दाबी: अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भएको र अमेरिका सनातनमय बनिरहेको छ ।
जाँच-नतिजा: गलत
सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भएको र अमेरिका सनातनमय बनिरहेको दाबी गरिएको छ ।
एक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा मन्त्र पाठ भइरहेको भिडियो देख्न सकिन्छ । उक्त भिडियोसँगै जोडिएको थमनेलमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबी गरिएको छ ।
ह्वाइट हाउसमा रुद्री बाचन भएको हो?
दाबीसहितको सामग्रीमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भएको र अमेरिका सनातनमय बनिरहेको दाबी गरिएको छ । भिडियोसहित सामाजिक संजालमा फैलाइएको उक्त सामग्रीको जाँच गर्ने क्रममा सबैभन्दा पहिले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
यसका लागि सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको स्क्रिनसट लियौँ र उक्त स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्यौँ । सर्चका थुप्रै नतिजाहरु फेला परे, जसमध्ये एउटा भिडियो Hindu Purohit Sangh नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको देखिन्छ ।
२६ मे २०१८ मा पोस्ट गरिएको उक्त भिडियोसँगै एउटा क्याप्सन पनि लेखिएको छ । भिडियोको क्याप्सन अनुसार क्रोएशियामा ४०० भन्दा बढी युरोपेलीहरूले श्री रुद्रम र चमकम मन्त्र बाचन गरेका थिए । युरोपेली वेद एसोसिएसनको आयोजनामा विश्व शान्तिका लागि उक्त यज्ञ आयोजना गरिएको थियो ।
प्रारम्भिक जाँचका क्रममा फेला परेको जानकारीका आधारमा हामीले ‘Shri Rudram and Chamakam in Croatia’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Whatsapp Status Videos नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
पाँच वर्षअघि अर्थात् ७ अगस्ट २०१८ मा पोस्ट गरिएको यो भिडियोमा पनि क्रोएशियामा श्री रुद्रम र चमकम मन्त्र प्रस्तुत भएको र ४०० भन्दा बढी युरोपेली सहभागि भएको जानकारी दिइएको छ ।
जाँचका क्रममा फेला परेका दुईवटै भिडियो र त्यसमा रहेको जानकारी एउटै भएपछि हामी अन्य स्रोतको खोजीमा लाग्यौँ । यसका लागि हामीले गुगलमा ‘Shri Rudram and Chamakam in Croatia’ वाक्यांशलाई सर्च गर्यौँ । सर्चको नतिजास्वरुप थुप्रै सामग्रीहरु फेला परे ।
प्रस्तुत भिडियो विभिन्न समय फरक-फरक दाबीहरुका साथ सामाजिक संजालमा फैलिनेगरेको पाइयो । भारतसहित विभिन्न देशमा फैलिएको उक्त भिडियोको वास्तविकतामाथि थुप्रै तथ्यजाँच भइसकेको देखिन्छ । ती तथ्यजाँचहरुमा पनि उक्त भिडियो क्रोएशियाकै रहेको जानकारी दिइएको छ ।
हामीले स्रोतका रुपमा reuters.com, Indiatoday.in, boomlive.in लगायतका थुप्रै संचार माध्यममा प्रकाशित तथ्यजाँच नियाल्यौँ । यी सबै तथ्यजाँचका निष्कर्ष र हामीले फेला पारेका स्रोतहरुको जानकारी एकआपसमा मेल खाएका छन् ।
प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको भिडियो २०१८ मा युरोपियन वेद एसोसिएसनले आयोजना गरेको मन्त्र जप कार्यक्रम हो । पाँच वर्ष पूरानो फरक सन्दर्भको भिडियोमा ‘अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबी’सहित सामाजिक संजालमा फैलाइएको देखिन्छ ।