अमेरिकामा दुईवटा जहाज ठोक्किएको भन्दै यो तस्बिर सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको तस्बिरलाई रुजू गर्दा एआई जनरेटेड दृश्यमा भ्रामक जानकारी जोडिएको देखियो ।
दाबी समीक्षा
जहाज ठोक्किएको तस्बिर NEB Result & News फेसबुक पेजमा समेत पोस्ट गरिएको छ । साथै तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘America मा आकाश मै दुई plane ठोकिँदा २ जनाको मृत्यु भएको छ ।’
२०२५ फेब्रुअरी २० मा पोस्ट गरिएको तस्बिरमा ७ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पोस्ट गरिएको छोटो समयमै दाबीसहितको सामग्री द्रुत गतिमा फैलिरहेको छ ।
यही दाबी र तस्बिर NEB Result & News, NEB Result, Troll NEPAL लगायतका थुप्रै फेसबुक पेजमा पोस्ट गरिएको छ ।
Nepali_ boy2545 नामक टिकटक आइडीमा त झन् एक अदम अगाडि बढेर दाबी र तस्बिर पोस्ट गरिएको छ । तस्बिरको थमनेलमा थमनेलमा ‘अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज एकआपसमा ठोक्किएको र दुई जनाको मृत्युु’ भएको दाबी गरिएको छ ।
विभिन्न दाबीसहित सामाजिक संजालमा फैलिरहेको तस्बिरको वाक्तविकता के होला? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: एआई जनरेटेड दृश्य
जाँचका क्रममा हालसालै प्रकाशित केही समाचारहरु फेला परे । अमेरिकाको अरिजोना विमानस्थल क्षेत्रमा दुईवटा साना जहाज ठोक्किएको जानकारी समाचारमा दिइएको छ । BBC मा प्रकाशित समाचार अनुसार २०२५ फेब्रुअरी १९ मा माराना क्षेत्रीय विमानस्थल नजिक सेस्साना १७२ एस र ल्यान्कएयर ३६० एमके आईआई जहाजबीच टक्कर भएको थियो । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।
अमेरिकामा दुई जहाजबीच टक्कर भएको फेला परेसँगै सबैभन्दा पहिले हामीले दाबीसँगै पोस्ट गरिएको तस्बिरको जाँच गर्यौँ । विभिन्न विधिले जाँच गर्दा पनि तस्बिरमा देखिएजस्तो घटना फेला परेन । यही क्रममा उक्त तस्बिर पहिलोपटक पोस्ट गरिएको वेबसाइट फेला पर्यो ।
shutterstock.com नामक वेबसाइटमा रहेको तस्बिर र दाबीसहित पोस्ट गरिएको तस्बिर हुबहु छन् । तर, यो तस्बिरलाई अन्य साधारण तस्बिरभन्दा फरक तरिकाले प्रस्तुत गरिएको छ । किनकि फेला परेको तस्बिर वास्तविक होइन ।
शटरस्टक वेबसाइटमा पहिलोपटक पोस्ट गरिएको २५८८१३९०४३ आइडी नम्बरको यो तस्बिर काल्पनिक हो । तस्बिरसँगै राखिएको विवरणमा एआई प्रणालीद्वारा जनरेटेड सामग्री लेखिएको छ ।
तस्बिरसँगै शटरस्टकले वेबसाइटले एआई जनरेटेड दृश्य प्रयोगको सर्तसमेत राखेको छ । उक्त विवरणमा लेखिएको छ- ‘एआई जनरेटेड सामग्री कुनै पनि तेस्रो पक्षको बौद्धिक सम्पत्ति वा अन्य अधिकारहरूको उल्लङ्घन, दुरुपयोग वा उल्लङ्घन गर्न, स्पाम, झूटा, भ्रामक, भ्रामक, हानिकारक, वा हिंसात्मक इमेजरी उत्पन्न गर्न वा कुनै पनि प्रकारको अश्लील वा गैरकानूनी सामग्री उत्पन्न गर्न प्रयोग गर्न सकिँदैन ।’
प्रस्तुत तस्बिर कुनै दुर्घटना वा अमेरिका र नेपाल सम्बन्धको उतावचढावसँग सम्बन्धित छैन । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेसँगै कार्यकारी आदेश जारी गरेका छन् । उक्त आदेशले नेपालमा समेत संचालित अमेरिकी अनुदान सहयोगका सबै कार्यक्रम निलम्बित भएका थिए । यही सन्दर्भमा अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
फेला परेका तथ्यहरुबाट के प्रमाणित हुन्छ भने अमेरिकामा दुईवटा जहाज ठोक्किएको भन्दै पोस्ट गरिएको तस्बिर वास्तविक होइन ।
निष्कर्ष
‘अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज एकआपसमा ठोक्किएको र दुई जनाको मृत्युु’ भन्ने दाबी भ्रामक छ । अमेरिकामा दुईवटा साना विमान ठोक्किएर दुर्घटना भएको साँचो हो । यद्यपी, एआई जनरेटेड तस्बिरलाई वास्तविक घटना जसरी सामाजिक संजालमा फैलाइएको देखियो ।