दाबी: गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले सरकार ढाल्न खोजेपछि बालेन पुगे प्रचण्ड भेट्न बालुवाटार भने- ‘अगाडि बढ्नुस् प्रधानमन्त्रीज्यू मेरो साथ छ, ३२ सिटमै यति हिम्मत र साहस गर्ने प्रधानमन्त्रीलाई मेरो सलाम छ, बहुमत आयो भने त भ्रष्टको भागाभाग नै हुने रैछ ।’
दाबीमा जोडिएका सामग्री: एउटा तस्बिर, जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच कुराकानी भइरहेको दृश्य जोडिएको छ । उक्त तस्बिरमा सरकार ढल्न लागेका बेला बालेन प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेको र ‘अगाडि बढ्नुस् मेरो साथ छ’ भनेको दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, २०२४ जुलाई ७ । tiktok.com/@prithvichanthakuri प्रयोगकर्ता ।
के हो वास्तविकता: दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर सत्ता समीकरण फेरबदल भएको सन्दर्भमा खिचिएको होइन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर बालेन शाहबीच भेटवार्ता भएको पुरानो (२०७९ माघमा खिचिएको) तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: सत्ता समीकरण फेरबदल
२०८१ असार १७ गते राति नेपालका दुईवटा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरणको सहमति भएको थियो । संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकार निर्माण र आलोपालो सरकार संचालनको सहमतिसहित उक्त समझदारी बनेको हो ।
सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने तयारी गरेको समाचार संचार माध्यममा प्रकाशित भएका छन् । सत्ता गठबन्धन परिवर्तनको यही सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगेको र ‘अगाडि बढ्नुस् मेरो साथ छ’ भनेको दाबी गरिएको छ ।
तथ्यजाँच: पुरानो तस्बिरमा भ्रामक दाबी
२०७९ माघ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भइरहेको तस्बिरसहितको समाचार सेतोपाटी डटकम (setopati.com) लगायतका संचार माध्यमले प्रकाशित गरेका थिए । २०७९ माघ १६ गते कान्तिपुर टिभी डटकम (kantipurtv.com) मा प्रकाशित समाचार अनुसार मेयर शाहको कार्यशैलीलाई लिएर काठमाडौँ नगरबासी संगठित रुपमै प्रदर्शनमा उत्रिन थालेको सन्दर्भमा प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको थियो ।

सोही तस्बिरलाई सत्ता समीकरण फेरबदल भएको वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ । साथै बालेन प्रधानमन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेको र ‘अगाडि बढ्नुस् मेरो साथ छ’ भनेको दाबी गरिएको छ ।