दाबी: ‘१७००० को हत्यारा दलाल प्रचण्ड लास्ट अवस्थामा छन्, बाँच्ने अवस्था कम छ ।’
दाबीमा जोडिएका सामग्री: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकसँग उपचार गराइरहेको तस्बिरमा दाबीसहितको थमनेल जोडिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, tiktok.com/@dhrubarajbista नामक प्रयोगकर्ता ।
तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम अवस्थामा र बाँच्ने अवस्था कम रहेको दाबी कुनैपनि तथ्यबाट पुष्टि हुँदैन । उनले वीर अस्पतालका चिकित्सकसँग दाँतको उपचार गराइरहेको तस्बिरलाई दाबीसहित पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: १६ जेठ २०८१ मा नागरिकन्युज डटकमले प्रकाशित गरेको समाचारमा प्रधानमन्त्री दाँतको उपचार गराउँन वीर अस्पताल पुगेको जानकारी छ । उक्त समाचारमा देखिने तस्बिर र सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर एउटै हो ।
त्यस्तै यसअघि २६ वैशाख २०८१ मा ‘दाँतमा दुखाइको महसुस भएपछि’ प्रधानमन्त्री दाँच परीक्षणका लागि वीर अस्पताल पुगेको समाचार सरकारी संचार माध्यम गोरखापत्र अनलाइन डटकम र रेडियो नेपालले प्रकाशित गरेका थिए ।
प्रधानमन्त्रीले दाँतको उपचार गराइरहेको सन्दर्भमा निजी सचिवालय संचार माध्यमलाई उपलब्ध गराएको तस्बिरसँगै दाबीसहितका वाक्यांशलाई सामाजिक संजालमा पोस्ट गरिएको छ ।

तथ्यजाँच: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक दाँचको उपचार गराउँन वीर अस्पताल पुगेपछि नेपालखबर डटकमले उपचारमा संलग्न ‘एक चिकित्सक’लाई उदृत गर्दै समाचार प्रकाशित गरेको थियो ।
समाचारमा लेखिएको एउटा वाक्यांश यस्तो छ- ‘क्राउन हाल्नका लागि कटिङ गरी नाप लिइसकेको छ,’ उपचारमा संलग्न एक चिकित्सकले नेपालखबरलाइ भने, ‘३ वटा दाँतको कटिङ गरिएको हो तर क्राउन राखेपछि ४ वटै दाँतका लागि त्यसले काम गर्छ ।’