दाबी: ‘हवाइजहाज धकेलेर चलाउने देशको मान्छे हुँ म..स्टार्ट बन्द भएर ठेलेको रे..यो भिडियो लिक भएपछि तारा एयर खसेर सबै मान्छे मरेको थियो...।’
दाबी समीक्षा: तारा एयरको जहाजलाई मानिसहरुले धक्का दिइरहेको भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा लेखिएको छ- ‘हवाइजहाज धकेलेर चलाउने देशको मान्छे हुँ म, दुनियामा कतै छैन होला हौ यस्तो । स्टार्ट बन्द भएर ठेलेको रे, नेपाल हो नि । यो अहिलेको भिडियो होइन तर यो भिडियो लिक भएपछि तारा एयर खसेर सबै मान्छे मरेको थियो । यसको जिम्मेवार तारा कि सरकार ?’
दाबी माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १७ (tiktok.com/@balensupporter101) । Balensupporter101 प्रयोगकर्ता ।
के हो वास्तविकता: तारा एयरको जहाज धकेलेर उडाउन खोजिएको भन्ने दाबी भ्रामक छ । २०२१ डिसेम्बरमा बाजुराको कोल्टी विमानस्थलमा टायर पड्किएर धावनमार्गमा अलपत्र परेको हवाइजहाजलाई कर्मचारी र यात्रुले धकेलेर पन्छ्याएका थिए ।
नतिजा: भ्रामक

तथ्यजाँच: धावनमार्गबाट हटाउन जहाजलाई धक्का लगाइएको थियो
भिडियोमा देखिएको तारा एयरको ९ एन एभीइको जहाज हो । यो दृश्य बाजुराको कोल्टी विमानस्थलसँग सम्बन्धि छ । मानिसहरुले जहाजलाई धकेलिरहेको भिडियो सहितको समाचार २०२१ डिसेम्बर २ मा टाइम्स अफ इन्डिया (timesofindia.indiatimes.com) ले पोस्ट गरेको देखिन्छ ।
अवतरण गर्ने क्रममा जहाजको पछाडिको टायर फुटेपछि जहाज धावनमार्गबाट बाहिर निस्कन नसकेको र धावनमार्ग खाली गर्न मानिसहरूले जहाज धकेल्नुपरेको जानकारी भिडियोमा दिइएको छ । यही समाचार रेडियो नेपालको वेबसाइट (onlineradionepal.gov.np) मा पनि प्रकाशित भएको छ ।
२०७८ मंसिर १६ गते प्रकाशित समाचारमा लेखिएको छ- ‘कोल्टी विमानस्थलमा यात्रु लिन गएको जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर कोल्टी विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले ।
विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकापसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भन्नुभयो- विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ । त्यो जहाज थियो तारा एयरलाइन्सको । सो जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्काे जहाज अवतरण गर्न सकेको थिएन ।
जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भएको थियो ।’ तारा एयरको जहाजलाई मानिसहरुले धक्का लगाएको भिडियो साहितको सामग्री डेली मेल (dailymail.co.uk) ले पनि प्रकाशित गरेको छ ।
