Logo

Oct 28 2026

Fact Check: के रास्वपा समर्थकद्वारा पार्टी परित्याग गर्नेको संख्या ८ हजार नाघेको समाचार कान्तिपुर दैनिकले छापेको हो?

Fact Check: के रास्वपा समर्थकद्वारा पार्टी परित्याग गर्नेको संख्या ८ हजार नाघेको समाचार कान्तिपुर दैनिकले छापेको हो?

  • पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा कान्तिपुर दैनिकको समाचार भन्दै एउटा तस्बिर निकै सेयर भइरहेको छ । उक्त तस्बिरमा "रास्वपा समर्थकद्वारा पार्टी परित्याग गर्नेको संख्या ८ हजार नाघ्यो" भन्ने मुख्य शीर्षक राखिएको छ । समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले पार्टी परित्याग गर्ने क्रम तीव्र रुपमा बढेको र यो संख्या ८ हजार नाघेको दाबी गरिएको छ ।

    सन् २०२६ जुन ३ मा फेसबुकमा 'Laxman Dhami' नामक प्रयोगकर्ताले सेयर गरेको पोस्टमा हालसम्म ४११ लाइक्स र ६२ भन्दा बढी कमेन्ट आइसकेका छन् । त्यसैगरी, २०२६ जुन ५ मा 'Rai Namni' नामक अर्का प्रयोगकर्ताले समेत सोहि तस्बिरलाई सेयर गरेको देखिन्छ । यो पोस्ट विभिन्न सामाजिक सञ्जालका ग्रुपहरुमा समेत शृङ्खलाबद्ध रूपमा सेयर भइरहेको छ । [अर्काइभ १] [अर्काइभ २]

    तर, के साँच्चै कान्तिपुरले त्यस्तो समाचार छापेको हो त? वास्तविकता पत्ता लगाउन हामीले यसको तथ्य जाँच गरेका छौँ ।

    तथ्यजाँच

    सबैभन्दा पहिला हामीले उक्त भाइरल तस्बिरलाई नियालेर हेर्‍यौँ । पत्रिकाको पहिलो पृष्ठ दाबी गरिएको उक्त तस्बिरमा हाम्रो नजर त्यहाँ राखिएको मितिमा गयो । त्यहाँ नेपाली मितिमा ‘मंगलबार, असार ३, २०८१’ र अङ्ग्रेजीमा ‘Tuesday, June 17, 2025’ लेखिएको छ । दुई फरक वर्षका मितिहरु एउटै संस्करणमा हुनुले यो तस्बिर सम्पादन गरिएको हो भन्ने प्रारम्भिक प्रमाण दिन्छ ।

    unnamed.png

    त्यसपछि हामीले उक्त समाचारको भित्री दाबीहरुको अध्ययन गर्‍यौँ । समाचारमा कुनै अज्ञात 'सार्वजनिक तथ्याङ्क' लाई उद्धृत गर्दै हालसम्म करिब ८ हजार जनाले सदस्यता त्यागेको वा सक्रिय संलग्नता अन्त्य गरेको भनिएको छ । तर, समाचारमा कुनै पनि आधिकारिक स्रोत वा व्यक्तिको नाम खुलाइएको छैन ।‍

    हामीले भाइरल तस्बिरको लेआउट र सक्कली कान्तिपुर दैनिकको लेआउट तुलना गर्‍यौँ । भाइरल तस्बिरको अङ्ग्रेजी मितिमा उल्लेख भएको जुन १७, २०२५ को कान्तिपुरको सक्कली पहिलो पृष्ठ हेर्दा दाबी गरिएको तस्बिरसँग कुनै मेल खाँदैन । जुन १७, २०२५ को कान्तिपुरको आवरण पृष्ठको मुख्य समाचार नै फरक छ । उक्त दिनको मुख्य शीर्षक "आलमको (अ)न्यायमा न्याय परिषद्को मौनता" रहेको छ ।

    unnamed (1).png

    यसबाहेक, हामीले कान्तिपुरको आधिकारिक वेबसाइटको अभिलेखमा उक्त शीर्षकको समाचार भए/नभएको एकिन गर्‍यौँ । तर, वेबसाइटमा हालसम्म उक्त शीर्षक र प्रकृतिको कुनै पनि समाचार प्रकाशित भएको फेला परेन ।

    अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताबारे सत्यतथ्य बुझ्न हामीले अन्य समाचारहरु खोज्यौँ । मिति २०८३ जेठ २४ गते 'नयाँ पत्रिका' दैनिकमा प्रकाशित समाचार अनुसार, रास्वपाका संगठित सदस्यको संख्या घट्नुको साटो बढिरहेको देखिन्छ । नयाँ पत्रिकाको समाचारको शीर्षक छ — "पाँच लाख नाघे रास्वपाका संगठित सदस्य, दैनिक दुई हजार थपिँदै" । उक्त समाचारमा निर्वाचनपछि रास्वपाको सदस्यता लिनेको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ । यस विषयमा सेतोपाटीले पनि समाचार प्रकाशित गरेको छ ।

    निष्कर्ष

    हाम्रो तथ्यजाँचबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको कान्तिपुर दैनिकको 'पहिलो पृष्ठ' को तस्बिर पूर्ण रूपमा नक्कली र भ्रामक रहेको पुष्टि हुन्छ । डिजिटल सफ्टवेयरको प्रयोग गरी कान्तिपुरको अन्य कुनै संस्करणको लेआउटमाथि नक्कली शीर्षक र विवरणहरू राखेर यो तस्बिर तयार पारिएको हो । रास्वपाका ८ हजार समर्थकले पार्टी छाडेको भन्ने दाबी तथ्यहीन छ र कान्तिपुर दैनिकले यस्तो समाचार प्रकाशित गरेको छैन ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend