दाबी: सेती नदी थुनियो, पोखरामा आयो डरलाग्दो बाढी, दश जना बेपत्ता ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, २०२४ जुलाई ६ । tiktok.com/@prasanto37 प्रयोगकर्ता ।
दाबीमा जोडिएका सामग्री: नदीमा बाढी आएको दृश्यसहितको एउटा भिडियो, जसमा नदी किनारको घर भत्किएको देखिन्छ । सोही भिडियोमा सेती नदी थुनिएको, पोखरामा बाढी आएको र दश जना बेपत्ता भएको दाबी गरिको छ ।
के हो वास्तविकता: भिडियोसँगै सेती नदी थुनिएको, पोखरामा बाढी आएको र दश जना बेपत्ता भएको दाबी भ्रामक छ । २०१३ मा भारतको उत्तराखण्ड राज्यमा घटेको बाढीजन्य घटनाको भिडियोलाई नेपालको सेती नदी र पोखरासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: पोखराको सेती नदीमा बाढी
वर्षाका कारण कास्की जिल्लास्थित पोखराको सेती नदीमा पानीको बहाव बढेको छ । २०८१ असार २२ गते गोरखापत्र अनलाइन (gorkhapatraonline.com) मा प्रकाशित समाचार अनुसार सेती नदीमा बाढी आएपछि पोखरा महानगरका पाँच घर विस्थापित भएका छन् । सेती नदीमा पानीको बहाव बढेको समाचार इकन्तिपुर डटकम (ekantipur.com) पनि प्रकाशित भएको छ ।

त्यस्तै सेती नदीको बहाव बढेपछि पोखरा महानगरपालिका वडा नम्बर १४ का ५ परिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारीसहितको सामाचार पोखराबाट प्रकाशित हुने समाधान न्युज (samadhannews.com) ले प्रकाशित गरेको छ । तर, उल्लेखित कुनैपनि समाचारमा मानिसहरु बेपत्ता भएको जानकारी छैन ।
पोखरास्थित सेती नदीको बहाव बढेकै सन्दर्भमा ‘सेती नदी थुनिएको, पोखरामा बाढी आएको र दश जना बेपत्ता भएको’ दाबीसँगै सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ ।
तथ्यजाँच: उत्तरकाशीको पुरानो भिडियोलाई नेपालसँग जोडियो
२०१३ जुन १७ मा द गार्डियन (theguardian.com) ले पोस्ट गरेको भिडियो भेटियो । यो भिडियो र सेती नदी भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा समानता देखिन्छ ।

२०१३ जुनमा भारतस्थित उत्तराखण्ड राज्यमा ३६ घण्टासम्म अविरल वर्षा भएको थियो । त्यसपछि गंगा नदीमा आएको बाढीले उत्तरकाशी शहरको एउटा घरलाई बगाएको जानकारी द गार्डियनले दिएको छ । सोही भिडियो द इन्डिया टुरिजम (TheIndiaTourism) नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ ।
२०१३ जुन २४ मा पोस्ट गरिएको भिडियोममा उत्तरकाशीको एउटा घर गंगा नदीको बाढीले बगाएको दृश्यसमेत जोडिएको छ । यही दृश्यलाई नेपालको पोखरा र सेती नदीसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिइको छ ।
https://www.youtube.com/watch?v=ptpsA_8bQv0
अर्कोतर्फ पोखरा टिभी एचडी (Pokhara TV HD) नामक युट्युब च्यानलमा पोखराको सेती नदीमा बाढी आएको भिडियो पोस्ट गरिएको छ । २०२४ जुलाई ६ मा पोस्ट गरिएको उक्त भिडियोमा सेती नदीमा आएको बाढीको वास्तविक दृश्य देख्न सकिन्छ ।