दाबी: नेपाल जिल्ला सर्लाही बागमती पुल टुट्यो (भाँच्चियो) । मिति २०८१ असार १० गते (भिडियोसहित) ।
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा बाढी आएको र पुल भत्किएको दृश्य देख्न सकिन्छ । सोही भिडियोमा हालसालै सर्लाही जिल्लास्थित बागमती नदीको पुल भाँच्चिएको दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@sanjay_sahani31 प्रयोगकर्ता ।
के हो तथ्य: सर्लाही जिल्लास्थित बागमती नदीको पुल भाँच्चिएको दाबी कुनैपनि तथ्य प्रमाणहरुबाट प्रमाणित भएन । अर्कोतर्फ २०७८ असारमा हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल भासिएको भियो । सोही भासिएको पुलको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक
सन्दर्भ जाँच: नेपालमा मनसुन सक्रिय भएसँगै भासिएको पुलको भिडियो पोस्ट
पछिल्लो समय नेपालमा मनसुन सक्रिए भएको छ । जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविदका अनुसार अहिले प्री मनसुनको समय भएकाले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न ठाउँमा हल्का बाढी पहिरोजन्य विपत्तिहरु देखिन थालेका छन् ।
यही सन्दर्भमा नेपालको सर्लाही जिल्लामा बागमती पुल भाँच्चिएको दाबीसहित सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ ।
तथ्यजाँच: २०७८ असारमा भासिएको भियो कमलाको पुल
२०७८ असार १७ गते थाहा खबर (thahakhabar.com) मा प्रकाशित समाचार अनुसार हुलाकी राजमार्गमा पर्ने कमला नदीको निर्माणाधीन पुलको काम अन्तिम चरणमा थियो । तर, एउटा पिलर भासिएपछि पुल लच्कियो ।
उक्त समाचारमा प्रयोग गरिएका तस्बिरहरु दाबीसहितको भिडियोको दृश्य एक आपसमा मिलेका छन् । दाबीसहितको भिडियोमा देखिने दृश्यसँग मिल्दा तस्बिरहरु राखेर धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल भासिएको समाचार थुप्रै संचार माध्यमले प्रकाशित गरेका छन् ।

कमला नदीको पुल भासिएको समाचार Kantipur TV HD प्रकाशित गरेको थियो । उक्त समाचारमा प्रयोग गरिएका दृश्यहरु र दाबीसहितको भिडियोमा देखिएको दृश्य एक आपसमा मिल्न गएका छन् ।
https://www.youtube.com/watch?v=9GJLCM8K3LY
पुल भासिएको धेरै समय पछिसम्म पनि नेपालका संचार माध्यमले उक्त समाचारलाई फलोअप गरेको देखिन्छ । nayapatrikadaily, nepalkhabar लगायतका संचार माध्यले आफ्नो फलोअप समाचारमा उल्लेख गरेका तस्बिर र दाबीसहितको भिडियोको दृश्य उस्तै देखिएका छन् ।
अर्कोतर्फ २०८१ असार १० गते दाबीसहितको भिडियोमा देखिएजस्तो घटना सर्लाहीमा घटेको पाइएन । सर्लाहीको बागमती नदीमा हालसालै ठूलो पुल भाँचिएको वा भत्किएको घटना छैन ।