यो । २०७६ सालमा शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगाैला प्रत्यारोपण गरिएको थियो । सोही तस्बिरलाई वर्तमान समयमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएको दाबी कुनैपनि तथ्य जानकारीबाट प्रमाणित हुँदैन ।
अन्तिममा बाँकि रह्यो, दाबीसहितको सामग्रीमा जोडिएको समाचार क्लीप । प्रधानमन्त्रीको निधन भएको दाबीसहित पोस्ट गरिएको समाचार भिडियोमा भने फरक जानकारी छ ।
प्राइम टाइम्स टिभी (Prime Times HD) को समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्थाबारे समाचार तयार पारिएको भेटियो । यही समाचारको भिडियो अंश जोडेर प्रधानमन्त्रीको निधन भएको भ्रामक दाबी तयार पारिएको पाइयो । तर, समाचारमा २४ जवनरी २०२५ मा पोस्ट गरिए समाचारमा प्रधानमन्त्रीको घाँटीमा सामान्य समस्या देखिएको र उनी आराम गरिएको जानकारी दिइएको छ ।
अझ, प्रतिकुल स्वास्थ्य अवस्थाका बाबजुत शरीरले आराम खोजेपनि प्रधानमन्त्री ओली निरन्तर सक्रिय रहेको समाचारमा उल्लेख गरिएको छ । ओलीलाई प्रेरणाको स्रोतका रुपमा प्रस्तुत गरिएको समाचार अंशलाई नै ‘तुच्छ शैली’को गलत जानकारीसँग जोडिएको छ ।
निष्कर्ष
सामाजिक संजालका भाइरल पोस्टहरुमा दाबी गरेजस्तो कुनै घटना घटेको छैन । सामान्य स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओली आराम गरिरहेको सन्दर्भमा गलत जानकारीहरु पोस्ट गरिएको छ ।