दाबी: ‘अब समय आएजस्तो लाग्छ- ज्ञानेन्द्र शाह ।’
दाबी समीक्षा: एउटा भिडियो, जसमा पूर्वराजा ज्ञानेन्द्र शाह देख्न सकिन्छ । भिडियोमा उनले भनेका छन्- ‘समय आएजस्तो लाग्छ मलाई, जिम्मेवार जिम्मेवारी लिन र नेतृत्व दिनु म तयार छु तर सबै जनताको इच्छा हुनुपर्छ ।’
दाबी माध्यम/मिति/दाबीकर्ता: युट्युब, २०२४ जुलाई ८- Fun Tube Nepal च्यानल । टिकटक, २०२४ जुलाई ८- Nepali Mato प्रयोगकर्ता ।
के हो वास्तविकता: सामाजिक संजालमा फैलाइएको भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित छैन । २०१७ अक्टोबरको भिडियोलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: पुरानो

सन्दर्भ जाँच: सत्ता समीकरण परिवर्तन र सामाजिक संजालमा पूर्वराजाको चर्चा
२०८१ असार १७ गते राति नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरणको सहमति भएको थियो । संसद्का दुई ठूला दलले सत्ता संचालनको सहमति गरेपनि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएका थिएनन् । यही बेला ‘प्रचण्डले रोस्ट्रम उभिएर..राजासँग मिल्न पनि सक्छु’ भन्ने अभिव्यक्ति दिएको भ्रामक दाबी सामाजिक संजालमा पोस्ट गरिएको थियो ।
पढ्नुहोस्- Fact Check: संसद्को रेकर्डबाटै लुकाइएको भिडियो क्लिप सामाजिक संजालमा फैलियो, के प्रचण्डले ‘राजासँग मिल्न सक्छुु’ भनेका थिए?
तर, २०८१ असार २८ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि स्वतः प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । साथै २०८१ असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
सत्ता समीकरण फेरबदल भएको र प्रधानमन्त्रीले राजीनामा नदिएको सेरोफेरोमा पूर्वराजा ज्ञानेन्द्र शाह देखिएको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा ‘अब समय आएजस्तो लाग्छ- ज्ञानेन्द्र शाह’ लेखिएको छ ।
तथ्यजाँच: २०७४ को भिडियो वर्तमान समसयमा पोस्ट गरियो
२०७४ कात्तिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले संचारकर्मीसमक्ष ‘अब समय आएजस्तो लाग्छ मलाई, जिम्मेवार जिम्मेवारी दिन र नेतृत्व दिनु म तयार छु’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भको समाचार पहिलोपोस्ट (pahilopost.com) मा पनि प्रकाशित भएको देखिन्छ ।
२०७४ कात्तिक ४ गते प्रकाशित उक्त समाचारमा लेखिएको छ- ‘संविधान कार्यान्वयनको अन्तिम चरणतिर प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने अघिल्लो दिन भाइटीकापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो विचार राखेका हुन् ।’

त्यस्तै काठमाडौँ पोस्ट (kathmandupost.com) मा पनि त्यही समाचार प्रकाशित भएको छ । २०१७ अक्टोबर २२ मा प्रकाशित समाचारमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको धारणा राखेका थिए । यही सन्दर्भको भिडियो Onlinekhabar युट्युब च्यानलमा पोस्ट गरिएको भेटियो । २०१७ अक्टोबर २१ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘पूर्वराजा ज्ञानेन्द्र शाहले भने- मैले जिम्मेवारी लिने समय आयो’ ।
भिडियोमा पूर्वराजा ज्ञानेद्र शाहले यस्तो भनेको सुनिन्छ- '...नेतृत्व नभए जस्तो देखिएको छ, त्यसैले अब समय आयो जस्तो लाग्छ, जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्किएला । यो सक्रिय र निस्क्रिय हुने कुरा हैन, देशको परिस्थितिले मागेको समय आएको जस्तो लाग्छ । फेरि म दोहोर्याउन चाहन्छु सबैले चाहेर यो हुनुपर्छ ।..'