दाबी: बुटवलको तिनाउ खोलामा बस बगेको छ (भिडियो) ।
दाबीमा जोडिएका सामग्री: नदीमा बाढी आएको भिडियो देख्न सकिन्छ । उक्त बाढीले नदी किनारलाई कटान गर्दै एउटा बसलाई बगाएर लगेको छ । सोही भिडियोसँगै जोडिएको अडियो र थमनेलमा बुटवलको तिनाउ खोलामा बस बगेको जानकारी दिइएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@surojofically प्रयोगकर्ता ।
के हो तथ्य: बुटवलको तिनाउ खोलामा बस बगेको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो नेपालसँग सम्बन्धित छैन । २०१८ मा भारतको हिमाचल प्रदेशमा घढेको घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा नेपालको रुपन्देहीस्थित बुटवलसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच
नेपालमा २०८१ सालको मनसुन भित्रिएसँगै बाढी-पहिरोजन्य घटनाहरु घट्न थालेका छन् । मनसुनको सुरुवाती वर्षाका कारण पूर्वी नेपालमा केही बाढीपहिरोका घटना घटेका हुन् ।
यही सन्दर्भमा एउटा भिडियोसहितको सामग्री सामाजिक संजाल फैलिरहेको छ । उक्त भिडियोमा रुपन्देही जिल्लास्थित बुटवलको तिनाउ खोला बाढी आएको र उक्त बाढीले बस नै बगाएको दाबी गरिएको छ ।
तथ्यजाँच
बुटवलको तिनाउ खोलामा बस बगेको भिडियो नेपालको घटना होइन । २०१८ सेप्टेम्बर २४ मा इन्डिया टूडे (indiatoday.in) ले प्रकाशित गरेको समाचार अनुसार भारतको हिमाचल प्रदेशस्थित मनालीमा ब्यास नदीले पर्यटक बस नै बगाएको थियो । ब्यास नदीमा आएको बाढीले मनालीको आलु मैदानलाई कटान गर्दै पार्क गरेर राखिएको बस बगाएको जानकारी उक्त समाचारमा उल्लेख छ ।

त्यस्तै सोही घटनाको समाचार जतसत्ता संचार माध्यम (jansatta.com) संचार माध्यमले पनि प्रकाशित गरेको छ । समाचार अनुसार हिमाचल प्रदेशमा ठूलो वर्षा भएपछि मनालीमा २०१८ सेप्टेम्बर २३ मा बस नै बग्ने घटना घटेको थियो ।
त्यतिबेला उक्त भिडियो भारतमा भाइरल भएकोसमेत समाचारमा उल्लेख छ । मनालीमा ब्यास नदीले बस बगाएको घटनाबारे ABP NEWS ले विशेष रिपोर्टसमेत तयार पारेको थियो । २०१८ सेप्टेम्बर २४ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा हिमाचल प्रदेशको मनालीमा बाढीको डरलाग्दो दृश्य देखिएको, बस बगेको जानकारी दिइएको छ ।