पछिल्लो समय टिकटकलगायत सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा गुगलका सीईओ सुन्दर पिचाइलाई कुनै कार्यालय भित्र हिँडिरहेको देखाइएको छ । उक्त भिडियोको माथि 'CEO OF GOOGLE VISIT NEPAL' र 'THANK YOU BALEN SARKER' लेखेर वर्तमान प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारको पालामा उनी नेपाल आएको दाबी गरिएको छ ।
तथ्य: गुगलका सीईओ सुन्दर पिचाइ नेपाल आएका छैनन् । भाइरल भिडियो कम्तीमा ३ वर्ष पुरानो हो र यसको नेपाल भ्रमणसँग कुनै सम्बन्ध छैन ।
सन्दर्भ
मिति २०८३ बैशाख २४ गतेका दिन 'नेपालखबर' लगायतका सञ्चारमाध्यममा गुगलसँगको रणनीतिक साझेदारीमा चोभार र वीरगन्जमा डेटा सेन्टर बन्ने समाचार प्रकाशित भएको थियो ।
त्यसपछि सामाजिक सन्जालमा यो कुरा निकै भाइरल बनको थियो । तर, यसमा बुझ्नुपर्ने महत्त्वपूर्ण तथ्य के हो भने यो गुगलको आफ्नै डेटा सेन्टर होइन र गुगलले नेपालमा आफ्नो 'रिजन' वा 'जोन' खोल्न लागेको पनि होइन । बिचुटेन डेटा भोल्ट नामक नेपाली कम्पनीले गुगल क्लाउडको प्रविधि र सर्भिस प्रयोग गरेर अगस्ट २०२६ सम्ममा डेटा सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । यसमा AMD र Micron जस्ता कम्पनी प्राविधिक साझेदार छन् ।
तथ्यजाँच
भाइरल भिडियोमा सुन्दर पिचाइ कुनै कर्पोरेट कार्यालयमा कर्मचारीहरूसँग मुस्कुराउँदै हिँडिरहेको देखिन्छ । यसको सत्यता बुझ्न हामीले भिडियोका मुख्य दृश्यहरूलाई टुक्र्याएर Reverse Image Search गर्यौं । अनुसन्धानका क्रममा यो भिडियो कम्तीमा ३ वर्ष अगाडि नै इन्टरनेटमा प्रकाशित भइसकेको पुष्टि भयो । युट्युबमा 'Sukshana' नामक च्यानलले २१ डिसेम्बर २०२२ मा नै यो भिडियो अपलोड गरेको फेला पर्यो । उक्त युट्युब भिडियोको शीर्षकमा यसलाई बैंगलोरस्थित गुगलको कार्यालयको भनिएको छ ।
साथै सुन्दर पिचाइको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट वा गुगलको आधिकारिक प्रेस रिलिजमा उनी नेपाल भ्रमणमा आएको कुनै पनि जानकारी वा समाचार सार्वजनिक भएको छैन ।
भिडियोमा 'थ्याङ्क यु बालेन सरकार' लेखेर वर्तमान प्रधानमन्त्री बालेन शाहको सरकारले उनलाई ल्याएको जस्तो भान पार्न खोजिएको छ, जुन आधारहीन छ ।
निष्कर्ष
गुगलका सीईओ सुन्दर पिचाइ नेपाल आएको भन्दै सामाजिक सञ्जालमा फैलिएको दाबी पूर्णरुपमा भ्रामक छ । यो कम्तीमा ३ वर्ष पुरानो (सन् २०२२ मै इन्टरनेटमा उपलब्ध) भिडियो हो । पुरानो भिडियोलाई गलत सन्दर्भ दिएर अफवाह फैलाइएको देखिन्छ ।