Logo

Oct 29 2026

Fact Check: के प्रधान सेनापतिले सरकारलाई चेतावनी दिएका हुन्? सेनाले जारी नै नगरेको सन्देश सामाजिक संजालमा भाइरल

Fact Check: के प्रधान सेनापतिले सरकारलाई चेतावनी दिएका हुन्? सेनाले जारी नै नगरेको सन्देश सामाजिक संजालमा भाइरल

  • नेपाली सेनाको सन्देश भन्दै केही पोस्टहरु सामाजिक संजालमा भाइरल भएका छन् । तर, दाबीसहितको सामग्रीलाई रुजू गर्दा सेनाले जारी नै नगरेको सन्देशलाई प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिरसँग समाजिक संजालमा फैलाइएको देखियो । 

    दाबी समीक्षा

    लक्ष्मण शाही नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर जोडिएको छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘Breaking News, नेपाली सेनाको सरकारलाई चेतावनी, रक्तपात विहिन सत्ता राजालाई सुम्पिन अनुरोध, नत्र जे पनि हुनसक्छ, प्रधान सेनापति अशोकराज सिग्देल ।’

    त्यस्तै Bikash Maharjan नामक फेसबुक आइडीमा पोस्ट गरिएको सामग्रीमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर पोस्ट गरिएको छ । यो तस्बिरसँगै लेखिएको छ- ‘नेपाली सेनाले अन्ततः आफ्नो स्थिति स्पष्ट गरेको छ ! हामी राष्ट्रको सेना हौँ, सरकारको सेना होइनौँ । भोलि जनताले जुन निर्णय गर्छन् हामी मान्न तयार छौँ ।’

     

    Sena RUJU.png

     

    यस्तै सामग्री हाम्रो राजा हाम्रो देश नामक टिकटक आइडीमासमेत पोस्ट गरिएको छ । यो सामग्रीमा पनि प्रधानसेनापति सिग्देलको तस्बिर र ‘हामी सरकारको सेना होइनौँ’ भन्ने सन्देश लेखिएको छ । 

    यतिमात्र होइन, नेपाली सेनाले आफ्नो स्थिति स्पष्ट गरेको भन्दै यस्ता पोस्टहरु सामाजिक संजालमा व्यापक फैलिसकेका छन् । 

    के नेपाली सेनाले ‘हामी सरकारको सेना होइनौँ’ भन्ने वाक्यांशसहित सन्देश दिएको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: सेनाले जारी नै नगरेको सन्देश सामाजिक संजालमा भाइरल

    २०८१ फागुन २५ गते ​पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणपछि काठमाडौँ फर्किएका थिए । पूर्वराजाको स्वागतमा राजावादी समूहहरुले ठूलो भीड काठमाडौँ विमानस्थलमा जम्मा भएको थियो । यसैबीच, सामाजिक संजालमा प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर जोडिएको दाबी भाइरल भएको देखियो । 

    दाबीको जाँचका क्रममा हामीले नेपाली सेनाका पछिल्ला सन्देशहरु नियाल्यौँ । तर, यो सामग्री तयार पार्दासम्म सेनाले ‘हामी सरकारको सेना होइनौँ’ भन्ने वाक्यांशसहितको सन्देश जारी गरेको देखिएन ।  

    अर्कतर्फ, २०८१ चैत्र ६ गते नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरेको पाइयो । उक्त विज्ञप्तिमा सेनाले संविधानप्रदत्त जिम्मेवारी पालनामा सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको देखिन्छ । सेनाको विज्ञप्तिमा लेखिएको छ-  ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’

     

    Nepali Sena Press Release.jpg

     

    नेपाली सेनासम्बन्धी जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू प्राप्त गर्न र सम्प्रेषण गर्नसमेत उक्त विज्ञप्तिमा नेपाली सेनाले अनुरोध गरेको छ  । यसबारेक, सेनाले आधिकारिकरुपमा  ‘हामी सरकारको सेना होइनौँ’ भन्ने सन्देश दिएको तथ्यप्रमाण फेला परेन ।

    निष्कर्ष

    प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिरसँगै भाइरल भएको वाक्यांश नेपाली सेनाको आधिकारिक सन्देश होइन । राजावादी समूहहरुले काठमाडौँमा प्रदर्शन गरेकै दिन सेनाले जारी नै नगरेको सन्देशलाई प्रधानसेनापतिको तस्बिरसँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखियो ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend