दाबी: ‘प्रधानमन्त्री प्रचण्ड भेट मेयर बालेन साह किन पुगे ?’
दाबीमा जोडिएका सामग्री: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भइरहेको तस्बिरसँगै थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्री प्रचण्ड भेट मेयर बालेन साह किन पुगे ?’
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, tiktok.com/@society_nepal नामक प्रयोगकर्ता ।
तथ्य: काठमाडौँ महानगरले झेलिरहेको पछिल्लो परिस्थितिकैबीच सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर वर्तमान सन्दर्भसँग सम्बन्धित छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर बालेन शाहबीच भेटवार्ता भएको पूरानो तस्बिरमा प्रश्नसहितको दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: पछिल्लो समय काठमाडौँ महानगरपालिका र सडक विभागबीचको असहमति सतहमा देखियो ।
२०८१ जेठ १२ गते काठमाडौं महानगरपालिकाको ट्रकले सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा धुलोसहितको फोहोर थुपारिदिएको थियो । यस कदमलाई सडक विभागले अमर्यादित भन्दै विज्ञप्ति जारी गर्यो ।
त्यस्तै २०८१ जेठ २१ गते न्युरोडको फुटपाथ विस्तारका लागि महानगरले भत्काइरहेको रोडलाई सडक विभागले पिच गरेको थियो । क्षेत्राधिकार र आरोप प्रत्यारोप विवादको श्रृंखला चलिरहेकै सन्दर्भमा ‘प्रधानमन्त्री प्रचण्ड भेट मेयर बालेन साह किन पुगे ?’ क्याप्सनसहितको तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भइरहेको तस्बिरसहितको समाचार १६ माघ २०७९ मा सेतोपाटी डटकम (setopati.com) लगायतका संचार माध्यमले प्रकाशित गरेका थिए ।
प्रस्तुत तस्बिरसहित २०७९ माघ १६ गते कान्तिपुर टिभी डटकम (kantipurtv.com) मा प्रकाशित समाचार अनुसार मेयर शाहको कार्यशैलीलाई लिएर काठमाडौँ नगरबासी संगठित रुपमै प्रदर्शनमा उत्रिन थालेको सन्दर्भमा प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको थियो ।
सोही सन्दर्भको तस्बिरलाई वर्तमान परिस्थितिसँग संकेत गर्दै माजिक संजालमा पोस्ट गरिएको पाइयो ।