दाबी: अब आउने पैसाको नोटमा बालेन शाह रे (नेपाली रुपैयाँ/नोटमा बालेन शाहको तस्बिर)
दाबीमा जोडिएका सामग्री: नेपाली रुपैयाँ (नोट) जस्तै देखिने एउटा तस्बिर, जसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर राखिएको छ । उक्त तस्बिरको थमनेलमा अब आउने नेपाली नोटमा बालेन शाहको तस्बिर अंकित हुने दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@sureshkhapangimagar प्रयोगकर्ता ।
के हो तथ्य: नेपाली रुपैयाँ (नोट) मा काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर अंकित गर्न कुनैपनि निकायले सिफारिस र निर्णय गरेको प्रमाणित भएन । नेपाली नोट जस्तै देखिने ग्राफिक्स तस्बिरलाई सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: १ सयको नोट डिजाइनमा परिमार्जन, चुच्चे नक्सा
२०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रस्तावमा भएको उक्त निर्णयले चीन, भारत र नेपालका संचार माध्यमहरुमा चर्चा पायो । १ सयको नोट डिजाइनमा परिमार्जन गरी नयाँ चुच्चे नक्सा राख्ने निर्णयले चर्चा पाएसँगै विभिन्न टिप्पणी भएका थिए । यसको केही समयपछि १ सयको नोट जस्तै देखिने तस्बिरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: नेपाली नोटमा बालेन शाहको तस्बिर राख्ने निर्णय भएको छैन
नेपाली नोटमा काठमाडौँका बालेन शाह वा प्रधानमन्त्री कसैको पनि तस्बिर अंकित गर्न त्यति सहज विषय होइन । नोटको डिजाइन परिमार्जन गर्नका लागि नेपाल राष्ट्र बैंकको विशेष समिति, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्मको निर्णय आवश्यक पर्दछ । तर, बालेनको तस्बिरबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । नेपाल राष्ट्र बैंक ऐन २०५८ (संशोधन सहित) को परिच्छेद–६ मा मौद्रिक एकाई, बैंक नोट र सिक्का सम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५२ मा बैंकले आवश्यकता अनुसार विभिन्न दरका बैंक नोट निष्कासन गर्न सक्ने प्रावधान राखिएको छ । तर, निष्कासन गरिने बैंक नोटको चित्र, आकार र दर नेपाल सरकारकै स्वीकृतिमा हुनुपर्ने व्यवस्था दफाको उपदफा ४ ले गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५२ (४) मा भनिएको छ - ‘बैंकले आवश्यकता अनुसार विभिन्न दरका बैंक नोट निष्कासन गर्नेछ । यसरी बैंक नोट निष्कासन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, बैंक नोट छपाई गर्ने वस्तु तथा अन्य पदार्थ समितिले निर्णय गरे बमोजिम हुनेछ ।’ के नेपाली नोटमा बालेन शाहको तस्बिर अंकित गर्ने विषयमा नेपाल राष्ट्र बैंकले केही विचार गरेको हो त? प्रस्तुत दाबीलाई राष्ट्र बैंकका सूचना अधिकारी डा.भागवत आचार्यले सोझै नकार्छन् । उनले बालेन शाहको तस्बिरबारे नेपाल राष्ट्र बैंकमा कुनै छलफल नै नभएको बताए ।
