दाबी: गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयमा पुगी भाउजुको भुटानी शरणार्थी सम्बन्धी फाइल नखोल्न कडा निर्देशन दिएका छन् । भुटानी शरणार्थी र गिरीबन्धुको फाइल पूर्ण बन्द गर्न निर्देशन दिएका छन् ।
दाबी समीक्षा: गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक बसन्त कुँवर देखिने फरक-फरक तस्बिरहरु पोस्ट गरिएको छ । ती तस्बिरहरुसँगै गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी र गिरीबन्धुको फाइल बन्द गर्न निर्देशन दिएको दाबीसहितको वाक्यांश लेखिएको छ ।
दाबी माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १८ (tiktok.com/@tufan7861) । Tufan7861 प्रयोगकर्ता ।
के हो वास्तविकता: प्रहरी प्रधान कार्यालयमा पुगेर गृहमन्त्री रमेश लेखकले नक्कली भुटानी शरणार्थी र गिरीबन्धुको फाइल बन्द गर्न निर्देशन दिएको दाबी भ्रामक छ । नवनियुक्त गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका बेला खिचिएका तस्बिरमा दाबीसहितको वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री
२०८१ साउन २ गते नवनियुक्त गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका थिए । यही सन्दर्भको जानकारी नेपाल प्रहरीको वेबसाइटमा पनि प्रकाशित गरिएको छ । उक्त भ्रमणमा गृहमन्त्रीले दिएको निर्देशनलाई उदृत गर्दै लेखिएको छ-
‘गृहमन्त्री लेखकले भन्नुभयो ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’

यही सन्दर्भमा खिचिएका केही दृश्यहरुमा दाबीसहितको वाक्यांश जोडेर सामाजिक संजालमा सामाजिक संजालमा पोस्ट गरिएको छ ।
तथ्यजाँच: गृहमन्त्रीले के निर्देशन दिए?
समाचार गोरखापत्र अनलाइन (gorkhapatraonline.com), नेपाल प्रेस (nepalpress.com) लगायतका संचार माध्यममा प्रकाशित भएका छन् । २०८१ साउन २ गते दुबै संचार माध्यममा प्रकाशित समाचार अनुसार गृहमन्त्रीले निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा सम्झौता नगर्न र विधिको शासनलाई लागू गर्न निर्देशन दिएका थिए ।

यही सन्दर्भको भिडियो Janjyoti Media नामक युट्युब च्यानलमा पोस्ट गरिएको छ । २०२४ जुलाई १८ मा पोस्ट गरिएको भिडियोका केही दृश्यलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
तर, यो भिडियोमा गृहमन्त्री रमेश लेखकले नक्कली भुटानी शरणार्थी र गिरीबन्धुको फाइल बन्द गर्न निर्देशन दिएका छैनन् ।
हेर्नुहोस् पूरा भिडियो- https://www.youtube.com/watch?v=s26MPPnG7AI