दाबी: ‘दरबार हत्याकाण्ड गृहमन्त्री रबि लामिछानेले छानबिन समिति बनाउने वित्तिकै ऋषी धमलाको आक्रोश छानबिन हुनुपर्छ भन्दै आत्तियो ।’
दाबीमा जोडिएका सामग्री: भिडियोको थमनेलमा दाबीसहितको वाक्यांश जोडिएको छ । उक्त भिडियोमा पत्रकार ऋषी धमलाले दरबार हत्याकाण्ड पुन: छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक भिडियो, tiktok.com/@sarumagar1010 नामक प्रयोगकर्ता ।
तथ्य: गृह मन्त्रालय वा गृहमन्त्री रबि लामिछानेले दरबार हत्याकाण्ड सम्बन्धि कुनैपनि छानबिन समिति बनाएका छैनन् । दरबार हत्याकाण्डबारे पत्रकार ऋषी धमलाले राखेको व्यक्तिगत धारणा र अन्य ग्राफिक्स तस्बिरलाई गृहमन्त्री रबि लामिछानेसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: दरबार हत्याकाण्ड २०५८ जेठ १९ गते तत्कालीन नेपाली राजाको विरेन्द्र शाहको वंश विनाश हुनेगरी घटेको घटना हो । विश्वभर सनसनी मच्चायाको उक्त हत्याकाण्ड नेपालमा रहस्यमयी घटनाका रुपमा इतिहासमा दर्ज भएको छ ।
त्यतिबेला गठन गरिएको सरकारी छानबिन समितिले युवराज दिपेन्द्रलाई घटनाको आरोपी मानेको छ । उक्त दरबार हत्याकाण्डबारे प्रत्येक जेठ १९ गते नेपालका संचार माध्यमले चर्चापरिचर्चा गर्ने गर्दछन् ।
यही सन्दर्भमा दरबार हत्याकाण्ड गृहमन्त्री रबि लामिछानेले छानबिन समिति बनाएको सन्देश सामाजिक संजालमा फैलाइएको छ ।
तथ्यजाँच: दरबार हत्याकाण्ड भएको दिनलाई सन्दर्भ बनाएर २०८१ जेठ १९ गते रिपोर्ट्स क्लबले कार्यक्रम आयोजना गरेको थियो । यही क्रममा पत्रकार ऋषी धमला लगायतका व्यक्तिहरुले दरबार हत्याकाण्डको पुन: छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
यही धारणा राख्ने क्रममा खिचिएको भिडियोमा दरबार हत्याकाण्ड गृहमन्त्री रबि लामिछानेले छानबिन समिति बनाएको दाबी जोडिएको छ ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’समेत दरबार हत्याकाण्डको पुन: छानबिन गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, यसबारे सरकारले कुनैपनि छानबिन समिति गठन गरिसकेको छैन ।