दाबी: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २०२४ जुन १० (दुई दिनअघि) विमान दुर्घटना भएको छ ।’
दाबीमा जोडिएका सामग्री: नेपाल एयरलाइन्सको ठूलो जहाजमा उडिरहेका बेला आगलागी भएको र दुर्घटनाग्रस्त हुने अवस्थामा पुगेको दृश्य जोडिएको छ र उक्त भिडियोको थमनेलमा ‘काठमाडौँ एयरपोर्ट २०२४ जुन १०’ लेखिएको छ । साथै अर्को पोस्टमा दमकलले आगो निभाइरहेको भिडियोसँगै लेखिएको छ- ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विमान दुर्घटना उद्दार ।’
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक पोस्ट: tiktok.com/@hancy.boy147 । tiktok.com/@sthakanxa203 । tiktok.com/@airboyd77 लगायतका प्रयोगकर्ता
तथ्य: युट्युब लगायतका सामाजिक संजालमा पोस्ट गरिएका भिडियो गेमका काल्पनिक दृश्यहरुलाई वास्तविकतासँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ । अर्कोतर्फ केही दिनअघि काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्दार सम्बन्धी अभ्यास सांकेतिक अभ्यास गरिएको थियो । सोही अभ्यासको भिडियोसँगै विमान दुर्घटना भएको दाबी जोडिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच २०८१ जेठ २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्दारसँग सम्बन्धित सांकेतिक अभ्यास गरिएको थियो । उक्त अभ्यासमा हवाई उडान सुरक्षा र मेडिकल उद्दारसँग सम्बन्धित विभिन्न निकायहरूलाई सहभागि गराइएको थियो ।
समाचार संकलनका लागि संचार माध्यमलाई पनि आमन्त्रित गरिएको थियो । यही सन्दर्भमा Onlinetv Nepal नामक युट्युब च्यानलले सांकेतिक दुर्घटना र उद्दार अभ्यासको भिडियो रिपोर्ट तयार पारेको छ । सोही भिडियो रिपोर्टको एउटा अंशलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच
पछिल्लो समय पाल एयरलाइन्सको ठूलो जहाज कुनै किसिमको दुर्घटनामा परेको छैन । Airboydn नामक युट्युब भिडियो गेमका काल्पनिक दृश्यहरुलाई पोस्ट गर्ने गरिन्छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्दारसँग सम्बन्धित सांकेतिक अभ्यास भएको सन्दर्भमा तिनै भिडियो गेमका काल्पनिक दृश्यहरुलाई सामाजिक संजालमा फैलाइएको छ । तर, युट्युबमा पोस्ट गरिएका ती भिडियोहरु वास्तविकतासँग सम्बन्धित हुँदैनन् । कम्प्युटर प्रविधिको सहायतामा निर्माण गरिएका यी दृश्यहरु पूर्णत: काल्पनिक हुन् ।