दाबी समीक्षा:
पछिल्लो समय बलिउड अभिनेता सञ्जय दत्तको नेपाल भ्रमणका क्रममा खिचिएका विभिन्न भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसैमध्ये उनको एउटा तस्बिरजसमा सञ्जय दत्त र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँगै पूजा गरिरहेको देखिन्छ। यो तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले "बलिउडको मुन्ना भाई जनकपुर दर्शन साथमा प्रचण्ड!!" भन्दै सेयर गरिरहेका छन्।
फेसबुकमा 'Online Janakpur2' नामक पेजबाट सन् २०२६ जनवरी ९ को बिहान ९:२६ मा सेयर गरिएको यो पोस्टमा हालसम्म (जनवरी ११ सम्म) ९,९०० भन्दा बढी लाइक, ३३० भन्दा बढी कमेन्ट र ३३ भन्दा बढी सेयर पुगिसकेको छ।
त्यसैगरी, 'Social Khabar' नामक अर्को फेसबुक पेजबाट पनि "बलिउडको मुन्ना भाई जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न पुग्नुभएको छ" भन्ने क्याप्सनसहित यो तस्बिर सेयर गरिएको छ। साथै 'Aayush alizeh fan' र 'सप्तरी खबर' जस्ता पेजहरूबाट समेत सोही दाबीका साथ यो फोटो पोस्ट गरिएको पाइएको छ।

के यो फोटो वास्तविक हो त? हामीले यसको वास्तविकता पत्ता लगाउन तथ्य जाँच गरेका छौँ।
तथ्य जाँच:
सबैभन्दा पहिले हामीले सञ्जय दत्त नेपाल आएको विषयमा प्रकाशित समाचारहरू हेर्यौँ। वि.सं. २०८२ पुस २४ (८ जनवरी २०२५) बिहीबार 'कान्तिपुर' मा प्रकाशित समाचार अनुसार, "बलिउड स्टार सञ्जय दत्त केशरमहल स्थित होटल वाराहीमा रहेको 'बादशाह क्यासिनो' उद्घाटन गर्न काठमाडौँ आएका थिए। क्यासिनो उद्घाटन गर्न आएका दत्तले प्रचण्डलाई समेत भेटेका थिए।" त्यसलगत्तै शुक्रबार उनले पशुपतिनाथको पूजा आराधना गरेका थिए र सोही दिन स्वदेश फर्किएका थिए।
हामीले सञ्जय दत्त जनकपुर पुगेर दर्शन गरेको वास्तविकता पत्ता लगाउन "Sanjay Dutt Janakpur" जस्ता कीवर्ड राखेर गुगल सर्च गर्यौँ, तर उनी जनकपुर गएको वा दर्शन गरेको कुनै पनि आधिकारिक समाचार फेला परेन।
२. फोटोको प्राविधिक जाँच:
दाबी गरिएको तस्बिर कहिलेको हो त? यो पत्ता लगाउन हामीले फोटोलाई 'रिभर्स इमेज सर्च' (Reverse Image Search) गर्यौँ, तर नतिजा स्वरूप हामीलाई भाइरल भएका दाबी पोस्टहरू मात्र फेला परे।
त्यसपछि हामीले यो फोटो AI बाट जेनेरेटड गरिएको हो कि होइन भनेर जाँच गर्यौँ। विभिन्न 'AI Image Detector Tool' को प्रयोग गर्दा निम्न नतिजा देखियो:
Hive Moderation: यसमा चेक गर्दा ९९.९% फोटो AI जेनेरेटेड रहेको संकेत (Flag) गरेको छ। साथै, यो फोटो 'Gemini 3' मोडलको प्रयोग गरी बनाइएको संकेत गरिएको छ।

Truthscan: यो टुलले पनि तस्बिरमा ८८% AI को सम्भावना रहेको देखाएको छ।

Google SynthID: हाम्रो तथ्यलाई थप पुष्टि गर्न हामीले गुगलको 'SynthID' टुल समेत प्रयोग गर्यौँ। यो टुलले पनि यो तस्बिर पूर्ण रूपमा गुगलको AI प्रयोग गरेर बनाइएको कुरा पुष्टि गरेको छ।

निष्कर्ष:
सामाजिक सञ्जालमा दाबीसहित फैलाइएको सञ्जय दत्त र प्रचण्डले पूजा गर्दै गरेको फोटो AI जेनेरेटेड हो। सञ्जय दत्तले आफ्नो नेपाल भ्रमणका क्रममा जनकपुर गइ पूजा गरेको कुनै जानकारी भेटिएन। प्रचण्ड र सञ्जय दत्तबीच काठमाडौँमा भेटघाट भए पनि दाबी गरिएको तस्बिरमा देखाइएको दृश्य भने सत्य होइन।