दाबी: हामीबीच रहेनन् धरानका उपमेयर बैकुण्ठमा बास होस् । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बेघाको इटहरी जाने क्रममा ट्रकको ठक्करमा परी घटनास्थलमै मृत्यु भएको छ ।
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा धरानका उपमेयर अइन्द्र विक्रम बेघा बोलिरहेका छन् । सोही भिडियोको थमनेलमा उपमेयर मेघाको ट्रकको ठक्करमा परी घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@northkoreaking17 प्रयोगकर्ता ।
के हो तथ्य: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको निधन भएको छैन । धरानको कार्यपालिका बैठकमा बेघाले आफ्ना भनाई राख्दै गरेको भिडियोमा दाबीसहितको थमनेल जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र त्यहाँका वडाध्यक्षहरूबीच हार्दिकतापूर्ण सम्बन्ध छैन । सोही तनाबमा धरानका उपमेयर अइन्द्रविक्रम बेघासमेत अछुतो छैनन् ।
२०८० पुसमा मेयर साम्पाङ र उपमेयर बेघाबीच कार्यपालिका बैठकमै चर्काचर्की भएको थियो । पछिल्लो पटक २०८१ असार ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपमेयर अइन्द्र विक्रम बेघाले मेयर हर्क साम्पाङको कार्यशैलीप्रति विमत्ति जनाएका थिए ।
धरान क्लिक (clickdharan.com) मा प्रकाशित समाचार अनुसार मेयर साम्पाङतर्फ लक्षित गर्दै उपमेयर बेघाले भनेका थिए- ‘यहाँ नियम छैन, कानुन छैन, संविधान छैन, सल्लाह छैन, सुझाव छैन, केही छैन ।’
कार्यपालिका बैठकमा धरानका मेयर र उपमेयरबीच आरोप-प्रत्यारोप चलेकै दिन सामाजिक संजालमा ‘ट्रकको ठक्करमा परी उपमेयर अइन्द्र विक्रम बेघाको निधन’ भएको दाबी पोस्ट गरिएको छ ।
तथ्यजाँच
mero awaz media युट्युब च्यानलमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकको भिडियो पोस्ट गरिएको छ ।
२०२४ जुन २१ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘अन्तिममा उपमेयर बेघा जुरुक्कै उठेर मेयर साम्पाङ माथी खनिए,मेयर साम्पाङ तातो प्रस्नलाई चिसो उत्तर दिए’ । यही भिडियोको एउटा अंशमा दाबीसहितको थमनेल जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
https://www.youtube.com/watch?v=xB4u7AwNiwU
यो भिडियोमा उपमेयर बेघाले मेयर साम्पाङको कार्यशैलीप्रति चर्को विरोध जनाएका छन् । सोही भिडियोको एउटा अंशमा ‘हामीबीच रहेनन् धरानका उपमेयर बैकुण्ठमा बास होस्’ लेखिएको छ । तर, धरानका उपमेयर अइन्द्र विक्रम बेघाको निधन भएको छैन ।
उपमेयर बेघाले दाबीसहितको टिकटक भिडियोलाई आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै आफ्नो ‘मृत्युको घोषणा’ गरिएकोप्रति विरोध जनाएका छन् ।
Aindra Bikram Begha नामक फेसबुक पेजमा यस्तो लेखिएको छ- ‘मेरो मृत्युको घोषणा गरेर तपाईंको राम राज्य बनाउनु । तपाईंले चाहेको मान्छेलाई राजा बनाउनु अनि मनोमौजि गर्नु ! जहाँ प्रश्न गर्नु भनेको तपाईंको राम राज्यको खिलाफ हुनेछ । तपाईंले खडा गरेको दम्भ र घमण्डको आलिसान महलको खिलाफ हुनेछ । अब देखि तपाईं र तपाईंका मान्छे बाहेकका अरु सबैलाई गर्भमै हत्या गर्नु । अनि आफ्नो निजि राज्य बनाउनु । तपाईंको यस्तो निच सोचलाई सलाम छ , धन्यवाद छ !’