बालेनले रवि लामिछानेलाई साथ दिएको भन्दै यो दृश्य सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, भिडियोलाई रुजू गर्दा पुरानो र फरक सन्दर्भको दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको देखियो ।
दाबी समीक्षा
It's News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा काठमाडौँ महानगरका मेयर बालेन शाह देखिएका छन् । त्यहाँ भीड जम्मा भएको र बालेनले मानिसहरुसँग कुराकानी गरिरहेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ ।
रवि लामिछानेको समर्थनमा मेयर बालेन शाह अदालतको थुनछेक बहसमै पुगेको दाबी गरिएको छ । भिडियोसँगै जोडिएको अडियोमा भनिएको छ- ‘रवि लामिछानेलाई काठमाडौँमा ओली र देउवाले फसाउन खोजेपछि आक्रोश हुँदै काठमाडौँका मेयर बालेन शाह पुगे थुनछेक बहसमा ।’
दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । ३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेको भिडियोलाई हजारौँले हेरिसकेका छन् ।
के बालेनले रवि लामिछानेलाई साथ दिएका हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: पुरानो भिडियोमा जोडियो गलत दाबी
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा चलिरहेको छ । सोही मुद्दा काठमाडौँ जिल्ला अदालतमा पनि विचाराधीन छ । यसअघि १५ जनवरी २०२५ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस सकिएपछि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिइएको थियो ।
यही सन्दर्भमा ठमाडौँ महानगरका मेयर बालेन शाहले रवि लामिछानेलाई साथ दिन थुनछेक बहसमै पुगेको दाबी फैलाइएको छ । तर, दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो रवि लामिछानेको मुद्दासँग सम्बन्धित रहेको पाइएन ।
भाद्र २०७९ मा काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको संरचनामा डोजर चलाएको थियो । अल्फाबिटामा डोजर चलाउनुअघि बालेन आफैँ फिल्डमा पुगेर संचालकहरुसँग चर्काचर्की गरेका थिए । पछि महानगर प्रमुख बालेनकै उपस्थितिमा अल्फाबिटाको संरचनामा भत्काइएको थियो ।
जाँचका क्रममा अल्फाबिटामै बालेन पुगेको भिडियोहरु विभिन्न युट्युब च्यानलमा फेला परे । जसमध्येको एउटा भिडियो Onlinetv Nepal युट्युब च्यानलमा भेटियो । दुई वर्षअघि अर्थात् अगस्ट २०२२ मा पोस्ट गरिएका भिडियोहरु र दाबीसहित पोस्ट गरिएका भिडियोहरुमा समानता देख्न सकिन्छ ।
त्यस्तै यो सामग्री तयार पार्दासम्म काठमाडौँ महानगरका मेयर बालेन शाहले रवि लामिछानेलाई साथ दिएका छैन । उनले कुनैपनि माध्यमबाट रवि लामिछानेको पक्षमा अभिव्यक्ति वा कुनै घोषणा गरेका छैनन् ।
अर्कोतर्फ रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेनसँग सहयोग मागेको समाचारहरु विभिन्न संचार माध्यममा प्रकाशित भएका थिए । तर, बालेनले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
२०८१ पुष १० गते अनलाइन खबर (onlinekhabar.com) मा प्रकाशित समाचार अनुसार रवि लामिछाने र बालेनलाई जोडेर फेक स्क्रिनसट सामाजिक सञ्जालमा फैलाएपछि बालेनले असन्तुष्टि जनाएका थिए । समाचारमा लेखिएको छ- ‘लेख्दै नलेखेको कुरा भाइरल गराइएपछि मेयर बालेनको सचिवालयले झुट फैलाउन खोजिएको भन्दै त्यसलाई नरोकिए कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको थियो ।’
निष्कर्ष
बालेनले रवि लामिछानेलाई साथ दिएको भन्दै यो दृश्य सामाजिक संजालमा पोस्ट भ्रामक छ । यो सामग्री तयार पार्दासम्म बालेन शाहले रवि लामिछानेको पक्षमा कुनै अभिव्यक्ति दिएका छैनन् । बालेन देखिने पुरानो र असम्बन्धित भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको देखियो ।