दाबी: डोल्पामा ३० मिनेट पानी पर्दा यत्रो क्षति, धन्न मानवीय क्षति हुन पाएन ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, २०२४ जुलाई ७ । tiktok.com/@kishorkc31 प्रयोगकर्ता ।
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा लेदोसहितको बाढी आएको देखिन्छ । माथिबाट तलतिर झरिरहेको बाढीले केही घरहरुलाई पूर्णरुपमा क्षति गरेको छ । सोही दृश्यसँगै डोल्पामा ३० मिनेट पानी पर्दा बाढी आएको जानकारी दिइएको छ ।
के हो वास्तविकता: वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको भिडियो अहिलेको होइन । २०७९ असारमा आएको बाढीको भिडियोलाई वर्तमान समयमा सन्दर्भ नखुलाई पोस्ट गरिएको छ ।
नतिजा: पुरानो

सन्दर्भ जाँच: डोल्पामा सधैँ बाढीको जोखिम
मनसुनी वर्षाका कारण नेपालमा बाढी, पहिरो, डुबानजन्य विपत्ति देखा परेको छ । यही सन्दर्भमा डोल्पाका नदीहरुमा पानीको वहाब बढिरहेको छ । डोल्पाको सदरमुकाम दुनै बजार नै बाढीको उच्च जोखिममा रहेको समाचार लामो समयदेखि नेपालका संचार माध्यममा प्रकाशित हुने हुँदै आएका छन् । यही सन्दर्भमा डोल्पामा क्षति पुगेको दाबीसहित बाढीको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: देशभर बाढी, पुरानो भिडियो पोस्ट
२०७९ असार २८ गते थाहा खबर (thahakhabar.com) मा डोल्पाको सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढी आएको जानकारीसहित एउटा समाचार पोस्ट गरिएको थियो । यो समाचारमा राखिएका तस्बिर र वर्तमान समयमा पोस्ट गरिएको भिडियोका दृश्यहरु उस्तै देखिएका छन् । सोही मितिमा उस्तै तस्बिर र समाचार नेपाल लाइभ (nepallive.com) ले पनि पोस्ट गरेको देखिन्छ ।

भिडियो जाँचका क्रममा Achut Puri नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो भेटियो । ५ जुलाई २०२२ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘हिमाली जिल्ला डोल्पामा आयो दुर्लभ बाढी’ ।

त्यस्तै Dolpa Vlog नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा पनि उस्तै दृश्य देख्न सकिन्छ । ६ जुलाई २०२२ मा पोस्ट गरिएको भिडियोमा ३० मिनेट पानी पर्दा डोल्पा सदरमुकाम दुनैमा बाढी आएको जानकारी दिइएको छ ।