दाबी: ‘विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्- युरोपियन टाइम्स’ ।
दाबीमा जोडिएका सामग्री: युरोपियन कमिशनका अध्यक्ष जीन क्लाउड जंकरको तस्बिरसँगै ‘विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा’ रहेको र उनीहरुले ‘देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई भोट दिने’ गरेको दाबी वाक्यांश लेखिएको छ । साथै यो वाक्यांश ‘युरोपयन टाइम्स’ साभार गरिएको संकेश दिइएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: tiktok.com/@jiban.jiban नामक टिकटक प्रयोगकर्ता (हालसालै पोस्ट गरिएको) । डा. देवीप्रसाद आचार्य, Rajdhani Daily । कुमार दाहाल, corporatenepal.com । साथै सबै सामाजिक संजाल प्रयोगकर्तामाझ व्यापक फैलिएको ।
तथ्य: युरोपयन टाइम्स वा युरोपियन टाइम्स कुनैपनि संस्था एवं संचार माध्यमले ‘विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्’ भन्ने वाक्यांशसहितको समाचार प्रकाशित गरेको पाइएन । यसअघि भारतमा फैलिएको हिन्दी भाषाको उक्त दाबीलाई हुबहु नेपाली भाषामा उल्थागरी फैलाइएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच
२०७९ भदौ ३० गते राजधानी डेली डटकम (rajdhanidaily.com) मा डा.देवीप्रसाद आचार्यले ‘अब पालो जनताको’ शिर्षकको लेख प्रकाशित गरेका छन् । उक्त लेखको सुरुवातमै लेखिएको छ- ‘केही समयअगाडि युरोपियन टाइम्स पत्रिकामा छापिएको थियो कि, विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देशलाई लिलाम गर्ने भ्रष्ट एवं घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् ।’
त्यसैगरी २०८० असोज १२ गते कर्पोरेट नेपाल डटकम (corporatenepal.com)मा कुमार दाहालले ‘अब नेपाल विकसित देश बन्छ !’ शिर्षकको लेख प्रकाशित गरेका छन् । यो लेखको पनि सुरुवातमै लेखिएको छ- ‘विश्वका सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् । – युरोपियन टाइम्स’ सोही दाबी विभिन्न समय सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिरहेको पाइयो । यही क्रममा पछिल्लो समय उक्त दाबी टिकटक प्रयोगकर्तामाझ फैलिरहेको देखिन्छ ।
तथ्यजाँच
केही वर्षअघिसम्म नेपालमा फैलिएको दाबी भारतमा पनि फैलिएको थियो तर त्यसमा केही फरक थियो । ‘विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्- युरोपियन टाइम्स’ भन्ने कोट हिन्दी भाषाको थियो भने ‘नेपाल’को स्थानमा ‘भारत’ लेखिएको थियो ।
bhaskar.com र altnews.in ले उक्त दाबीको तथ्यजाँच गरेका थिए । यी दुई तथ्यजाँचले दुबै यूरोपियन टाइम्सलाई उदृत् गर्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक रहेको निष्कर्ष निकालेका थिए । पछिल्लो समय सोही कोटसहितको दाबी नेपाली भाषा र नेपालमा फैलिरहेको देख्न सकिन्छ । europeantimes.news नामक एउटा वेबसाइट फेला परेपनि उक्त दाबीसहितको भनाई फेला परेन ।
अर्कोतर्फ उक्त दाबीसँग युरोपियन कमिशनका अध्यक्ष जीन क्लाउड जंकरको कुनै सम्बन्ध प्रमाणित भएन । रोयटर्सका फोटो पत्रकारले २०१८ मा जेनवालस्थित युरोपियन कमिसन कलेजको वार्षिक सेमिनारमा खिचेएको तस्बिरलाई भ्रामक सूचनासँग जोडिएको पाइयो ।