दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा पहिरोले घरहरुसहित आवासीय क्षेत्रलाई तहसनहस पारेको दृश्य देख्न सकिन्छ । भिडियोसँगै काठमाडौँको सुकुम्बासी बस्तीमा बाढी पसेको जानकारी दिइएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, २०२४ जुलाई ७ । tiktok.com/@accountsir प्रयोगकर्ता ।
के हो वास्तविकता: काठमाडौँको सुकुम्बासी बस्तीमा बाढी पसेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो नेपालसँग सम्बन्धित छैन । २०२१ जुलाईमा जापानमा आएको पहिरोजन्य विपत्तीको भिडियोलाई सामाजिक संजालमा पोस्ट गर्दै काठमाडौँको सुकुम्बासी बस्तीसँग जोडिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: काठमाडौँका सुकुम्बासी बस्तीमा बाढीको कहर
मनसुनी वर्षाका कारण पछिल्लो समय काठमाडौँका नदीहरुमा पानीको बहाव बढेको छ । यही क्रममा केही दिनअघि काठमाडौँका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती र अन्य आवासीय इलाकामा पानी पसेको थियो ।
काठमाडौँका सुकुम्बासी बस्तीमा बाढी परेको भिडियो रिपोर्ट कान्तिपुर टिभी एचडी (Kantipur TV HD) समेतले आफ्नो युट्युब च्यानलमा पोस्ट गरेको छ । २०२४ जुलाई ७ मा पोस्ट गरिएको भिडियो रिपोर्टको शिर्षक छ- ‘सुकुम्बासी बस्तीमा बाढी : घरभित्रै ५ फिट भलमा ३ फिट लेदो’ ।
काठमाडौँको सुकुम्बासी बस्तीमा बाढी पसेको भिडियो अर्थ न्युज एचड (Earth News HD) युट्युब च्यानलमा पोस्ट गरिएको छ । २०२४ जुलाई ६ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘काठमाडौंमा निरन्तर वर्षा : थापाथलीको सुकुम्बासी बस्तीमा बाढी पस्यो’ ।
https://www.youtube.com/watch?v=bEtj6t-4Pqc&t=305s
काठमाडौँको विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरुमा पानी पसेकै सन्दर्भमा दाबीसहितको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । के उक्त भिडियो काठमाडौँसँग सम्बन्धित छ त?
तथ्यजाँच: जापानको पुरानो भिडियोलाई काठमाडौँसँग जोडियो
तथ्यजाँचका क्रममा द सन (The Sun)मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । २०२१ जुलाई ३ मा पोस्ट गरिएको भिडियोसँगै जापानमा डरलाग्दो पहिरो गएको र कम्तिमा २० जना बेपत्ता रहेको जानकारी दिइएको छ । तीन वर्षअघि पोस्ट गरिएको यो भिडियो र काठमाडौँको सुकुम्बासी बस्ती भन्दै पोस्ट गरिएको भिडियोमा समानता देखिन्छ ।

जापानको सोही पहिरोसँग सम्बन्धित भिडियो रिपोर्ट सीबीएस इभिनिङ न्युज (CBS Evening News)ले पनि पोस्ट गरेको छ । २०२१ जुलाई ३ मा पोस्ट गरिएको भिडियो रिपोर्टको शिर्षक छ- ‘2 dead after major mudslide in Atami, Japan’ ।
यही पहिरोको समाचार अल जजीरा (aljazeera.com), वाल स्ट्रीट जर्नल (wsj.com) र डेली मिरर (mirror.co.uk) लगायतका संचार माध्यमले प्रकाशित गरेको देखिन्छ । २०२१ जुलाई ३ मा प्रकाशित समाचार अनुसार जापानको मुख्य शहर अटामी, शिजुओकामा अत्याधिक वर्षाका कारण आवासीय क्षेत्रमा पहिरो खसेको थियो । सोही पहिरोमा कम्तिमा दुई जनाको मृत्यु भएको थियो भने धेरै जना बेपत्ता थिए ।

जापानको अटामी शहर राजधानी टोकियोबाट करिब १०० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ । सोही शहरको पुरानो घटनाको भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तोसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।