सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो भिडियो सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित छैन ।
दाबी समीक्षा: Pramod Suman नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा विमान दुर्घटनाग्रस्त भएको दृश्य जोडिएको छ । २०२४ जुलाई २४ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ-
‘आज दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ । विमान बिग्रेर पोखरा मर्मतको लागि १९ जना इन्जिनियर कर्मचारी र जिवित उद्दार भएका चालक मनिष शाक्य रहेका थिए ।’

तथ्यजाँच: लुक्ला विमानस्थलको पुरानो भिडियोलाई काठमाडौँको दुर्घटनासँग जोडियो
२०८१ श्रावण ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने विमानका क्याप्टेन घाइते भएका छन् । यही दुर्घटनासँग जोडेर सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ ।
तथ्यजाँचका क्रममा हामीले गुगल लेन्सको रिभर्स इमेज सर्च लगायतका विधी प्रयोग गर्यौँ । यसको नतिजास्वरुप २०७६ वैशाखमा लुक्ला विमानस्थलमा भएको जहाज दुर्घटनाका समाचारहरु फेला परे ।
सोही दुर्घटनाको समाचार अल जजीरा संचार माध्यम (aljazeera.com) ले पनि प्रकाशित गरेको देखिन्छ । २०१९ अप्रिल १४ मा प्रकाशित समाचार अनुसार सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एअरको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको भएको थियो ।

लुक्ला विमानस्थलमा भएको उक्त जहाज दुर्घटनाको समाचार बीबीसी (bbc.com)ले पनि प्रकाशित गरेको देखियो । २०१९ अप्रिल १४ मा बीबीसीले प्रकाशित गरेको समाचारको शिर्षक यस्तो छ- ‘Nepal plane crash: Three die at world's 'most dangerous' airport’ फेला परेका पुराना समाचारहरुसँगै उल्लेख गरिएका तस्बिरहरु र सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ ।
त्यसैले भिडियो जाँचका लागि हामीले ‘Lukla Plane Crash’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Revmandu Sherpa नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो भेटियो ।

२०१९ अप्रिल १४ मा पोस्ट गरिएको भिडियोमा लुक्ला एअरपोर्टमा समिट एयरको जहाज दुर्घटना परेको जानकारी दिइएको छ । यो भिडियो र सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ ।
सोही दुर्घटनाको भिडियो Social Media Nepal नामक युट्यबु चयानलमा समेत पोस्ट गएको देखिन्छ । लुक्ला विमानस्थलमा दुर्घटना भएकै दिन अर्थात् २०१९ अप्रिल १४ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘Video Plane And Helicopter Crashed In Lukla Airport’ ।
https://www.youtube.com/watch?v=wuxk6QeEqiY
तथ्य निष्कर्ष:
सामाजिक संजालमा पोस्ट गरिएको भिडियो सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित छैन । २०१९ अप्रिल १४ मा सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एअरको हेलिकोप्टर ठोक्किएर दुर्घटनाग्रस्त भएको भिडियोलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँग जोड्दै पोस्ट गरिएको देखियो ।
नतिजा: भ्रामक