सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा भाइरल भइरहेको छ जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कारण प्रधानमन्त्री बालेन शाहले पद गुमाउन लागेको दाबी गरिएको छ । [अर्काइभ]
फेसबुकमा 'जीवन राई' नामक एकाउन्टबाट मे २७, २०२६ बिहान ११:३० बजे पोस्ट गरिएको उक्त भिडियोको क्याप्सन र अडियोमा भनिएको छ:
"रविकै कारणले गर्दाखेरि प्रधानमन्त्री बालेन शाहको पद चैत हुने भएको छ दर्शकवृन्द । बालेन शाहले पाँच वर्ष चलाउनुपर्ने प्रधानमन्त्री अब केही समयमा चैत हुने भइसकेको छ ।"
भिडियोमा "बालेन आउट रबी ईन", "शक्तिशाली गठबन्धन मोदी रवि विजय", र "चौकाउने हार बालेन शाह आँसुमा" जस्ता ग्राफिक्सहरू समेत प्रयोग गरिएका छन् । यो तथ्याजाँच तयार पार्दासम्म यो भिडियोले ७ लाख ५४ हजारभन्दा बढी भ्युज, ८,९०० भन्दा बढी लाइक, ३५२ भन्दा बढी कमेन्ट र २२९ भन्दा बढी सेयर प्राप्त गरिसकेको छ, जसले जनमानसमा एक प्रकारको त्रास र भ्रम पैदा गरेको छ ।
तर के साँच्चै रवि लामिछानेका कारण प्रधानमन्त्री बालेन शाहले पद गुमाउँदैछन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच
दाबीसहितको सामग्रीलाई रुजू गर्दा हामीले उक्त दाबी पूर्ण रूपमा आधारहीन र भ्रामक रहेको पायौँ ।
हामीले उक्त समाचारको जानकारीलाई आधार मानेर 'किवर्ड सर्च' (Keyword Search) मार्फत मूलधारका समाचार माध्यमहरूमा यसबारे कुनै आधिकारिक जानकारी छ कि भनी परीक्षण गर्यौँ ।
नतिजा स्वरुप काठमाण्डु पोस्टमा प्रकाशित एउटा समाचार फेला पर्यो । जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए ।
यही राजनीतिक तथा कूटनीतिक भ्रमणको सन्दर्भमा सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले यस्ता प्रकृतिका दाबीहरू पोस्ट गरिएको देखिन्छ ।
पुस १३, २०८२ मा रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच एउटै पार्टी (रास्वपा, चुनाव चिन्ह घण्टी) मा आबद्ध भएर चुनावमा जानेबारे ऐतिहासिक ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिपत्रको बुँदा नम्बर ४ मा स्पष्ट रूपमा लेखिएको छ-
'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।'
यो सहमतिअनुसार नै वर्तमान सत्ता साझेदारी चलिरहेको छ ।
भिडियोमा प्रयोग गरिएका 'बालेन आउट रबी ईन' लगायतका टेक्स्ट र ग्राफिक्सहरू केवल ध्यान तान्न (Clickbait) का लागि सम्पादन (Edit) गरेर राखिएका देखिन्छ । फरक सन्दर्भको पुरानो भिडियोलाई भ्रामक दाबीसहित फैलाइएको पाइयो ।
निष्कर्ष
हाम्रो तथ्यजाँचबाट यो प्रमाणित हुन्छ कि रवि लामिछानेका कारण प्रधानमन्त्री बालेन शाहको पद गुम्न लागेको भन्दै सामाजिक सञ्जालमा गरिएको दाबी पूर्ण रूपमा भ्रामक छ । भिडियोमा प्रस्तुत गरिएका अडियो र ग्राफिक्सहरू केवल भ्युज कमाउने र जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले सम्पादन गरिएको देखिन्छ । प्रधानमन्त्री बालेन शाह र रास्वपाबीचको सत्ता साझेदारी हालसम्म कायमै छ र सरकार परिवर्तनको कुनै आधिकारिक आधार छैन ।