Logo

Oct 28 2026

Fact Check: किम जोङ उन नेपाल आउन लागेको भ्रामक दाबी

Fact Check: किम जोङ उन नेपाल आउन लागेको भ्रामक दाबी

  • दाबी: किम जोङ उन नेपाल आउने भएपछि बालेनले बोलाए एक्कासी महानगर पुलिसको बैठक, राजु पाण्डेले दिए यस्तो सुझाव । भारतमा भयो खैलाबैला ।  

    दाबीमा जोडिएका सामग्री: उत्तर कोरियाका नेता किम जोङ उन देखिएको भिडियो, जसमा उनी आफ्नो ट्रेलबाट ओर्लिरहेका छन् । साथै काठमाडौँ महानगरका मेयर देखिने अर्को भिडियो पनि दाबीसहितको सामग्रीमा जोडिएको छ । भिडियोसँगै किम जोङ नेपाल आउने भएपछि बालेनले महानगर प्रहरीको बैठक बोलाएको र भारतमा खैलाबैला भएको दाबी गरिएको छ ।     

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@mr.kavreli_sajan_dhital प्रयोगकर्ता ।

    के हो वास्तविकता: उत्तर कोरियाका नेता किम जोङ उन नेपाल आउने दाबी भ्रामक छ । किम जोङ रुस पुगेको सन्दर्भमा खिचिएको पुरानो भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक

     

    सन्दर्भ जाँच: सामाजिक संजालमा किम जोङ उन र बालेनको चर्चा 

    किम जोङ उन उत्तर कोरियाका राजनीतिज्ञ हुन् । उनले सन् २०११ देखि उत्तर कोरियाको ‘सर्वोच्च नेता’का रुपमा शासन संचालन गरिरहेका छन् । पछिल्लो सयम सामाजिक संजालमा उत्तर कोरियाका नेता किम जोङ उनसँग काठमाडौँ महानगरका मेयर बालेन शाहको नाम जोडेर चर्चा हुने गरेको छ ।

    तर, ती चर्चाहरु अमूर्त र अप्रमाणित छन् ।  केही समयअघि मात्रै काठमाडौँ महानगरको १५ औँ नगर सभाका विभिन्न बैठकहरु चलिरहेका थिए । ती बैठकहरुमा केही वडाअध्यहरु र मेयरबीच असहज परिस्थितिसमेत सृजना भएको थियो ।

    यही सन्दर्भमा फ्रेस मिडिया (Fresh Media) नामक युट्युब च्यानलमा महानगरको १५ औँ नगर सभा बैठकसँग सम्बन्धित भिडियो पोस्ट गरिएको छ । २९ जुन २०२४ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘किम जोङ नेपाल आउने भनेपछी बालेन ले बोलाए बैठक बैठक मा सुरुमै खैलाबैला’   

     

     

    प्रस्तुत शिर्षक जसरी नै अन्य सामाजिक संजालमा विभिन्न भिडियो जोडेर किम जोङ उन नेपाल आउने भएपछि बालेनले महानगर प्रहरीको बैठक बोलाएको दाबी गरिएको छ ।

    तथ्यजाँच: किम जोङ रुस पुग्दाको भिडियोमा भ्रामक दाबी 

    विश्वसनीय संचार माध्यम टाइम (TIME) र द गार्डियन (Guardian News) ले आफ्ना युट्युब च्यानलमा किम जोङ उनसँग सम्बन्धित भिडियो पोस्ट गरेका छन् । १२ सेप्टेम्बर २०२३ मा  टाइमले पोस्ट गरेको भिडियोको शिर्षक छ- North Korea’s Kim Jong Un Arrives in Russia By Armored Train to See President Vladimir Putin ।

    त्यस्तै किम जोङ उन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न ट्रेन चढेर रुस पुगेका भन्दै द गार्डियनले १२ सेप्टेम्बर २०२३ मा एउटा भिडियो पोस्ट गरेको छ । द गार्डियनका अनुसार उक्त भिडियो रुसी अधिकारीहरूले जारी गरेका थिए । भिडियोमा उत्तर कोरियाका नेता किम जोङलाई रुसको सुदूर पूर्वमा रहेको खासान स्टेशनमा आफ्नो सशस्त्र रेलबाट ओर्लिरहेको दृश्य देख्न सकिन्छ ।

    https://www.youtube.com/watch?v=Lf27dpfWQAo

    यही सन्दर्भमा खिचिएको भिडियोको एउटा अंशलाई दाबीसहित सामाजिक संजाल प्रयोगकर्तामा पोस्ट गरिएको छ । यही सन्दर्भमा हामीले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई सम्पर्क गर्‍यौँ ।

    मन्त्रालयका सहायक प्रवक्ता ऋषीराज आचार्यले उत्तर कोरियाका नेता किम जोङ उन नेपाल आउने विषयमा आफूहरुलाई जानकारी नभएको बताए । अर्कोतर्फ औपचारिक भ्रामणमा आउने विशिष्ट विदेशी पाहुनाको सुरक्षा एवं सत्कारमा कुनैपनि स्थानीय तह प्रत्यक्षरुपमा जोडिने परम्परा छैन ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको भूमिका र कार्य सम्बन्धि प्रकाशनमा विशिष्ट विदेशी पाहुनाको सुरक्षाका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने व्यहोरा उल्लेख गरिएको छ । विदेशी पाहुनाको सुरक्षामा महानगर प्रहरीको कुनै महत्वपूर्ण भूमिका हुँदैन ।

     

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend