सामाजिक सञ्जालमा पछिल्लो समय एउटा भिडियो सेयर गर्दै भारतीय प्रहरीले बाराको कलैया उपमहानगरपालिकास्थित नेपाली भूमिमा दादागिरी शैलीमा बन्दै गरेको संरचना भत्काएको दाबी गरिएको छ । उक्त भिडियोको क्याप्सनमा प्रधानमन्त्री बालेन्द्र साहले संसदमा "हामीले भारतीय जग्गा हडपेका छौँ" भन्ने अभिव्यक्ति दिएपछि भारतीय पक्षले दिनदिनै नेपाली भूमि मिचिरहेको र सरकार मौन रहेको दाबी गरिएको छ ।
सन् २०२६ जुन ३ तारिकमा साँझ ७ बजेर ४९ मिनेटमा फेसबुकमा ‘Gaurd of the Nation’ नामक पेजबाट पोष्ट भएको भिडियोमा खाकी रङको बर्दी लगाएका केही व्यक्तिहरू खनिएको जग वा खाल्डोभित्र पसेर निर्माणका लागि उठाइएको पिलरको फलामे डन्डीलाई बलजफ्ती बंग्याउने र ढाल्ने प्रयास गरिरहेको दख्न सकिन्छ । [अर्काइभ]
क्यापसनमा लेखिएको छ, “एकातिर हामी रास्वपा सभापति रवि लामिछानेलाई भारतमा स्वागत गर्यो भन्दै सामाजिक सञ्जालमा उफ्रि उफ्रि चर्चा गरिरहेका छौँ अर्कोतिर भारतीय पक्षले प्रधानमन्त्री बालेन साहले संसदमा 'हामिले भारतीय जग्गा हडपेको छौँ' भन्ने अभिव्यक्ति दिएपछि दिनदिनै नेपाली भूमि मिलिरहेको छ। सरकार मौन छ नेपाली जनता कोही बोल्दैनन्। भिडियोमा कलैया उपमहानगरपालिका महेशपुर, बारामा आज नेपाली भूमिमा बन्दै गरेको संरचना भारतीय प्रहरीको टोलीले दादागिरी शैलीमा भत्काउँदै।😢
”
तर के साँच्चै बारामा भारतीय प्रहरीले नेपाली भूमिमा संरचना भत्काएको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छाैँ ।
तथ्यजाँच
हामीले भाइरल भिडियोको वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिले भिडियोका केही दृश्यहरूलाई 'रिभर्स इमेज सर्च' गर्यौँ । यसरी खोज्ने क्रममा फेसबुकमा ‘Bara Update HD’ र ‘Bara Update’ नामक पेजबाट पोस्ट भएको एउटा लामो भिडियो फेला पर्यो, जसको क्याप्सनमा कलैया उपमहानगर र महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूबीच झडप भएको र दुवै तर्फका केही नगर प्रहरीहरू घाइते भएको प्रस्ट रूपमा लेखिएको छ ।
सामाजिक सञ्जालमा 'भारतीय प्रहरीको दादागिरी' भन्दै गलत दाबीसहित फैलाइएको भाइरल क्लिप र ‘Bara Update HD’ ले पोस्ट गरेको भिडियोसँग मेल खान गएको छ । भिडियोको २ मिनेट १६ सेकेन्डदेखि ३ मिनेट ०० सेकेन्डसम्मको क्लिप बिच समानता देख्न सकिन्छ ।

यस घटनाको विस्तृत विवरण र सन्दर्भ बुझ्न हामीले सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको खोजी गर्यौँ । २०८३ जेष्ठ १३ गते 'वीरगञ्ज एक्सप्रेस' र सोही प्रकृतिको समाचार 'ई-कृपा' मा प्रकाशित विवरणअनुसार बाराको कलैया उपमहानगरपालिका–२६ सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक सङ्घीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा कलैया र महागढीमाईका नगर प्रहरीबीच मङ्गलवार साँझ झडप भएको थियो ।
स्थानीय तह पुनर्संरचना भएपछि स्पष्ट सीमाङ्कन नहुँदा यी दुई पालिकाबीच लामो समयदेखि उक्त क्षेत्रको सिमानालाई लिएर विवाद रहँदै आएको छ । भिडियोमा देखिएको दृश्य सोही विवादका कारण महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड हटाउन खोज्दाको हो ।
यसरी आधिकारिक सञ्चारमाध्यमका रिपोर्ट र ओरिजिनल भिडियोको विश्लेषणबाट उक्त घटनामा भारतीय प्रहरीको कुनै पनि संलग्नता नरहेको र यो नितान्त दुई नेपाली स्थानीय तहबीचको आन्तरिक सिमाना विवाद भएको प्रस्ट हुन्छ ।
निष्कर्ष
सामाजिक सञ्जालमा गरिएको दाबी पूर्ण रूपमा भ्रामक छ । भिडियोमा देखिएको दृश्य भारतीय प्रहरीले नेपाली भूमि मिचेको नभई, बाराका कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूबीच सिमाना विवादमा भएको आन्तरिक झडपको हो ।