दाबी: बुद्ध एयरको ढोका खुला भनेर समाचार आएछ ।
दाबीमा जोडिएका सामग्री: बुद्ध एयरको जहाज देखिने एउटा तस्बिर, जसमा एउटा अडियो जोडिएको छ । उक्त अडियोमा सुरुवातमै भनिएको छ- ‘पत्याउनु हुन्छ? आज पनि बुद्ध एयरले ढोका खुल्लै राखेर उड्न खोजेछ…।’
दाबी भेटिएको माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १४ । tiktok.com/@madhabkatwal1 प्रयोगकर्ता ।
के हो वास्तविकता: बुद्ध एयरको जहाजले ढोका खुल्लै राखेर उड्न खोजेको भन्दै पोस्ट गरिएको दाबी भ्रामक छ । २०८० पुसमा पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा रहेका यात्रुले आकस्मिक ढोका खोलेपछि उडान प्रभावित बनेको र सोही घटनाको समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: के हो पोखराको घटना ?
२०८० पुस ५ गते पोखरा विमानस्थलबाट काठमाडौँ उड्ने तयारी गरिरहेको बुद्ध एयरको जहाज (उडान नं. ६५२) को आकस्मिक ढोका यात्रुले खोलिदिएका थिए । नागरिक न्युज (nagariknews.nagariknetwork.com)मा प्रकाशित समाचार अनुसार ट्याक्सी वेबाट धावनमार्गतर्फ जानुअघि जहाजको आकस्मिक ढोका यात्रुले नै खोलेपछि उडान प्रभावित भएको थियो ।
यही घटनाको समाचार २०८० पुष ५ गते अनलाइन खबर (onlinekhabar.com) मा पनि प्रकाशित भएको देखिन्छ । उक्त घटनापछि यात्रुले गरेका प्रश्नको प्रष्टिकरण दिँदै बुद्ध एयरले सामाजिक संजालमाले यस्तो लेखेको छ-
सर, उडान नं. ६५२ का जहाजको इर्मजेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् । इर्मजेन्जी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन् । हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ । धन्यवाद ।

यही घटनासँग सम्बन्धित जानकारीलाई व्यांग्यात्मक एवं भ्रामक तरिकाले वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
तथ्यजाँच: पुरानो समाचारले नै फैलायो भ्रामक सन्देश
जाँचका क्रममा बुद्ध एयरसँग सम्बन्धित पोखरा घटनाको भिडियो समाचार २०२३ डिसेम्बर २१ मा सिटिजन एचडी (Citizen HD) नामक फेसबुक पेजमा पोस्ट गरिएको देखिन्छ । यो भिडियोमा समाचार वाचिकाले सुरुमै भनेकी छन्-
‘पत्याउनु हुन्छ? आज पनि बुद्ध एयरले ढोका खुल्लै राखेर उड्न खोजेछ, हैन यस्तो संवेदनशील विषयमा पनि कति गैरजिम्मेवारी भएका हुन हवाई क्षेत्रहरु ? यस्तो हाम्रो देशमा मात्रै हुन्छ, कहिले झ्यालै छाडेर उड्ने कहिले ढोका खुल्लै गरेर उड्ने । अब कुनै दिन यस्तो दिन नआओस् प्लेन पखेटै छाडेर उड्यो भनेर । हो आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको विमानको आकस्मिक ढोका यात्रुले खोलिदिएका छन्…।’

यही पुरानो समाचारको अडियो प्रयोग गरेर तयार पारिएको पोस्टलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ । पुरानो समाचारको सुरुवाती लिडलाइन आफैँमा भ्रामक छ । किनकि बुद्ध एयरको जहाजले ढोका खुल्लै राखेर उड्न लागेको थिएन । जहाज धावनमार्गमा जाने तयारी गरिरहेका बेला एक यात्रुले विमानको आकस्मिक ढोका खोलिदिएपछि उडान प्रभावित भएको थियो ।