दाबी: प्रचण्डले रोस्ट्रम उभिएर म दायाँतिर हामफाल्न पनि सक्छु अर्थात् राजासँग मिल्न पनि सक्छु भने ।
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो र अडियो, जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको दृश्यसमेत देख्न सकिन्छ । साथै भिडियोमा लेखिएको छ- ‘प्रचण्डले रोस्ट्रम उभिएर म दायाँतिर हामफाल्न पनि सक्छु अर्थात् राजासँग मिल्न पनि सक्छु भन्दै कांग्रेस र एमालेका नेताहरुलाई भेडा भनेर थर्काए । दाबीसँगै जोडिएको भिडियो/अडियोमा प्रचण्डले भनेका मुख्य अंश यस्तो छ-
तर, आज जसरी यहाँ विषयहरु प्रस्तुत भएका छन् मैले त्यस्तो ठानेको छैन । त्यति सजिलो छैन, नेपालको राजनीतिक आन्दोलन खासगरी २००७ साल यतापट्टीबाट जसरी विकसित भएर आएको छ । धाराहरु, प्रवृतिहरु अन्तत: नेचुरल प्रवृतिहरु भेडा भेडाँंग र बाख्रा बाख्रासँग हुन्छ, जो परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको स्वाधीनताको पक्षमा दरोसँग उभिनेहरु एक ठाँउमा हुन्छन्, हुनैपर्छ ।
त्यसकारण यसको रक्षाका निम्ति दायाँ जानपर्छ भनेपनि म हामफाल्छु । मैले त्यहाँ यसको रक्षाका निम्ति के गर्न पर्छ म तयार । नेपाली कांग्रेसका नेता साथीहरुले भन्या जस्तो नेकपा (एमाले), सबैसँग मिलेर देखाउनु होस् म कुनै चिन्ता मान्ने छैन् । मिलेर स्थिरता बनाएर विकास गर्नु भयो भने म खुसी नै हुन्छु । मेरो रोल प्रतिपक्षको हुनेछ । यसमा मलाई कुनै टेन्सन छैन ।
दाबीकर्ता र दाबी मिति : २०२४ जुलाई ५, टिकटक- tiktok.com/@h.j.b.media.house । tiktok.com/@balensupporter101 । tiktok.com/@buddha4350 । tiktok.com/@rajanghimire1695 लगायतका प्रयोगकर्ता ।
के हो वास्तविकता: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को रोस्ट्रममा उभिएर ‘राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति दिएका छैनन् । प्रचण्डले संसद्मा बोलेको पुरानो भिडियोका अंशहरुलाई जोड्दै ‘राजासँग मिल्न पनि सक्छु’ लगायतका वाक्यांश थपेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: पुरानो भिडियो वर्तमान सन्दर्भसँग कसरी जोडियो?
२०८१ असार १७ गते राति नेपालका दुईवटा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरणको सहमति भएको थियो । संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकार निर्माण र आलोपालो सरकार संचालनको सहमतिसहित उक्त समझदारी बनेको हो ।
सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने तयारी गरेको समाचार संचार माध्यममा प्रकाशित भएका छन् ।
समीकरण फेरबदल भएकै सन्दर्भमा ‘प्रचण्डले रोस्ट्रम उभिएर म दायाँतिर हामफाल्न पनि सक्छु अर्थात् राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति दिएको दाबीसहितका सामग्रीहरु सामाजिक संजालमा पोस्ट भएका छन् । Nepal One HD नामक युट्युब च्यानलमा केही दिनअघि मात्र अर्थात् २०२४ जुलाई ४ मा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेको भिडियो पोस्ट गरिएको छ ।
यही भिडियोको १४:५५ देखि १६:१६ मिनेटसम्मका केही अंश (भिडियो क्लिप) लाई अगाडि-पछाडि बनाएर दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । वर्तमान सन्दर्भसँग जोड्दै युट्युबमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले यस्तो भनेका छन् ।
यो संविधानमा आँच आउला कि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि समावेशी समानुपातिक भनेर यो देशमा दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु सबैले पाएका केही अधिकारहरु खोसिएलान कि भन्ने सबैभन्दा बढी चिन्ता मलाई छ भन्ने मेरो विश्वास छ । त्यसकारण यसको रक्षाका निम्ति दायाँ जानपर्छ भनेपनि म हामफाल्छु, बायाँ जान पर्छ भनेपनि हामफाल्छु, यो बुझ्दा हुन्छ । मैले त्यहाँ यसको रक्षाका निम्ति के गर्न पर्छ म तयार । नेपाली कांग्रेसका नेता साथीहरुले भन्या जस्तो नेकपा (एमाले), सबैसँग मिलेर देखाउनु होस् म कुनै चिन्ता मान्ने छैन् । मिलेर स्थिरता बनाएर विकास गर्नु भयो भने म खुसी नै हुन्छु । मेरो रोल प्रतिपक्षको हुनेछ । यसमा मलाई कुनै टेन्सन छैन । तर, आज जसरी यहाँ विषयहरु प्रस्तुत भएका छन् मैले त्यस्तो ठानेको छैन । त्यति सजिलो छैन, नेपालको राजनीतिक आन्दोलन खासगरी २००७ साल यतापट्टीबाट जसरी विकसित भएर आएको छ । धाराहरु, प्रवृतिहरु अन्तत: नेचुरल प्रवृतिहरु भेडा भेडाँंग र बाख्रा बाख्रासँग हुन्छ, जो परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको स्वाधीनताको पक्षमा दरोसँग उभिनेहरु एक ठाँउमा हुन्छन्, हुनैपर्छ ।

तर, यो भिडियो वर्तमान सन्दर्भको भने होइन । प्रधानमन्त्री प्रचण्डले संसद्मा तेस्रो पटक विश्वासको मत लिँदा (२०८० फागुन ३०) गरेको सम्बोधनको भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: प्रधानमन्त्री प्रचण्डले ‘राजासँग मिल्न पनि सक्छु’ भनेका हुन्?
तेस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले ‘राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति दिएका हुन् त ? यसको जाँचका लागि २०८० फागुन ३० गते बसेको प्रतिनिधि सभा बैठकको लाइभ भिडियो संसद्को युट्युब च्यानल (House of Representatives Nepal प्रतिनिधि सभा नेपाल) मा खोज्यौँ ।
२०२४ मार्च १३ मा लाइभ स्ट्रिम गरिएको प्रतिनिधि सभाको भिडियोमा प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदाका दृश्यहरु र प्रधानमन्त्री लगायतका नेताहरुको सम्बोधन गरको दृश्य देख्न सकिन्छ । साढे ४ घण्टा लामो भिडियो जाँच गर्दा दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको अंश पनि फेला पर्यो ।
प्रतिनिधि सभा आधिकारिक युट्युब च्यानलमा रहेको लाइभ भिडियोको ३:४७:३५ देखि ३:४८:११ सम्मको अंश (भिडियो क्लिप) र दाबीसहितको भिडियोको विवरण मिलेको छ । तर, बिचको एउटा अंश भने संसदको लाइभ भिडियोमा भेटिएन ।
संसद् लाइभ भिडियोको ३:४७:३५ देखि यो संविधानमा आँच आउला कि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि मैले त्यस्तो ठानेको छैन । त्यति सजिलो छैन, नेपालको राजनीतिक आन्दोलन खासगरी २००७ साल यतापट्टीबाट जसरी विकसित भएर आएको छ । धाराहरु, प्रवृतिहरु अन्तत: नेचुरल प्रवृतिहरु भेडा भेडाँंग र बाख्रा बाख्रासँग हुन्छ, जो परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको स्वाधीनताको पक्षमा दरोसँग उभिनेहरु एक ठाँउमा हुन्छन्, हुनैपर्छ । ३:४८:११ सम्मको अंश (भिडियो क्लिप)

सामाजिक संजालमा पोस्ट गरिएको भिडियो अंश (क्लिप) संसद्को आधिकारिक लाइभ स्ट्रिममा फेला नपरेपछि हामीले थप जाँच गर्यौँ । यसका लागि २०८० फागुन ३० गते कान्तिपुर टिभी एचडी (Kantipur TV HD) युट्युब च्यानलले गरेको संसद्को लाइभ भिडियो नियाल्यौँ । कान्तिपुर टिभी एचडीले लाइभ गरेको ४:०१:२९ देखि ४:०२:५१ सम्मको भिडियो अंश (क्लिप) र दाबीसहितको भिडियोको भनाईमा समानता देखिन्छ ।
कान्तिपुर टिभीको लाइभ ४:०१:२९ देखि यो संविधानमा आँच आउला कि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि समावेशी समानुपातिक भनेर यो देशमा दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु सबैले पाएका केही अधिकारहरु खोसिएलान कि भन्ने सबैभन्दा बढी चिन्ता मलाई छ भन्ने मेरो विश्वास छ । त्यसकारण यसको रक्षाका निम्ति दायाँ जानपर्छ भनेपनि म हामफाल्छु, बायाँ जान पर्छ भनेपनि हामफाल्छु, यो बुझ्दा हुन्छ । मैले त्यहाँ यसको रक्षाका निम्ति जे गर्न पर्छ म तयार ।
नेपाली कांग्रेसका नेता साथीहरुले भन्या जस्तो नेकपा (एमाले), सबैसँग मिलेर देखाउनुस् म कुनै चिन्ता मान्ने छैन् । मिलेर स्थिरता बनाएर विकास गर्नु भयो भने म खुसी नै हुन्छु । मेरो रोल प्रतिपक्षको हुनेछ । त्यसमा मलाई कुनै टेन्सन छैन । तर, आज जसरी यहाँ विषयहरु प्रस्तुत भएका छन् मैले त्यस्तो ठानेको छैन । त्यति सजिलो छैन, नेपालको राजनीतिक आन्दोलन खासगरी २००७ साल यतापट्टीबाट जसरी विकसित भएर आएको छ । धाराहरु, प्रवृतिहरु अन्तत: नेचुरल प्रवृतिहरु भेडा भेडाँंग र बाख्रा बाख्रासँग हुन्छ, जो परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको राष्ट्रिय स्वाधीनताको पक्षमा दरोसँग उभिनेहरु एक ठाँउमा हुन्छन्, हुनैपर्छ । ४:०२:५१ सम्मको अंश (भिडियो क्लिप)

फेला परेका कुनैपनि भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति दिएको पाइएन । अर्कोतर्फ प्रतिनिधि सभाको आधिकारिक लाइभ भिडियोबाट केही प्रधानमन्त्री प्रचण्डका केही भनाईहरु हटाइएको पाइयो ।
हटाइएको अंश (भिडियो क्लिप) यस्तो छ- समावेशी समानुपातिक भनेर यो देशमा दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु सबैले पाएका केही अधिकारहरु खोसिएलान कि भन्ने सबैभन्दा बढी चिन्ता मलाई छ भन्ने मेरो विश्वास छ । त्यसकारण यसको रक्षाका निम्ति दायाँ जानपर्छ भनेपनि म हामफाल्छु, बायाँ जान पर्छ भनेपनि हामफाल्छु, यो बुझ्दा हुन्छ । मैले त्यहाँ यसको रक्षाका निम्ति जे गर्न पर्छ म तयार । नेपाली कांग्रेसका नेता साथीहरुले भन्या जस्तो नेकपा (एमाले), सबैसँग मिलेर देखाउनुस् म कुनै चिन्ता मान्ने छैन् ।
मिलेर स्थिरता बनाएर विकास गर्नु भयो भने म खुसी नै हुन्छु । मेरो रोल प्रतिपक्षको हुनेछ । त्यसमा मलाई कुनै टेन्सन छैन । संसद्को भिडियोबाट हटाइएको सोही भनाईलाई जोडेर जनआस्थामा (janaaastha.com)मा एउटा सामग्री प्रकाशित भएको देखिन्छ ।
२०८० चैत १३ अनलाइन संस्करणमा प्रकाशित सामग्रीको सुरुमै भनिएको छ- ‘फागुन ३० गते विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाउनुको कारणबारे प्रष्टीकरण दिँदै भन्नुभयो– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दायाँ जानुपर्छ भने हामफाल्छु, बायाँ जानुपर्छ भने पनि हामफाल्छु, यो बुझ्दा हुन्छ ! संसद्को रेकर्डमा रहने प्रधानमन्त्रीको यो अभिव्यक्तिको सोझो अर्थ के होला ?’ प्रधानमन्त्री प्रचण्डले ‘राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति नदिएपनि उनले बोलेको अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डमा भेटिँदैन ।