‘नेपाल भर्सेस् इन्डियन आर्मी’ लेखिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । तर, भिडियोलाई रुजू गर्दा नेपालसँग असम्बन्धित दृश्यलाई नेपालसँग जोडेर सामाजिक भ्रामक बनाइएको पाइयो ।
दाबी समीक्षा
MD Arman aalarm लगायतका टिकटक अकाउन्टमा सेनासँग सम्बन्धित दृश्य पोस्ट गरिएको छ । उक्त भिडियोमा सेनाहरूबीच बादविवाद चलिरहेको र मुडभेडको अवस्था सृजना हुन लागेको जस्तो देखिन्छ ।
प्रस्तुत भिडियोसँगै रहेको थमनेलमा बादविवाद गरिरहेका सैनिकहरु नेपाली सेना र भरतीय सेना रहेको सन्देश दिइएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल भर्सेज इन्डियन आर्मी ।’
एक साताअघि पोस्ट गरिएको सामग्रीमा २० हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्तालेले रियाक्ट गरिसको देखिन्छ । त्यस्तै दाबीसहितको भिडियोलाई लाखौँले हेरिसकेका छन् ।
प्रस्तुत भाइरल सामग्रीले दुबै छिमेकी देशका सेनाबीच सीमामा झडप एवं मुडभेडको अवस्था सृजना भएको सन्देश दिएको छ । नेपाल र भारत सबैभन्दा धेरै सीमा जोडिएका छिमेकी राष्ट्र हुन्, साथै दुबै मुलुकबीच खुला सीमा हुनुका साथै दुबै देश र नागरिकबीच गहिरो सम्बन्ध रहेको छ ।
यही सन्दर्भमा ‘नेपाल भर्सेस् इन्डियन आर्मी’ लेखेर सामाजिक संजालमा फैलाइएको सामग्री अत्यन्तै संवेदनशील छ । त्यसैले हामीले दाबीसहितको सामग्रीमा रहेको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
तथ्यजाँच: नेपालसँग असम्बन्धित भिडियोमा जोडियो भ्रामक दाबी
पछिल्लो समय भारत–पाकिस्तानबीचको तनाब फेरि तीव्र बनेको छ । जसको मुख्य कारण जम्मु–कश्मीरमा भएको आतंकी हमला हो। २२ अप्रिल २०२५ मा जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना हिन्दू पर्यटक मारिएका थिए । भारतले यस हमलाको दोष पाकिस्तान समर्थित आतंकी समूहहरूलाई दिएको थियो ।
भारतले ७ मे २०२५ मा भारतले ‘अप्रेसन सिंदूर’ मार्फत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा मिसाइल हमला गरेको थियो । अर्कोतर्फ पाकिस्तानले यसलाई युद्धको कार्य भनेको छ र जवाफी कारबाहीको चेतावनी दिएको थियो ।
यही समयमा फैलिरहेको दाबीसहितको सामग्रीमा नेपाली र भारतीय सेनाबीच सीमामा झडप एवं मुडभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ । दाबीसहितको सामग्रीको प्रकृतिका आधारमा हामीले सबैभन्दा पहिले बादविवादको भिडियोको मूल सन्दर्भ पत्ता लगाउने काममा लाग्यौँ ।
यसका लागि हामीले ‘Border Tension’ ‘Indian Army’ लगायतका किवर्डहरूलाई युट्युबमा सर्च गर्यौँ । किवर्ड सर्चको नतिजास्वरुप XVGWHALE VVS.DIAMONDS नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो ।
तीन वर्षअघि अर्थात् ११ मे २०२० मा पोस्ट गरिएको उक्त भिडियो नै एउटा सानो अंश माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । तर, दाबी गरिएकोजस्तो उक्त झडप नेपाल र भारतीय आर्मीसँग सम्बन्धित छैन । भिडियोमा देखिएको विवादको दृश्य भारतीय सेना र चिनियाँ सेनासँग सम्बन्धित छ ।
युट्युब च्यानलमा दिइएको जानकारी अनुसार सन् २०२० मा चीन (तिब्बत)–भारत सीमामा भारतीय सेना र चिनियाँ सेनाबीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । तीन वर्ष पुरानो सोही दृश्यलाई नेपाली सेनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
फेला परेका प्रस्तुत तथ्यका आधारमा हामीले अन्य स्रोतहरूको खोजी गर्नतिर केन्द्रीत भयौँ । खोजीका क्रममा प्रस्तुत भिडियोमाथि थुप्रै तथ्यजाँच भइसकेको पाइयो । विश्वचर्चित संचार संस्था एफपीले फरक विषयमा सोही भिडियोमाथि गरेको तथ्यजाँच अनुसार भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच भइरहेको मौखिक मुठभेडको भिडियो १३ जनवरी २०२० अघि नै इन्टरनेटमा पोस्ट भएको देखिन्छ ।
चिनियाँ सेनाले अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)सँग झगडा गरिरहेको सन्दर्भमा प्रस्तुत भिडियोको खिचिएको थियो । इन्डो-तिब्बत सीमा पुलिस एक भारतीय अर्धसैनिक इकाई हो, जसले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश सहित भारतको पाँच सीमावर्ती राज्यहरूमा भारत-चीन सीमाको रक्षा गर्दछ ।
चिनियाँ सेना र अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)को मौखिक मुठभेडको भिडियोलाई नेपालसँग जोड्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । नेपाली सेना तथा काठमाडौँ महानगर प्रमुख बानेल शाह र उक्त पुरानो मौखिक मुठभेड एक आपसमा सम्बन्धित छैनन् ।
निष्कर्ष
‘नेपाल भर्सेस् इन्डियन आर्मी’ लेखिएको भाइरल भिडियोले भ्रामक सन्देश दिएको छ । चिनियाँ सेना र भारतस्थित अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)बीच भएको मौखिक मुडभेडको पुरानो दृश्यलाई वर्तमान सन्दर्भमा भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।