दाबी: ‘मेयर बालेन शाहलाई कारबाही गर्छौँ: केपी ओली ।’
दाबीमा जोडिएका सामग्री: पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको भिडियो । साथै ट्रकले फोहर झारिरहेको ब्याकराउण्ड दृश्य ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, tiktok.com/@basungrg00 प्रयोगकर्ता ।
तथ्य: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहतर्फ इंगित गर्दै ‘अर्काको ढोकामा फोहर फाल्ने’ व्यवहार असभ्य देखिएको टिप्पणी गरेका थिए । तर, अध्यक्ष ओलीले उक्त भिडियोमा ‘मेयर बालेन शाहलाई कारबाही गर्छौँ’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: २०८१ जेठ १९ गते राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहतर्फ संकेत केही अभिव्यक्ति दिएका थिए ।
उनले ‘मलाई छिमेकीसँग चित्त बुझेन, रिस उठ्यो भने घरको फोहरसोहोर जम्मा गरेर उसका ढोकामा राखिदेखिने ?’ भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।
यसअघि २०८१ जेठ १४ गते काठमाडौँस्थित सडक डिभिजन कार्यालयको ढोकामा काठमाडौं महानगरपालिककाले परिसर छिर्न अवरोध हुनेगरी फोहोर फालिदिएको थियो (यसका पछाडी लामो विवाद र घटनाक्रम जोडिएको छ) ।
ढोकामा फोहर फालेको घटनाका विषयमा सडक डिभिजन काठमाडौँले विज्ञप्ति प्रकाशित गर्दै गम्भिर आपत्ति जलाएको खबर सरकारी संचार माध्यम onlineradionepal.gov.np ले प्रकाशित गरेको छ । यही सन्दर्भमा केपी शर्मा ओलीले ‘मेयर बालेन शाहलाई कारबाही गर्छौँ’ भन्ने अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको हो ।

तथ्यजाँच: काठमाडौँस्थित सडक डिभिजनको ढोकामा काठमाडौं महानगरपालिककाले फोहर राखिदिएको घटनाको भिडियो Multimedia नामक फेसबुक पेजमा पोस्ट गरिएको छ । साथै केही शर्मा ओलीले फोहर फालेको विषयमा असन्तुष्टि जनाएको भिडियो Hulak Sanchar नामक फेसबुक पेजमा पोस्ट गरिएको भेटियो ।
यी दुबै भिडियोलाई जोडेर केपी शर्मा ओलीले ‘मेयर बालेन शाहलाई कारबाही गर्छौँ’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको हो । तर, उक्त भाषणमा केपी शर्मा ओलीले बालेनबारे कटाक्ष मात्र व्यक्त गरेका छन्, कारबाही गर्ने अभिव्यक्ति दिएका छैनन् ।
केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय बैठकलाई सम्बोधन गरेको पूरा भिडियो Balkot Official नामक युट्युब च्यानलमा पोस्ट गरिएको छ ।
फोहर फालेको प्रशंगमा ओलीले भनेका छन्- ‘म त छक्क पर्छु, कस्तो ? कति साह्रो कमजोर प्रवृति भएको होला मान्छेलाई । कसैले अर्काको ढोका लगेर फोहर फ्याँकीदिन्छ, यो गलत गर्यो भनेर कसैले भन्न सक्दैन, के हालत होला यो ? यो गलत हो, यस्ता क्रियाकलाप हुनुहुँदैन । स्वस्थ र सभ्य समाजका लागि असन्तुष्टि, आक्रोश, प्रतिकृया केही पनि देखाउने तरिका भनेको, मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहरसोहोर जम्मा गरेर लगेर उकका ढोकामा राखिदेखिने, फ्याँकिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेशनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरुको एउटा मण्डले हुन्छ, त्यो मण्डलेले वा जन्मिएछ एउटा बहादुर, क्या वात् लेख्छ । अनि अरु चुप..लागेर बस्छन्, झोक्राएर बस्छन् । यत्ति पनि सत्य भन्न सकिँदैन यो त सभ्य तरिका भएन, यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन । यो एउटा महत्वपूर्ण पोस्टमा बसेका मानिसहरुले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ? तर एउटा लाचारीको, त्यो लाचारीलाई फाइदा लिएर एनार्कीजमको बोलवाला भइराख्या छ । हामीले हाम्रो समाज एनार्कीस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो । दे आर भास्ट बिटुइन डेमोक्रेसी एन्ड एनार्कीजम । हामी डेमोक्रेसीलाई अगाडि बडाउँदै एनार्कीलाई होइन । त्यसो भएर हामी यस्ता कुरा, यि सबै पछौटेपनका कुरा हुन् । पछौटे चिन्तन, पछौटे संस्कार, यो सभ्य तरिका होइन । त्यसकारणले यस्ता यी मोनार्की भनेजस्ता एनार्की, एनार्की भनेजस्ता कुराहरु समय सान्दर्भिक हुनै सक्दैनन् । हामी एउटा सभ्य समाज, तोकतान्त्रिक समाज, न्यायपूर्ण समाज, शान्तिपूर्ण समाज यस्तो समाज बनाउन चहान्छौँ, समृद्ध समाज बनाउँन चहान्छौँ, यो कुराहरु पनि कोही बोल्दैन । कसले सम्झाउने त ? कोही बोल्दैन भने कसले सम्झाउने ?’