दाबी: हार्दिक श्रद्धान्जली डा.गोबिन्द केसी, स्वर्गमा बास होस् बाजे (डा.गोविन्द केसीको निधन) ।
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा अभियान्ता डा.गोविन्द केसीको सुतिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडिएको थमनेलमा दिवंगत मानिसप्रति अर्पण गरिने सन्देश ‘हार्दिक श्रद्धान्जली डा.गोबिन्द केसी, स्वर्गमा बास होस्’ भन्ने वाक्यांश लेखिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@bhim37754gmail.co टिकटक प्रयोगकर्ता ।
के हो तथ्य: अभियान्ता डा.गोविन्द केसीको निधन भएको छैन । डा.केसी अनशन बसेका बेला खिचिएको भिडियोमा भ्रामक दाबी जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच
डा.गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधार अभियान्ताका रुपमा नेपालमा परिचित छन् । स्वास्थ्य क्षेत्रमा भएको बेथितिको विरोध गर्दै विभिन्न मागसहित २२ पटक (यो प्रकाशित मितिसम्म) सार्वजनिक अनशन बसिसकेका छन् ।
डा.केसी पछिल्लो पटक २०८१ वैशाख २९ देखि जेठ ३ गतेसम्म २२औँ आमरण अनशन बसेका थिए । डा.केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै काठमाडौँस्थित पशुपति क्षेत्रको मृगस्थलीमा २२औँ आमरण अनशन सुरु गरेका थिए ।
संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने उनको माग थियो । तर, अचानक अनशनको ६ दिनपछि उनले अनशन तोडे । संचार माध्यममा प्रकाशित समाचार अनुसार स्वास्थ्य अवस्था क्रिटिकल भएको र राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले आफूले अनशन तोड्नुपरेको निष्कर्ष डा.केसीको छ ।
यही सन्दर्भमा दिवंगत मानिसप्रति अर्पण गरिने सन्देशसहित डा.गोबिन्द केसी देखिने भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा डा.केसीको नाम नै लेखेर ‘हार्दिक श्रद्धान्जली’ ‘स्वर्गमा बास होस्’ जस्ता वाक्यांशको प्रयोग गरिएको छ ।
तथ्यजाँच
Lokpath TV युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो भेटियो, जसमा डा.केसी पशुपति क्षेत्रको मृगस्थलीमा २२औँ आमरण अनशन बसेको अवस्थामा देखिन्छ । १५ मे २०२४ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘सुनसान छ डाक्टर केसीको अनसनस्थल’ ।
यही भिडियोका केही अंशहरुलाई जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ । सोही पोस्टमा ‘हार्दिक श्रद्धान्जली’ ‘स्वर्गमा बास होस्’ जस्ता वाक्यांश प्रयोग गरिएको छ । मृगस्थलीको २२औँ अमरण अनशनपछि डा.केसीको स्वास्थ्य अवस्था बिग्रिएको भनिएपछि उनको निधन भएको छैन ।