आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको भन्दै यो तस्बिर सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको सामग्रीलाई रुजू गर्दा सुनसरीको पुरानो पक्राउको घटनालाई भ्रामक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीसँग जोड्दै पोस्ट गरिएको देखियो ।
दाबी समीक्षा
Adarsh Mandal नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । साथै उक्त सामग्रीमा प्रहरीको गिरफ्तमा रहेका एक अभियुक्तलाई देख्न सकिन्छ ।

त्यसैगरी यही सामग्री हर्क सम्पाङ समर्थक नामक फेसबुक पेजबाट Gyanendra Shahi Fans Club नामक ग्रुपमा पनि पोस्ट गरिएको छ । उक्त सामग्रीमा आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको, पार्टी नेताको आदेशमा लुटपाट गरिएको र महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले आरोपीलाई हिरा गर्न माग गरेको दाबी गरिएको छ ।
प्रस्तुत सामग्रीको क्याप्सनमा लेखिएको छ- ‘मोरङ बिराटनगरमा आज दिउँसो IME बैँक लुटेर भाग्दै गर्दा एक एमाले नेतालाई प्रहरीले पैसासहित पक्राउ गरेको छ, पक्राउ पर्ने बिराटनगर महानगर सेक्रेटरी रहेको प्रहरीले जनाएको । उनको बयान अनुसार केपीको आदेसमा पार्टीको खर्चको लागि यो काम गरेको हुँ भनेर बयान दिएका छन् । निज छुटाउन महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताले प्रहरीलाई रिहाई गर्न माग गरेको छन्, यदि रिहाइ नभए प्रहरिलाई कुट्ने धम्की दिएका छन् ।’

प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालहरु द्रुत गतिमा फैलिरहेको छ । आइएमइ लुटेर भाग्दैगर्दा एमाले नेता पक्राउ परेको भन्दै पोस्ट गरिएको तस्बिरको सत्यता के हो त ? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: फरक तस्बिरमा अतिरंजित सूचना
प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर र दाबीसँग सम्बन्धित दृश्यको सत्यता पुष्टि गर्न जाँच सुरु गर्यौँ । उक्त तस्बिरको स्क्रिनसटलाई रिभर्स इमेज सर्च गरी जाँच गर्दा तस्बिरको सन्दर्भबारे केही नतिजाहरु फेला परे ।
२०२४ जुन २ मा रिपब्लिका अनलाइन (myrepublica.nagariknetwork.com) ले यो तस्बिरलाई प्रकाशित गरेको देखिन्छ । एक वर्ष पुरानो समाचारमा उक्त तस्बिर उल्लेख गरिएको छ ।
समाचार अनुसार सुनसरीको हरिनगर गाउँपालिका-५, दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँसहित ३७ वर्षीय इसा अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोस्ट वसन्तपुरको चेकपोइन्ट टोलीले घुस्की नाका मा सुरक्षा जाँचका क्रममा हरिनगर-५ निवासी अन्सारीलाई पक्राउ गरेको जानकारी समाचारमा दिइएको छ ।
यही तस्बिर र जानकारी सरकारी समाचार संस्था रेडियो नेपाल (nepaltvonline.com) अनलाइन संस्करणमा पनि प्रकाशित भएको देखियो । २०८१ जेठ २० मा प्रकाशित तस्बिर र समाचार सामग्री नेकपा (एमाले) र यसका नेताहरुसँग सम्बन्धित छैन । यो केबल एक व्यक्ति र अवैध रकम बरामदको पुरानो घटना हो ।
सत्तारूढ नेकपा (एमाले) र यसका नेताहरुसँग जोडिएको घटना भन्दै पोस्ट गरिएको विवरण कुनैपनि वास्तविक घटनासँग सम्बन्धित देखिएन । फेला परेको तस्बिर र घटनामा एमाले वा यसको कुनै पनि नेताको प्रत्यक्ष संलग्नताको प्रमाण भेटिएको छैन ।
निष्कर्ष
‘आइएमइ लुटेर भाग्दै गर्दा एमाले नेता पक्राउ’ र ‘पार्टी नेताको निर्देशनमा लुटपाट गरिएको’ भन्ने दाबी पूर्णतः भ्रामक छन् । २०८१ जेठमा सुनसरीमा भएको पक्राउ घटनालाई तोडमोड गरी प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीको नाम जोडेर सामाजिक सञ्जालमा अतिरंजित सूचना फैलाइएको पुष्टि हुन्छ ।