दाबी: सप्तकोशीको २२ ढोका खोलिएको छ, कोशीमा पानीको बहाव बढिरहेको छ, भारतको बिहार पूरा डुबानमा (भिडियो)
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा भयानक बाढी आएको दृश्य देख्न सकिन्छ । उक्त बाढीले घरका अंशहरुलाई नै बगाएको छ । भिडियोसँगै सप्तकोशीमा बाढी आएको र भारतको विहार पूरै डुबानमा परेको दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@rasmeka.karki01 प्रयोगकर्ता ।
के हो वास्तविकता: कोशीमा पानीको बहाव बढिरहेको र भारतको बिहार पूरा डुबानमा परेको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो नेपाल तथा भारतसँग सम्बन्धित छैन । फिलिपिन्सले व्यहोरेको विपत्तिको पुरानो भिडियोलाई नेपाल-भारतसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: कोशी नदी ‘बिहारको दुख’
कोशी नेपालकै विशाल नदी मध्येको एक हो । यो नदी नेपाल हुँदै भारतको बिहारमा प्रवेश गर्दछ । वर्षायाममा यस नदीमा आउने बाढीले नेपाल र बिहारका विभिन्न क्षेत्रहरु प्रभावित हुने गर्दछन् । सोही कोशी नदीमा एउटा बाँध बनाइएको छ, जसलाई कोशी ब्यारेज पनि भनिन्छ । धेरै वर्षा भएर नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ढोकाहरु खोलिन्छ ।

सन् १९५८ देखि सन् १९६२ सम्ममा निर्माण गरिएको कोशी ब्यारेजको नियन्त्रण विषय बेला-बेला सतहमा आउने गरेको छ । नेपालमा रहेको उक्त बाँधको नियन्त्रण भारतीय अधिकारीहरुले गर्ने गरेका छन् ।
यही सन्दर्भमा कोशी ब्यारेजका २२ ढोका खोलिएको र भारतको बिहार पूरै डुबानमा परेको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: दाबीसहितको भिडियो कोशी र बिहारको होइन
Mark Anthony Besario युट्युब च्यानलमा एउटा भिडियो पोस्ट गरिएको छ । २० डिसेम्बर २०११ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘A flash flood that badly hit Negros Oriental Scenes at Colon Extension, Dumaguete City, around 9:30 am’ । यो भिडियो भारतको बिहार पूरै डुबानमा परेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियोजस्तै देखिन्छ ।
https://www.youtube.com/watch?v=30DwjC7tfHs
डिसेम्बर २०११ मा फिलिपिन्सको डुमागुएट (Dumaguete) शहरले सेनडोङ्ग आँधी (Typhoon Sendong)को सामना गरेको थियो । उक्त आँकीका कारण डुमागुएटको नेग्रोस ओरिएन्टल (Negros Orienta) क्षेत्रमा ठूलो बाढीसमेत आएको थियो ।
२३ डिसेम्बर २०११ मा र्यापलर डटकम (rappler.com)मा प्रकाशित समाचार अनुसार को बाढीका कारण आवासीय क्षेत्रमा ठूलो बाढी आएको, आँधीका कारण भत्किएका घरहरु बाढीले बगाएको र कयौँ मानिसहरुले ज्यानसमेत गुमाएका थिए ।

फिलिपिन्सको डुमागुएटको सोही भिडियोलाई सप्तकोशीको २२ ढोका खोलिएको र भारतको बिहार पूरै डुबानमा परेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।