दाबी: अन्तत: गृहमन्त्री रबि लामिछानेलाई अदालतले सफाई दिएको छ, अदालतद्वारा क्लिन चिट ।
दाबीमा जोडिएका सामग्री: विभिन्न दृश्य जोडिएको भिडियो, जसमा रबि लामिछानेसहित धेरै मानिसहरु देख्न सकिन्छ । त्यस्तै अर्को दृश्यमा रबि लामिछानेले भाषण गरिरहेका छन् । दृश्यहरुको थमनेलमा लेखिएको छ- ‘ढिलै भएपनि सत्यको सधैँ जित हुन्छ, सुन्थेँ हो रैछ, आज देखेँ पनि जय घण्टी । अन्तत: गृहमन्त्री रबि लामिछानेलाई अदालतले सफाई दिएको छ, अदालतद्वारा क्लिन चिट, आज जनताहरु माझ विजयको खुसीयाली मनाउँदै ।’
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@dizzchaudhary प्रयोगकर्ता ।
के हो तथ्य: दाबीसहितको भिडियो पोस्ट भएको मिति वरिपरि (२०८१ असार दोस्रो साता) कुनैपनि अदालतले गृहमन्त्री रबि लामिछानेलाई सफाई दिएको छैन । फरक-फरक सन्दर्भमा खिचिएका भिडियोहरुलाई जोडेर गृहमन्त्री रबि लामिछानेले सफाई पाएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबि लामिछाने मुछिएको र उनी गृहमन्त्रीका रहीरहँदा अनुसन्धान प्रभावित हुने जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा गृहमन्त्री रबि लामिछानेलाई निलम्बन गर्न अन्तरिम आदेश दिनुपर्ने माग छ ।
यस मुद्दाका विषयमा अझै धेरै बुझ्न बिबिसी नेपालीले प्रकाशित गरेको रिपोर्ट पढ्नुहोस् । सोही मुद्दामा २०८१ असार ७ गते सर्बोच्च अदालतमा गृहमन्त्रीसँग सम्बन्धित मुद्दामा बहस भएको छ । तर, बहस नसकिएपछि सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले रिटलाई हेर्दा हेर्दैमा राखेको हो ।
गृहमन्त्री रबि लामिछानेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको सन्दर्भमा उनले अदालतबाट क्लिन चिट पाएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच
Saptarangi Live TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो भेटियो । १७ जुन २०२४ मा पोस्ट गरिएको भिडियोमा गृहमन्त्री रबि लामिछानेसँग सम्बन्धित फरक-फरक सन्दर्भका (भाषण गरेको, मानिसहरुसँग भेटेको आदि) दृश्यहरु जोडिएको छ । उक्त भिडियोको शिर्षक छ- ‘सडकमै मनाए जनता संगै खुशीयाली,तपाईको छोरो हो बाटो बिराएको छैन्’ ।
यही भिडियोको एउटा अंशमा गृहमन्त्री रबि लामिछानेलाई अदालतले सफाई दिएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो भिडियो आफैमा सही भने छैन, विभिन्न सन्दर्भका दृश्यहरुलाई जोडेर युट्युबमा पोस्ट गरिएको देखिन्छ । त्यस्तै भिडियोमा जोडिएको एउटा दृश्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थापना दिवससँग सम्बन्धित छ । स्थापना दिवसको अवसरमा पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रबि लामिछानेले भाषण गरेको दृश्यलाई दाबीसहितको सामग्रीमा जोड्दै सामाजिक संजालमा फैलाइएको छ ।