दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म देशलाई धोका दिन्छु, पार्टीलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु’ भनेको भिडियो ।
दाबीमा जोडिएका सामग्री: प्रधानमन्त्री केपी शर्मा बोलिरहेको भिडियोमा ‘विध्वंसको अर्को नाम खड्ग प्रसाद ओली’ लेखेर पोस्ट गरिएको छ । उक्त भिडियोमा ओलीले ‘म देशलाई धोका दिन्छु, पार्टीलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु ।
पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कमस खाएको छु । यी सबै देशलाई, जनतालाई, पार्टीलाई धोका दिन्छु’ भनेको सुनिन्छ ।
दाबी भेटिएको माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १५ । tiktok.com/@maobadi_fan_club प्रयोगकर्ता ।
के हो वास्तविकता: वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको भिडियोलाई तोडमोढ गरिएको छ । २o७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फ संकेत गर्दै बोलेको भिडियोलाई तोडमोड गरी वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: ओली प्रधानमन्त्री भएको सन्दर्भमा पोस्ट गरियो भिडियो
२०८१ असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौँथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा बोलिरहेको भिडियो पोस्ट गरिएको छ । साथै भिडियोमा ‘विध्वंसको अर्को नाम खड्ग प्रसाद ओली’ लेखिएको छ । तर, यो भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित देखिएन ।
तथ्यजाँच: पुरानो भाषणको भिडियोलाई गरियो तोडमोड
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार १४ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि कटाक्ष गरेका थिए । मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई शेरबहादुर देउवाको कार्यकर्ता र पुष्पकमल दाहाल प्रचण्डको पुच्छर भएको टिप्पणी गरेको समाचार सेतोपाटी (setopati.com) ले प्रकाशित गरेको भेटियो ।

२०७८ असार १४ गते प्रकाशित समाचारमा ओलीको भाषणलाई उदृत गर्दै लेखिएको छ- ‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे। माधव नेपालले आफैं भन्दै हिँडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ। म शेरबहादुर देउवाप्रति यति सर्मपित छु। म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु।
पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। उनी शेरबहादुर देउवाको पार्टी नै प्रवेश गर्न पनि सक्छन्। कार्यकर्ता भएर हिँडेका छन्’, उनले भने । यही व्यहोरासहितको समाचार नयाँ पत्रिका (nayapatrikadaily.com) मा पनि प्रकाशित भएको भेटियो ।
साथै Naya Patrika युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोसमेत भेटियो । २०२१ जुन २८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलेले भाषण गरेको भिडियो पोस्ट गरिएको छ ।
https://www.youtube.com/watch?v=hF2kafbLEgs
यो भिडियोमा केपी शर्मा ओलीले ‘म देशलाई धोका दिन्छु, पार्टीलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम खाएको छु ।
यी सबै देशलाई, जनतालाई, पार्टीलाई धोका दिन्छु’ भन्ने अभिब्यक्ति पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फ संकेत गर्दै भनेका हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फ संकेत गर्दै केपी शर्मा ओलीले गरेको सोही पुरानो भाषणलाई तोडमोड गरी वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।