
'अर्थ चौतारी' नामक फेसबुक पेजबाट एउटा भिडियो पोस्ट भएको छ, जसको शीर्षकमा "चुनाव हारेपछी आँखा भरी आँसु पार्दै केपी ओलि पहिलोपटक मिडियामा, यस्तो भने नयाँ सरकार बारे" दाबी गरिएको छ । यो तथ्य जाँच तयार पार्दासम्म उक्त भिडियोले १.८ मिलियन (१८ लाख) भ्युज पाइसकेको छ ।
दाबी समीक्षा
हालै सम्पन्न २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा यो भिडियोलाई भाइरल गराइएको हो । २०८२ फागुन २५ गतेसम्मको तथ्याङ्क अनुसार प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जितेर ठूलो विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले १७ सिट जितेको छ। यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जम्मा ८ सिटमा खुम्चिँदै चुनावमा ठूलो हार व्यहोरेको छ।
एमालेले व्यहोरेको यही अनपेक्षित हारको सन्दर्भलाई जोडेर पार्टी अध्यक्ष केपी शर्मा ओली भावुक हुँदै रोएको भन्दै यो भिडियो गलत सन्दर्भमा प्रचार गरिएको हो।
तथ्यजाँच
हामीले भिडियोका मुख्य दृश्यहरू (Key-frames) निकालेर रिभर्स इमेज सर्च (Reverse Image Search) गर्यौं। साथै, भिडियोमा बोलिएका शब्दहरू प्रयोग गरी कि-वर्ड सर्च गर्दा ‘देखापढी स्टोरिज’ युट्युब च्यानलमा अपलोड भएको मूल भिडियो फेला पर्यो ।

वास्तविक भिडियो फागुन २१ को निर्वाचनपछिको नभई करिब एक दशक पुरानो (३ अगस्ट २०१६) हो। यो देखापढी स्टोरिजले लिएको "प्रधानमन्त्रीको बिदाई अन्तरवार्ता" को अंश हो, जसमा तत्कालीन समयमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओलीले यो अन्तर्वार्ता दिएका थिए । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले पदबाट राजीनामा दिएको घोषणा थिए । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
निष्कर्ष
फागुन २१ को चुनाव हारेपछि केपी ओलीले आँसु झार्दै मिडियामा बोलेको भनेर 'अर्थ चौतारी' ले भाइरल गराएको दाबी पूर्णरूपमा भ्रामक छ। यो भिडियो अगस्ट २०१६ मा प्रधानमन्त्रीबाट बिदा हुँदा देखापढी स्टोरिज’ युट्युब च्यानललाई दिइएको अन्तरवार्ताको पुरानो अंश हो।