दाबी: यौन धन्दामा संलग्न रहेको प्रमाण पुष्टि भएपछि अन्तत: संजिता धमला पक्राउ । यौन धन्दामा संलग्न रहेको जानकारी आएपछि धरान प्रहरीले दुई युवती नियन्त्रणमा लिएको छ ।
दाबीमा जोडिएका सामग्री: एउटा तस्बिर, जसमा प्रहरी र अन्य केही मानिसहरु देख्न सकिन्छ । सोही तस्बिरमा दुई महिलाको अनुहारमा संकेत चिन्ह दिइएको छ । साथै ‘यौन धन्दामा संलग्न रहेको प्रमाण पुष्टि भएपछि संजिता धमला पक्राउ परेको’ भन्ने वाक्यांश लेखिएको छ ।
दाबी भेटिएको माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १० । tiktok.com/@salam_x1234 प्रयोगकर्ता ।
के हो वास्तविकता: ‘यौन धन्दामा संलग्न रहेको प्रमाण पुष्टि भएपछि संजिता धमला पक्राउ परेको’ दाबी भ्रामक छ । धरान उपमहानगरपालिकामा खिचिएको फरक सन्दर्भको तस्बिरलाई दाबीसहितको वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा विवाद
२०८१ असार २१ गते धरान उपमहानगरपालिकाको कार्यालयमा मेयर हर्क साम्पाङ र स्थानीय पत्रकार संजिता धमलाबीच विवाद भएको थियो । शिलापत्र डटकम (shilapatra.com)का अनुसार पत्रकार संजिताले नागरिकताको सिफारिसमा अनियमितता हुने गरेको र धरानमा देहव्यापार बढेको लगायतका दाबी गरेकी थिइन् ।
यिनै विषयमा धरान उपमहानगरपालिकाको कार्यालयमा मेयर हर्क साम्पाङ र पत्रकार संजिता धमलाबीच भनाभन भएपछि प्रहरी र नगर प्रहरी बोलाइएको थियो । त्यसपछि पत्रकार धमलालाई मेयरको कार्यकक्षबाट जबरजस्ती बाहिर निकालिएको थियो ।
घटनापछि विभिन्न राजनीतिक दलहरु (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी) का स्थानीय कमिटीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । त्यस्तै स्थानीय पत्रकारहरु र पत्रकार संगठनका शाखाहरुले धरानका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै विरोध जनाएका छन् ।

यही क्रममा पत्रकार संजिता धमलासहितको तस्बिर जोडेर ‘यौन धन्दामा संलग्न रहेको प्रमाण पुष्टि भएपछि संजिता धमला पक्राउ परेको’ दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: पत्रकार संजिता धमलालाई जोडेर भ्रामक दाबी
सबैभन्दा पहिले धरान उपमहानगरका मेयर हर्क साम्पाङ र पत्रकार संजिता धमलाबीच विवाद भइरहेको दृश्य जोडिएको भिडियो खोज्यौँ । घटनाको भिडियो क्लिक धरान (Click Dharan) युट्युब च्यानलमा फेला पर्यो । २०२४ जुलाई ५ मा लाइभ स्ट्रीमिङ्ग गरिएको भिडियोको शिर्षक छ- ‘सन्जिता धमला मेयर साम्पाङको कार्यकक्षमा आउदा चर्काचर्की । प्रहरी बोलाएर बाहिर निकाले ।’
२०८१ असार २१ गते मेयर हर्क साम्पाङको कार्यकक्षमा भएको भइरहेको विवादका केही दृश्यहरु दाबीसहित पोस्ट गरिएको तस्बिरसँग मिल्दाजुल्दा देखिन्छन् । मेयर साम्पाङ र पत्रकार धमलाबीच विवाद भइरहेका बेला त्यहाँ नेपाल प्रहरी र नगर प्रहरी बोलाइएको थियो । त्यही क्रममा खिचिएको एउटा दृश्यलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।

थप जाँचका लागि हामीले सुनसरी जिल्लाका डीएसपी नविन कृष्ण भण्डारीलाई फोनमार्फत् सम्पर्क गर्यौँ । उनले संजिता धमलालाई पक्राउ गरिएको भन्ने दाबी भ्रामक रहेको बताए । उनले भने- ‘पत्रकार संजिता धमला पक्राउ गरिएको भन्ने कुरा गलत हो ।’