दाबी: सांसद सुहाङ नेम्वाङले भाषणमा भने-‘म मन्त्री भएँ भने, मलाई प्रधानमन्त्री दुई महिनाको लागि बनाइदियो भने जनताजति सप्पै लगेर अहिले कहाँ लडाईं परिराको छ नि, रुसतिर कता ! हो, युक्रेनतिर लगेर सप्पैलाई त्यहाँ फाल्दिने, फेरि प्लेनमा होइन, डब्बामा हालेर फाल्दिने । जनता कहिल्यै सुध्रिँदै सुध्रिँदैनन् ।’
दाबीमा जोडिएका सामग्री: सुहाङ नेम्वाङले भाषण गरिरहेको भिडियो र अडियो ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: फेसबुक, Susma Bantawa (किराँती)
तथ्यः सुहाङ नेम्वाङले गरेको भाषणको भिडियोमा अज्ञात अडियो जोडेर उत्पादित सामग्रीलाई सामाजिक संजालमा फैलाइएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: २०८१ बैशाख १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका थिए । सोही उपनिर्वाचनको प्रचारका क्रममा सुहाङ नेम्वाङले गरेको भाषणको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच : सुहाङ नेम्वाङले गरेको भाषणको भिडियो मूल अंश पनि फेसबुकमै फेला परेको छ । मूल भिडियोमा उनले भनेका छन्-
‘यहाँ चुनावको बेला मात्र आए, त्यसपछि कोही आएन भन्ने तपाईंहरूको कुराहरू जायज छ, यहाँ आउनुपर्छ । यहाँ पटक-पटक आएर तपाईंहरुसँग सरसल्लाह लिएर, तपाईंहरूसँग हातेमालो गरेर यो धेरै विकास हुनुपर्ने कुरा हो । त्यसमा ध्यान दिनुपर्छ तर हामीले के कुरालाई बोल्न हुँदैन भने बजेट त आएकै हो । बजेट आएको हो, योजना बनेको हो, आधारहरू तयार भाको हो । प्राविधिक कारणले गर्दाखेरी, सुशासनको कमजोरीको कारणले गर्दाखेरी त्यो हुन सकेन । तर त्यहाँबाट हामी उम्किन पाउँछौँ भन्न खोज्या होइन । हामीले आत्मसमीक्षा गर्नुपर्छ । किनभने घरमा तरकारी मात्र ल्याइदिएर त हुँदैन नि त । खाना बन्या छ कि छैन ? तपाईंले खान पाउनुभयो कि भएन त्यो पनि त हेर्ने हाम्रो होला नि त दायित्व । त्यो कुरा अब हामीले गर्नुपर्ने हुन्छ । अब पूरानो तरिकाले जानु भएन, नयाँ तरिकाले जानुपर्यो ।’
