दाबी: ‘प्रधानमन्त्री भएपछि गर्जिए ओली- ‘पुसबाट उता नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदैन’ । सबैलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली ।’
दाबी समीक्षा: केपी शर्मा ओलीले भाषण गरिरहेको भिडियोमा दाबीसहितको वाक्यांश लेखिएको छ । उक्त भिडियोमा ओलीले भनेका छन्- ‘पुसबाट उता नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदैन यो देशमा, सबैले थाहा पाए हुन्छ । अलि सुनिएन भने माइकको छेउमा मुख लगेर भन्छु, पुसदेखि अब उप्रान्त यस देशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार हुँदैन ।’
दाबी माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १९ । Kapil_khadka_1 नामक प्रयोगकर्ता ।
के हो वास्तविकता: प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले ‘पुसबाट नेपाली कांग्रेसको सरकार नबन्ने’ दाबी गरेका छैनन् । २०१७ नोभेम्बरमा पोस्ट गरिएको भिडियोको अंशलाई केपी शर्मा ओली प्रधानमन्त्री भएको सन्दर्भमा फैलाइएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: ओली प्रधानमन्त्री भएपछि फैलाइयो दाबीसहितको भिडियो
२०८१ असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौँथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । यही सन्दर्भमा केपी शर्मा ओलीले भाषण गरिरहेको भिडियोमा दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि अब उप्रान्त नेपाली कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अभिव्यक्ति दिएका हुन् त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच: केपी शर्मा ओलीको पुरानो भिडियोमा भ्रामक दाबी
२०७४ मंसिरमा चुनाव प्रचारप्रसारका लागि केपी शर्मा ओली पोखरा पुगेका थिए । त्यहाँ अमरसिंह मैदानमामा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए ।
२०७४ मंसिर ९ गते थाहा खबर (thahakhabar.com) मा प्रकाशित समाचार अनुसार त्यतिबेला केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार नै अन्तिम सरकार भएको अभिव्यक्ति दिएका थिए ।

यही सन्दर्भको भिडियो inside nepal news नामक युट्युब च्यानलमा पोस्ट गरिएको भेटियो । २०१७ नोभेम्बर २५ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘kp oli speech in pokhara today’

उक्त भाषणको एउटा अंशमा केपी शर्मा ओलीले भनेका छन्-
‘ज्योतिषले बनाउने कुरा घरमै बनाओस्, जनताले अब नेपाली कांग्रेसलाई बनाउनेवाला छैनन् सरकार । यो आचार संहिताको उलङ्घन होइन, यो सत्य राजनीतिक विश्लेषण भनिएको, अब पुसबाट उता नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदैन यो देशमा, सबैले थाहा पाए हुन्छ । अलि सुनिएन भने माइकको छेउमा मुख लगेर भन्छु, पुसदेखि उप्रान्त अब यस देशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार हुँदैन । वामपन्थी सरकार बन्यो-बन्यो ।’
https://www.youtube.com/watch?v=lOOGU8AkWYs